२०८१ भदौ १ गते १०:५५ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म ४ वटा कम्पनीलाई प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेकै कारण पनि यी कम्पनीहरू निकै चर्चामा थिए । तर, गत आर्थिक वर्षको चौथो त्रैमासिक विवरण हेर्दा यी ४ कम्पनीकाे वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिन्छ ।
नेप्सेमा सूचीकृत शिवम् सिमेन्ट, घोराही सिमेन्ट, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स आयल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेका छन् । वित्तीय विवरणअनुसार घोराही सिमेन्ट र सोनापुर मिनरल्स नोक्सानमा छन् भने सर्वोत्तम र शिवम्काे अघिल्लो आवको सोही अवधिको तुलनामा नाफा घटेकाे छ ।
सरकारले बजेटमार्फत करिब आधा दशकदेखि गरेको प्रयास स्वरूप ४ उत्पादनमूलक कम्पनी पब्लिक कम्पनी बनेका थिए । नेपाली सेयर बजारमा उत्पादनमूलक कम्पनीलाई प्रवेश गराउन भन्दै सरकारले उक्त निर्णय गरेको थियो ।
नोक्सानमा घोराही र सोनापुर मिनरल्स
गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म घोराही सिमेन्ट १ अर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरणले देखाउँछ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
घोराही सिमेन्टको प्रतिसेयर आम्दानी २६.६८ रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०७.९३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता ४३५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।
त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल चौथो त्रैमाससम्ममा ४६ करोड ९२ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो ।
सोनापुरको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६३.२४ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता २२५ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।
शिवम् र सर्वोत्तम सिमेन्टको नाफा घट्यो
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शिवम् सिमेन्टको नाफा अघिल्लो आवको तुलानामा घटेको छ । कम्पनीको नाफा घटेर २५ करोड २ लाख २२ हजार रुपैयाँ छ । शिवम्ले अघिल्लो आवको सोही अवधिमा ५९ करोड ४७ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ रहेको छ भने नेटवर्थ १८९.०२ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर ३०० रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।
त्यस्तै, असार मसान्तसम्म सर्वोत्तम सिमेन्टले १७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ३.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ रहेको छ । कम्पनीले प्रिमियम जोडेर प्रतिकित्ता ३६१.९१ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.