नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण, प्रवेश परीक्षामा उत्साहजनक सहभागीता

  २०८१ भदौ २ गते १२:२०     विकासन्युज

काठमाडौं । नेपालमै सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हेतूले स्थापित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागीता रहेको छ ।

शनिबार चाँगुनारायण–४ भक्तपुरमा दिइएको पहिलो प्रवेश परीक्षामै कक्षा १२ पास गरेका विद्यार्थीहरूले उत्साहजनक सहभागीता जनाएको कलेजले जनाएको छ ।

स्नातक तहमा इन्जिनियरिङ विधाका ६ वटा विषयमा लिइएको प्रवेश परीक्षामा देशभरबाट विद्यार्थीहरूले सहभागीता जनाएको कलेजका प्राचार्य सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

४८० कूल सिटको प्रवेश परीक्षामा झण्डै आधा सिटमा विद्यार्थीहरूले परीक्षा दिएका छन् । ‘स्नातक तहका सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा आर्किटेक्ट विषयको प्रवेश परीक्षामा विद्यार्थीहरूको उत्साहजनक रूपमा सहभागीता रह्यो,’ प्राचार्य भण्डारीले भने ।

प्रवेश परीक्षा निरिक्षणका लागि आएका पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद कोइरालाले विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरेर नयाँ बनाइएकोले पनि विद्यार्थीहरुको आकर्षण बढेको बताए ।

कोभिड–१९ पछि विश्वविद्यालयले विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिष्पर्धा गराउन पुरानो मोडल हटाएर नयाँ मोडलको पाठ्यक्रम तयार पारिएको जिकीर गरे । ‘पोखरा विश्वविद्यालयबाट सञ्चालित धेरै विषयहरूको पाठ्यक्रम चेन्ज गरेका छौं, नेपाली विद्यार्थीहरू विदेश नजाउन् स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा दिनुपर्छ भनेर विश्वविद्यालय सचेत छ,’ प्राध्यापक कोइरालाले भने ।

प्रवेश परीक्षाको निरिक्षणमा आएका नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ कलेजले प्रमाणित गरेको बताए ।

पछिल्लो समय कक्षा १२ पास गर्नेबित्तिकै विद्यार्थीहरू विदेश गइहाल्ने गलत ट्रेन्डको विकास हुँदा देशमा युवा जनशक्ति अभाव हुनसक्ने चिन्ता समेत व्यक्त गर्दै कम्तीमा ब्याचलर तहको अध्ययन नेपालमा गर्नुपर्ने जिकीर गरे ।

‘नेपालको इन्जिनियरिङ शिक्षा अर्न्तराष्ट्रियस्तरको छ, हतारमा कुनै ज्ञान र सीप विना विदेश जाँदा धेरै समस्या आइपर्छ, देखासिकी र लहडमा नजाउँ,’ अध्यक्ष खत्रीले भने ।

प्रवेश परीक्षामा सहभागिता जनाएका संखुवासभाका विद्यार्थी रञ्जन अर्यालले एआई, मसिन लर्निङ जस्ता नयाँ विषयहरू पोखरा विश्वविद्यालयको पाठ्यक्रममा रहेकाले नेपाल इन्जिनियरिङ कलेज छनोट गरेको बताए ।

‘यहाँ फुलटाइम फ्याकल्टी हुँदो रहेछ, ल्याब, पुस्तकालय पनि अन्य कलेजको दाँजोमा राम्रो रहेछ, त्योसँगै आईटीका नयाँ टेक्नोलोजी एआई, मसिन लर्निङ जस्ता विषयहरू पनि रहेछ,’ कलेजले दिने छात्रवृत्ति पनि आफूलाई मन परेको भन्दै विद्यार्थी अर्यालले भने ।

सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा विद्यार्थीको घुइँचो लाग्नुमा कलेजले हरेक वर्ष दिने आकर्षक छात्रवृत्ति पनि एक हो । प्रत्येक वर्ष कलेजले स्थानीय पालिका, वडा तहदेखि प्रादेशिक, सेमेस्टर टपर, कलेज टपर लगायत विभिन्न शीर्षकमा १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिँदै आएको छ ।

गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । काउन्सिलले हरेक वर्ष देशभर सञ्चालित कलेजहरुको शैक्षिक, भौतिक, प्राविधिक मुल्यांकन गरी स्थायी र अस्थायी अनुमति दिने गरेको छ । कलेजले अर्को प्रवेश परीक्षा केही समयमै सञ्चालन गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.