२४ अर्ब डलरमा विश्वको ठूलो सौर्य केन्द्र बन्ने, समुद्रमुनिबाट सिङ्गापुर पठाइने

  २०८१ भदौ ६ गते ६:४७     विकासन्युज

काठमाडौं । अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ ।

अधिकारीहरूले अस्ट्रेलियाको दुर्गम उत्तरमा सनकेबलको २४ अर्ब अमेरिकी डलरको परियोजनाका लागि वातावरणीय स्वीकृति घोषणा गरेका छन् । यसबाट ३० लाख घरमा बिजुली पुग्नेछ ।

‘यो विश्वको सबैभन्दा ठूलो सौर्य क्षेत्र हुनेछ र यसले अस्ट्रेलियालाई हरित ऊर्जामा विश्वको नेताका रूपमा स्थापित गर्नेछ, वातावरणमन्त्री तान्या प्लिबर्सेकले भने ।

सन् २०३० मा ऊर्जा उत्पादन सुरु हुने अपेक्षा गरिएको यस परियोजनाबाट घरेलु प्रयोगका लागि चार गिगावाट ऊर्जा उपलब्ध हुनेछ ।

सिङ्गापुरमा समुद्रमुनि केबल मार्फत पठाइनेछ । यसबाट करिब १५ प्रतिशत आवश्यकता आपूर्ति हुनेछ ।

सनकेबल अस्ट्रेलियाका प्रबन्ध निर्देशक क्यामरून गार्नस्वर्थीले यो स्वीकृति ‘परियोजनाको यात्रामा ऐतिहासिक क्षण’ भएको बताए ।

अस्ट्रेलियाली नेशनल युनिभर्सिटीका ऊर्जा परिवर्तन संस्थानका निर्देशक केन बाल्डविनले सौर्य र वायुबाट यति ठूलो मात्रामा नवीकरणीय विद्युत् निर्यात गर्ने यो ‘विश्वको पहिलो’ परियोजना भएको बताए ।

जलवायु परिषद्का प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले नयाँ सौय केन्द्र अस्ट्रेलियालाई ‘स्वच्छ ऊर्जा पावरहाउस’ बनाउने दिशामा साहसिक कदम भएको र यस्ता परियोजनाहरू ‘सस्तो ऊर्जा प्रदान गर्न र जलवायु प्रदूषण घटाउन’ आवश्यक रहेको बताए ।