बैंकले हायर पर्चेज कर्जा घटाए, अब ‘ईभी लोन’मा केन्द्रित

  २०८१ भदौ १२ गते १२:०४     विकासन्युज

काठमाडौं । अटो व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कुल १ खर्ब ६ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार गत असारसम्म व्यवसायीले कुल १ खर्ब ६ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बराबरको हायर पर्चेज कर्जा लिएका हुन् ।

जुन वितगका वर्षहरूको तुलनामा धेरै कम हो । पाँच वर्ष अगाडि अर्थात् २०७७ असारमा अटो व्यवसायीले कुल १ खर्ब ४४ अर्ब ९९ करोड १० लाख रुपैयाँबराबरको हायर पर्चेज कर्जा लिएका थिए । विगत पाँच वर्षको तुलनामा हायर पर्चेज कर्जा २६.२९ प्रतिशतले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असारसम्ममा कुल १ खर्ब ३२ अर्ब ३९ करोड ९० लाख, २०७९ असारसम्ममा १ खर्ब ३१ अर्ब ३४ करोड र २०७८ असार सम्ममा १ खर्ब ३४ अर्ब ९० करोड २० लाख रुपैयाँ हायर पर्चेजमा कर्जा लगानी भएको छ ।

तथ्यांकले पछिल्लो समय हायर पर्चेज कर्जा लगानी घटेको देखिन्छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसपछि हायर पर्चेज कर्जा घट्दै गएको देखिन्छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताको असर अटो क्षेत्रमा पनि परेको छ ।

अटो व्यवसायीहरू अहिले ठूलो समस्यामा रहेको बताउँदै आएका छन् । यो क्षेत्रको पुनरुत्थानका लागि सरकारले नीतिगत व्यवस्था नै गर्नुपर्ने धारणा उनीहरूको छ ।

अटो व्यवसायीको महाकुम्भका रूपमा परिचित नाडा अटो शो पनि मंगलबारदेखि सुरु भएको छ । जहाँ विद्युतीय गाडीलाई बढी प्राथमिकता दिएको छ ।

नाडा अटो शोको उद्घाटन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले सरारसँग नीगित स्थिरताको माग गरेका थिए । उनले अटो क्षेत्रको पुनरुत्थानका लागि सरकारले सहयोग नगरेको गुनासो पनि गरेका थिए ।

‘हामी निकै पारदर्शी छौं, यो क्षेत्रमा एक खर्ब बढी लगानी छ, ठूलो मात्रामा राजस्व तिर्छौं, लाखौंलाई रोजगारी दिएका छौं । तर, सरकारले हामीलाई सहयोग गरेन,’ उनले गुनासो गर्दै भनेका थिए ।

अध्यक्ष चौधरीले सन्दर्भ मूल्यसूची खारेज गर्नुपर्ने, अवैध व्यापार रोक्नका लागि बोर्डरमा कडाइ गर्नुपर्ने र अटो क्षेत्रमा नीगित स्थिरता कायम गर्नुपर्ने माग राखेका थिए । पछिल्लो समय अटो क्षेत्र ठूलो समस्याबाट गुज्रिरहेको धारणा उनको थियो ।

अध्यक्ष चौधरीले भनेजस्तै अटो क्षेत्रले उपभोग गर्ने कर्जाको परिमाण पनि घट्दा यो क्षेत्र समस्यामा रहेको बुझ्न सकिन्छ । 

ब्याजदर घट्ने दिशामा

यो पाँच वर्षको अवधिमा हायर पर्चेज कर्जाको ब्याजदरमा ठूलो परिवर्तन भने देखिँदैन । तर, पछिल्लो केही महिनायता निक्षेपको ब्याजदर घट्दा कर्जाको ब्याज पनि घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार २०७७ साल असारमा हायर पर्चेज कर्जाको ब्याजदर औसत ११.५८ प्रतिशत थियो । अहिले २०८१ असारमा हायर पर्चेज कर्जाको ब्याजदर औसत १०.५२ प्रतिशत देखिएको छ ।

यस्तै, २०८० को असारमा १२.८७ प्रतिशत, २०२९ को असारमा ११.८९ प्रतिशत र २०७९ को असारमा औसत ९.७० प्रतिशत ब्याजदर देखिएको छ । हायर पर्चेज कर्जाको ब्याजदरमा ठूलो परिवर्तन भने देखिँदैन ।

असारयता भने हायर पर्चेज कर्जाको ब्याजदर घटेको बैंकरहरू बताउँछन् । पछिल्लो समय अटो व्यवसायीहरू विद्युतीय गाडीमा केन्द्रित हुँदा बैंक तथा वित्तीय संस्थाले पनि विद्युतीय गाडीको कर्जामा बढी लगानी गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले आधारदरमा २ प्रतिशतसम्म प्रिमियम लिएर विद्युतीय गाडी कर्जा दिइरहेका छन् । जसले पनि अटो व्यवसायीलाई राहत मिलिरहेको छ ।

कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले सवारीसाधन, मेशिनरी औजार, उपकरण खरीद गर्न गर्नका लागि हायर पर्चेज कर्जा पाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.