२०८१ भदौ १३ गते १७:०९ राधिका आचार्य
काठमाडौं । चिटक्क सजिएको ६ लेनको बाटो । बाटोको दाँयाबाँया बेगनबेली फूलका बोट । सिंगारपटार गरिएकाे आकर्षक सडक । झट्ट हेर्दा गर्दा जो कोहीलाई कुनै विदेशी स्थानको झल्को दिलाउन सक्छ । तर, यो स्थान हाे रुपन्देहीको तिलोत्तमा नगरपालिका ।
विदेशमै भएको अनुभव दिलाउने अन्य थुप्रै त्यस्ता वस्तुहरू छन् यस नगरपालिकामा । हर्न नबजाइन ६ लेनको सडकमा सान्तसँग गुडिरहेका सवारीसाधन, साइकलयात्रीलाई छुट्टै लेन यस्तै, यस्तै ।
रुपन्देहीको मध्य भागमा २४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ तिलोत्तमा नगरपालिका । २०७१ सालमा स्थापित यो नगरको जनसंख्या १ लाख ४९ हजार छ । त्यस्तै, देशकै बढी २.२६ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर छ ।
आधारभूत स्वास्थ्य, शिक्षा, वातावरण सुधार, चेतना प्रवाह लगायतका काम नगरपालिकाले नियमित गर्दै आएको छ । यसकै कारण उत्कृष्ट र नमुना पालिकाको रूपमा स्थापित भएको छ तिलोत्तमा ।
देशभरिका २७६ नगरपालिकामध्ये तिलोत्तमाले आर्थिक वर्ष २०७६/७७ मा सहरी सेवा तथा सुशासनको क्षेत्रमा उल्लेख्य सेवा प्रवाह गरेको भन्दै नेपाल नगरपालिका संघले उत्कृष्ट नगरपालिकाका रूपमा सम्मानसमेत गरेको थियो ।
नगरले ‘समृद्ध नगर खुसी नगरबासी’ भन्ने नारालाई मुल मन्त्रकै रूपमा लिएको नगरप्रमुख रामकृष्ण खाँण बताउँछन् । उनी भन्छन्, ‘स्मार्ट सिटीको अवधारणास्वरूप हामीले अप्टिकल फाइबर बिच्छयाएका छौं, त्यस्तै नगरभित्र वाइफाइ पनि फ्री गरेका छौं ।’
याे बालमैत्री घोषित नगरपालिका पनि हो । नगरपालिकाले आधारभूत शिक्षामा आफ्नै पाठ्यक्रम बनाएको छ । नगरप्रमुखको मासिक सुविधाबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिइन्छ भने पोषण सुधार्न ६ कक्षासम्मका बालबालिकालाई संघले दिने १५ रुपैयाँको खाजामा १० रुपैयाँ थपिन्छ । कक्षा ६ का विद्यार्थीलाई पनि आफ्नै स्रोतबाट दिवा खाजाको व्यवस्था नगरपालिकाले गरेको छ । सरकारले भने कक्षा ५ सम्म मात्र खाजाको व्यवस्था गरेको छ । कक्षा ५ सम्मकाले पाउने खाजाको रकममा पनि प्रतिविद्यार्थी १० रुपैयाँ थपेर २५ रुपैयाँ पुर्याइएको छ । तिलोत्तमाका ४२ सामुदायिक विद्यालयमा करिब १८ हजार ५ सय विद्यार्थी छन् ।
नगरपालिकाले फोहोरमैला प्रशोधन, पशु दर्ता, पकेट मेरो पहिलो डस्बिन र विकास निर्माणमा समुदायको बृहत् परिचालनजस्ता थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ । जसका कारण हरेक नागरिकको मन जित्न सफल भएको खाँण बताउँछन् ।
तिलोत्तमामा सडक संरक्षणको अभावमा निर्माण गरेको वर्ष दिन नबित्दै भत्किएर पुन निर्माण गर्नुपर्ने अवस्थासम्म पुगेका थुप्रै सडकका कथा छन् । तर, यहाँ सडक विभागले बनाएको सडकलाई पनि सिंगारपटार गरेर झनै चिकिट्ट पारिएको छ । ६ लेनको उक्त बाटोलाई दायाँबायाँ फूलका विरुवाहरूले सजाइएको छ । सडक किनारमा फुलेका फूलहरू र शान्तसँग गुडिरहेका सवारीसाधनहरूलाई एकनाशले नियाल्ने हो भने पनि कुनै विदेशभन्दा कम नलाग्ने नगरबासीहरू बताउँछन् ।
पूर्वपश्चिम, सिद्धार्थ राजमार्ग र सहायक मार्गलाई वृक्षारोपण गरेर हरियाली बनाएको तिलोत्तमाका सडकमा बत्तीको पनि व्यवस्था रहेको छ । लगानी सम्मेलनमार्फत ठूला व्यवसायीलाई आकर्षण गरेको तिलोत्तमाले साना तथा मझौला व्यवसायीका लागि औद्योगिक ग्राम बनाइरहको छ ।
नगरपालिकाले एक वडा, एक उत्पादनका लागि पकेट क्षेत्र छुट्याइएको नगरप्रमुख खाँण बताउँछन् । ‘हामीले एक वडा, एक उत्पादनका लागि पकेट क्षेत्र छुट्याएका छौं,’ उनी भन्छन्, ‘किसानलाई दूध उत्पादन, उपकरण खरिद र बीउ खरिदमा समेत नगरले अनुदान दिँदै आएको छ ।’
नगरपालिकाले कृषि उपजको बजारीकरण तथा भण्डारणमा पनि सहयोग गर्ने गरेको उनी बताउँछन् । उनका अनुसार युवाहरूलाई स्वदेशमै केही गर्न प्रोत्साहन गर्ने उद्देश्यले पनि नगरपालिकाले थुप्रै कार्यहरू गरेको छ । नगरले रोजगारी बढाउन वैदेशिक रोजगारीबाट फर्केका र अन्यलाई व्यावसायिक तालिमको व्यवस्था गरेको छ । जसबाट सिप सिकेर आफ्नै गाउँघरमा केही गर्न सक्ने बनाउनलाई तालिमहरूको व्यवस्था गरिएको खाँण बताउँछन् ।
नगरपालिकाले सामुदायिक वन र सार्वजनिक जग्गालाई पनि एकदमै राम्रोसँग व्यवस्थापन गरेकाे उनी बताउँछन् । जसले नगरको आन्तरिक आम्दानी र पर्यापर्यटन बढाएको छ ।
देश संघीयतामा गइसकेपछि स्थानीय तहले स्थानीय सरकारका रूपमा घरदैलोबाटै नागरिकलाई सेवा दिइरहेका छन् । जसमध्ये कपितयले सयौंको भीडमा नागरिकको मन जित्ने गरी काम गरेर आफूलाई नमुनाका रूपमा पनि उभ्याएका छन् । पछाडि परेका पालिकालाई यिनीहरूले हौसला र प्रेरणा थपिदिएका छन् । पालिकाहरू बेथितिको चाङले भरिएका छन् भन्ने भाष्यलाई चिर्ने काम उत्कृष्ट पालिकाले गरेको देख्न सकिन्छ । तिलोत्तमा पनि यीनै भित्रको एक नगरपालिका हो ।
यति मात्रै होइन नगरपालिकाले अन्य पनि थुप्रै सुविधाहरू प्रदान गरेको छ । यस पालिकामा ‘ग’ वर्गका अपांगता भएका व्यक्तिलाई पनि भत्ताको व्यवस्था छ । जबकि संघीय सरकारले क र ख वर्गकालाई मात्र अपांगता परिचयपत्र र भत्ता दिने गर्छ । त्यस्तै, यस नगरपालिका क्षेत्रमा गुट्खासमेत खान पाइँदैन । नगरपालिकाले सरसफाइलाई ध्यानमा राख्दै गुट्खा निषेध गरेको नगरप्रमुख खाँण बताउँछन् ।
जनप्रतिनिधिहरू राजनीतिक प्रतिशोधका कारण विकासका कामहरू नै ठप्प पारेर बसेका उदाहरणहरू पनि थुप्रै छन् । तर, यस नगरपालिकामा भने जनप्रतिनिधिहरूले विकासमा राजनीतिक प्रतिशोध साध्दैनन् । पालिकामा ‘कर्मचारी–जनप्रतिनिधि’ बीचको ‘ट्युनिङ’ मिलेको देखिन्छ । यहाँका जनप्रतिनिधि अघिल्ला पटक ल्याइएका ‘असल’ नीति तथा कार्यक्रमलाई निरन्तरता दिन कत्ति पनि हिच्किचाउँदैनन् । आफूले ल्याएका योजनालाई निरन्तरता दिएको भन्दै विपक्षी दलका पूर्वजनप्रतिनिधिले पनि प्रशंसा नै गर्ने गरेका छन् । जनप्रतिनिधिको यस्तो व्यवहारबाट बुझ्न सकिन्छ कि उनीहरूमा चुनावका बेला मात्रै राजनीति गरौं तर अरू बेला जनताको सेवा गरौं भन्ने भाव छ ।
तिलोत्तमा पुग्ने जुन कुनै स्थानीय तहका जनप्रतिनिधिहरू पनि त्यहाँको सिको गरेर फर्किने गरेका छन् । नगरपालिकाले प्रविधिलाई पनि उत्तिकै जोड दिएको खाँण बताउँछन् । पालिकाले अनलाइनबाटै कर तिर्ने सुविधा दिएको छ । जसले गर्दा सेवाग्राहीहरूको समय बचत भएको उनी बताउँछन् ।
नगरपालिकाले सम्पत्ति कर जुनसुकै वडाकाे भए पनि एकै ठाउँमा रकम जम्मा गर्ने सुविधा समेत दिएको छ । यसले थप सहज भएको सेवाग्राहीहरूले बताउने गरेका छन् । नगरपालिकाले अनलाइन कर तिर्ने विषयमा प्रत्येक वडामा तालिम नै चलाएको थियो । नगरपालिका प्रत्येक वडाकाे १ हजार ९ सय २३ टोलमा नै पुगेर तालिम प्रदान गरिएको उनले बताए ।
नगर बासीले विद्युत्, खानेपानी लगायतका बिल पनि अनलाइनबाट नै तिर्ने गरेका छन् । तिलोत्तमा नगरपालिकाले अनलाइन विलिङसँगै सामुदायिक विद्यालयहरूका एप पनि सञ्चालनमा ल्याएको छ । जुन एपको माध्यमबाट अभिभावकले बालबच्चा घरबाट विद्यालयसम्म पुगेको र शिक्षकले विद्यार्थी घरसम्म पुगेको थाहा पाउन सक्नेछन् । त्यस्तै, विद्यालयको बस कति बेला आउँछ वा फर्किन्छ, विद्यालयको जानकारी, सूचना, विद्यालयमा हुने समयका गतिविधि आदि समावेश गरिएको उनी बताउँछन् ।
तिलोत्तमा नगरपालिकाले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक रूपमा गरेको छ । सञ्जालको प्रयोग गरेको सेवाग्राही तथा सर्वसाधारणमा महत्वपूर्ण सूचना तथा जानकारीहरू प्रदान गर्ने गरेको छ । त्यसका लागि नगरपालिकाले फेसबुक, ट्वीटर, युट्युब जस्ता माध्यमको प्रयोग गरेकाे छ । यसमा कार्यालयका विभिन्न गतिविधिसँगै सूचनाहरू समेत राख्ने गरेको नगरपालिकाले जनाएको छ ।
सामाजिक सञ्जाल प्रयोग नगरपालिकाले कोरोनाको समयमा प्रभावकारि ढंगले सञ्चालन गरेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.