२०८१ भदौ १४ गते १२:०९ विकासन्युज
भिटामिन डीको मुख्य स्रोत सूर्यको किरण हो । पछिल्लो समय द्रुत शहरीकरण र व्यस्त जीवनशैलीले मानछेलाई घाम तापेर बस्ने फुर्सद छैन । जसका कारण अधिकांशलाई भिटामिन डीको कमी भइरहेको पाइन्छ । सूर्यको किरणबाट पाउने यो भिटामिन लिन घाममा कसरी बस्ने ? के घामभन्दा बाहेक खानेकुराबाट भिटामिन डी पाइँदैन ? यही विषयमा अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमसँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् ।
‘भिटामिन डी’ भनेको के हो ?
भिटामिन डी एक प्रकारको फ्याट सोलुबल भिटामिन हो । भिटामिन ए, भिटामिन के, डी र ई , एउटै समूहमा पर्छन् । भिटामिन बी भनेर जुन बी कम्पलेक्स खाइरहेको देख्छौँ त्यो वाटर सलुबल अन्तर्गत पर्छ । भिटामिन डी कै विषयमा कुरा गर्दा यसको करिब ८० देखि ९० प्रतिशत रिसोर्स भनेको सूर्यको किरण हो । यो हाम्रो शरीरले आफै बनाउन सक्दैन । घाममा नबस्दा वा घाम नताप्दा यसको समस्या बढी हुन्छ ।
भनेपछि यसलाई सूर्यको किरणबाट प्राप्त गर्ने भिटामिन भनेर बुझदा हुन्छ ?
हो, खानाभन्दा बढी घामबाट पाइने भएकाले भिटामिन डीलाई घामबाट पाइने भिटामिनभन्दा पनि हुन्छ । अहिले हामीकहाँ आउने अधिकांश समस्या भोगिरहेकाहरू दिनमा एक पटकपनि घाममा नबसेकोहरू धेरै छन् । बिहानदेखि साँझसम्म घरभित्रको वा कार्यालयमा बसेर काम गर्ने भएकाले यो समस्या भएकाहरू धेरै हुन्छन् ।
यसको प्राकृतिक सोर्स केही छ ?
खानाबाट पनि केही प्रतिशत भिटामिन पाउन सकिन्छ तर, त्यसले प्रयाप्त भने हुँदैन । अण्डा, स्याल्मन फिस, दुग्दजन्य डेरीका केही खानेकुरामा यो पाइन्छ । तर, हामीले भिटामिन प्राप्तका लागि यो मत्रा धेरै खानुपर्ने हुन्छ । त्यसैले जति सजिलो सूर्यको किरणबाट पाइन्छ त्यति सजिलो हुँदैन । अहिले घाममा बसेर भिटामिन लिने चलन छैन । त्यसैले आफ्नो भिटामिन जाँच गरेर चिकित्सकसँग परामर्श लिएर क्यापसुल खाने गर्नुपर्छ ।
घाममा बस्ने अथवा सूर्यको किरण प्रयाप्त शरीरमा पर्ने व्यक्तिमा यो समस्या हुँदैन हो ?
अहिलेको यस्तो भन्न सकिने अवस्था पनि छैन । किन कि हाम्रो अस्पतालको ओपीडीमा आउने बिरामी बिहानदेखि दिनभरि घाममै बसेर काम गर्नेहरूमा पनि भिटामिन डी को कमी भएको पाइएको छ । अहिलेको सूर्यको किरणमा बस्ने वातावरण छैन । एकदम चर्को छ । ५ देखि १० मिनेट बस्दा छालाको समस्या देखिने, पोल्न थाल्ने, छाला डढ्ने, लगायतका समस्या हुन्छन् । कसैलाई घाममा बस्दा टाउको दुख्ने लगायतका समस्या देखिन्छन् । यसो हुँदा धेरैजसो व्यक्ति घाममा बस्न मन लगाउँदैनन् । कतिपय जाडो महिना हुँदा घाममा बस्न मन गर्छन् भने अहिलेको गर्मीयाममा घाममा बस्न प्राय कसैको रुचि हुँदैन । फेरि हामी नेपालीहरू जुन तरिकाले घाममा बस्छौँ, शरीर पुरै ढाकेर मुखमात्र देखाउँछौँ यसलेमात्र पुग्दैन । भिटामिनका लागि छाला एक्सोपोज गर्नुपर्छ ।
त्यसो भए कुन समयमा कसरी बस्ने ?
घाममा बसेर मात्र हुँदैन । कसरी बस्ने भन्ने कुरा आउँछ । तपाईं हामीले विदेशीहरू समुन्द्रको किनारमा सनवेदिङका लागि बसिरहेका देखेका छौँ । उनीहरू शरीरको ७० देखि ८० भाग नढाकेर बसकेका हुन्छन् त्यसैगरी घाममा बस्नुपर्छ । तर, त्यो हाम्रो संस्कृतिले दिँदैन । यसरी घाममा बस्न सम्भावना पनि छैन । र, बिरामीलाई यसरी घाम ताप्नुहोस भनेर भन्न पनि मिल्दैन । अर्को कुरा कुन समयमा घाममा बस्दा राम्रो हुन्छ भन्ने कुरामा बिहान सूर्य अस्ताएदेखि १० बजेसम्मको घाममा बस्दा राम्रो हुन्छ । यो समय अथवा बिहान ८ बजेदेखि १० बजेको घामले पर्याप्त भिटामिन दिन्छ भन्ने गरिन्छ । तर, यो समय भनेको एकदम व्यस्त हुने समय हो ।
भिटामिन पाउन दिनमा कति घण्टा घाममा बस्नुपर्छ ?
यसका लागि दिनभरिमा कम्तिमा ३० मिनेट सिधै सूर्यकाे किरणमा शरीरमा पर्नुपर्छ । प्रयाप्त मात्रामा भिटामिन डी बन्न लगातार ३० मिनेट होस् वा बेलाबेला गरेर होस् दैनिक आधा घण्टा त्यो पनि शरीर दुईतिहाइ भाग एक्सपोज गरेर बस्नुपर्छ । हप्ताको ६ दिन यसरी बस्यो भने शरीरलाई प्रयाप्त मात्रामा पुग्ने गरी भिटामिन डी पुग्छ । भिटामिनकै लागि दिनको आधाघण्टा नियमित घाममा बस्न सायद सम्भव हुँदैन । त्यसैले अहिलेको अवस्थामा भिटामिन डी एकदम कमी छ वा लक्षण नै देखिन थालेको छ भने राम्रो उपाय भनेको क्यापसुल खाने हो । यसका लागि चिकित्सकको सल्लाहमा फार्मेसीबाट क्याप्सुल लिनुपर्छ ।
कतिपयले कुनै पनि औषधी वा क्याप्सुल चिकित्सकको सल्लाबिनै लिएको पाइन्छ, भिटामिनको कमी भएको लक्षण पर्दा सल्लाह विनै क्याप्सुल खाँदा के हुन्छ ?
कुनै पनि औषधी चिकित्सकको सल्लाहबिनै लिनु राम्रो होइन । आफूलाई कुनै पनि समस्या देखिदा जाँच गराइ चिकित्सकको सल्लाह अनुसारमात्र लिनुपर्छ । आफैले किनेर खाँदा घातक हुनसक्छ ।
भिटामिन डीको कमी भएको कसरी थाहा पाउने ?
शरीरमा भिटामिन डी को लेवल १० भन्दा कम छ भने यसलाई कमी भएको मानिन्छ । १० देखि ३० को बीचमा छ भने यने पनि प्रयाप्त हुँदैन । ३० देखि ७० को बीचमा छ भने प्रयाप्त मानिन्छ । योभन्दा माथि छ भने त्यो पनि राम्रो मानिँदैन । अब लक्षणको कुरा गर्दा हामी कहाँ उपचारमा आएको बिरामीसँग कुरा गर्दा चाहिनेभन्दा बढी थकाइ लाग्ने,ढाड दुख्ने,हाड जोर्नी दुख्ने, मांशपेसी दुख्ने जस्ता लक्षण भिटामिन डीको कमी हुँदा देखिएको पाएको छौँ । यस्तै, डिप्रेसनका लक्षण पनि जस्तै झर्को लाग्ने, पहिले गरिरहेको काम गर्न मन नलाग्ने,पहिले जे कुरा रमाइलो लाग्थ्यो त्यो रमाइलो लाग्न छोड्ने, जतिबेला पनि सुत्न पाए हुन्थ्यो जस्तो लाग्ने हुन्छ । सुरुमा बिरामी आउँदा हातखुट्टा दुख्ने जोर्नी दुख्ने लक्षण लिएर आउने भेटेका छौँ । यदि यस्ता लक्षण कुनै व्यक्तिमा देखिने गरेको छ भने हामीले जाँच गराइहाल्नुपर्छ ।
यस्तो हुँदा जाँचको प्रक्रिया के हुन्छ ?
आजभोलि धेरै नागरिक स्वास्थ्यप्रति सचेत भएका छन् । सामान्य रूपमा सुँगर,थाइराइड लगायतका विभिन्न जाँच गराइरहेको पाइन्छ । कतिपयले आफै जाँच गरेर रिपोर्टमात्र देखाउन आउने गरेको पान्छ भने कतिपय सास्या लिएर अस्पतालमै आएर जाँच गराउने गर्छन् । अहिले ल्याबहरू प्रयाप्त मात्रामा छन् । जाँचका लागि कुनै समस्या छैन । मेले माथि भनेको जस्तै कुनै लक्षण तपाइमा पनि छ भने जाँच गराइहाल्नुपर्छ ।
यो समस्या भइरह्यो तर जाँच गरिएन भने भोलि गएर कस्तो समस्या देखिन्छ ?
भिटामिन डी धेरै समयसम्म कम राखिरह्यो भने यसले अरु रोगहरू निम्त्याउँछ । विशेषगरी ४० कटिसकेका महिलाहरूमा क्याल्सियम कम हुँदै जाने, हाडजोर्नी कम हुँदै जाने,हार्मोन परिवर्तन हुँदै जाने, हड्डी खोक्रो हुँदै जाने हुन्छ । दैनिक क्रियाकलप नै बाधा पुग्ने गरी समस्या देखियो भने तुरुन्त चेकजाँच गरिहाल्नुपर्छ । भिटामिनको मात्रा १० भन्दा तल छ भने खाना र घामबाटै पूर्ति गर्छु भनेर घरमै बसिराख्न हुँदैन । किनकि यसो गर्दा पर्याप्त भिटामिन पाइँदैन । यसका लागि क्याप्सुलको विकल्प हुँदैन ।
तपाईंकहाँ जाँच गराउन आउने बिरामीमा यो समस्या कत्तिको पाउनुभएको छ ?
अहिले यो समस्या नेपालमा एकदमै छ । मैले यो अस्पतालमा काम गर्न थालेको पाँच वर्ष भयो । कम्तीमा पनि तीन, चारजना बिरामी यो समस्या लिएर मलाई मात्र भेट्न आउनुहुन्छ । समग्र अस्पतालकै कुरा गर्ने हो भने एभ्रेजमा हाम्रो १५ देखि २० जना जति नै समस्या लिएर उपचार गर्न आउने गर्छन् ।
कुन उमेर समूहका बढी आउँछन् ?
फिजिसियनले १४ वर्षभन्दा माथिका बिरामीलाई हेर्ने गर्छन् । भिटामिन डीको कुरा गर्दा टीनएजदेखि वयस्क, वृद्धवृद्धामा पनि यो समस्या भएको पाउँछौँ । दीर्घरोगी, मानसिक समस्या भएकाहरूमा पनि यस्तो लक्षण देखा पर्छ । कतिपय बिरामीहरू यस्तै समस्या लिएर आउनुहुन्छ तर, जाँच गर्दा समस्या देखिँदैन । त्यस्तै, दीर्घ रोगी मुटुको समस्या भएका, दम भएका डायवेटिज भएकाहरूमा पनि यो लक्षण मेल खान्छ । उनीहरूमा पनि यस्ता लक्षण्हरू देखा पर्छन् । मानसिक स्वास्थय समस्या भएकाहरूमा पनि लक्षण मेलखान जान्छ । अर्को स्कुल जाने स-साना बच्चाहरूमा पनि आजभोलि यस्तो समस्या देखिन्छ । किनकि बिहान उठ्यो स्कुल गयो दिनभरि स्कुलभित्र बस्यो, साँझ घर आयो यसो हुँदा उनीहरू पनि घाम ताप्न पाउँदैनन् र यो समस्या हुन्छ ।
आभोलि यो समस्या भयावह रूपमा फैलिरहेको सुनिन्छ किन यस्तो भइरहेको छ ?
द्रुत सहरीकरण, सहरी जीवनशैली, आफिस टाइम लगायतका विभिन्न कारणले यो समस्या भएको हुन सक्छ । व्यस्त जीवनशैलीले घाममा बस्ने फुर्सद नहुँदा र काम पनि कोठाभित्रै गर्नुपर्दा यो समस्या बढेको हो । अस्पतालमा आउने बिरामी हेर्दा पनि गाउँ भन्दा शहरमा बसोबास गर्नेहरूमा यो समस्या धेरै देखिन्छ । गाउँतिर खेतवारी जाने, घाममै काम गर्ने हुँदा त्यति समस्या देखिँदैन । उपत्यका बाहिरबाट आउने बीरामीमा हात खुट्टा दुख्ने जोनी दुख्ने लक्षण कि हड्डीहरू खिएरै देखिएको हुन्छ नभए यस्तो समस्या भएको पाइँदैन ।
तर, सूर्यको किरणमा बस्दा पनि जोखिम हुने कुरा सुनिन्छ नि ?
अहिले मलाई पनि यो कुरा गर्दा दोधार हुन्छ । भिटामिनको मुख्य स्रोत सूर्य हो । तर, सूर्यको किरणले स्वास्थ्यमा समस्या पार्छ भन्ने कुरा आइरहेको छ । अहिले पहिलेको जस्तो वातावरण छैन । सूर्यको किरणसँगै अल्ट्राभायोलेट (युभी) अथवा परावैजनी किरण पनि मिसिएर आउँछ । यसले छालामा गर्ने असर बढी देखिन सक्छ । अहिले सिधै घाममा बस्नु भनेर सल्लाह दिन पनि सकिने अवस्था छैन । आफ्नै लागि पनि समय निकालेर घाममा बस्न सहज पनि छैन । पहिलेको जस्तो अहिले वातावरण छैन । त्यसैले घाममै बसेर भिटामिन डीको मात्र पुर्याउनुहोस भन्ने सल्ला दिन पनि गाह्रो छ । समय छ भने बिहानको मिरमिरे घाममा बस्न राम्रो हुन्छ । नभए क्याप्सुल खमएर बस्नु नै उपयुक्त हुन्छ ।
भिटामिन डी क्याप्सुल खाँदा यसको असर केही हुन्छ ?
यो क्याप्सुल हेरेर भन्न सकिन्छ । बजारमा क्याप्सुल कस्तो छ, कस्तो ल्यावमा बनेको हो त्यसमा भरपर्छ । यसका लागि बिरामी आफैले किन्नुभन्दा चिकित्सकको सिफारिसमा किन्दा राम्रो हुन्छ । किनभने कुनै पनि चिकित्सकले आफ्नो बिरामीलाई नराम्रो औषधी सिफारिस गर्दैन । यसको त्यस्तो नराम्रो असर पर्दैन । यो खाँदा शरीरमा क्याल्सियम प्राप्त मात्रामा हुनुपर्छ । त्यसैले कहिले खाने, कहिले रोक्ने भन्ने विषयमा सल्लाह लिनुपर्छ ।
यसका जाँच कतिको सस्तो छ ?
अन्य जाँचभन्दा भिटामिन डीको जाँच अलि महंगो हुन्छ । सरकारी अस्पतालमा अलिकती सस्तो भए पनि निजी अस्पतालमा भने यो महंगो हुन्छ । यसको जाँचका लागि मात्र २ हजार बढी खर्च हुन्छ, यो पनि अस्पताल पिच्छे फरक फरक मुल्य हुन्छ ।
यो कसरी खानुपर्छ ?
यो औषधी बिरामीलाई प्रायः सातामा एक पटक खान सल्लाह दिइन्छ । सुरुमा १२ साता, तीन महिनामा र महिनामा एक पटक खान दिन्छौँ । यसको ९ महिनाजतिको कोर्स हुन्छ । त्यसपछि फेरि जाँच गरेर आवश्यक भए निरन्तर खान सल्लाह दिन्छौँ भने नभए खान पर्दैन । त्यसपछि पनि फेर समस्या आयो भने जाँचेर मात्र क्यापसुल खान दिइन्छ ।
अन्त्यमा केही भन्नुछ ?
अहिले धेरैलाई यो समस्या छ , थाहा छ पनि । यो कमअन समस्या हो । कुनै पनि व्यक्तिले सामान्य जाँच गर्दा भिटामिन डी पनि जाँच गनुृपर्छ । धेरै ठाउँमा लक्षण देखा परेर बिरामी भौतारिरहेका हुन्छन् । यो समस्या लिएर विभिन्न डाक्टरलाई भेटिरहेका हुन्छन् । तर, सञ्चो नभएको बिरामी कहिलेकाहीँ भेटिनुहुन्छ । भिटामिन डी जाँच गर्नुभएको छ भनेर सोध्दा छैन भन्नुहुन्छ । यो सानो जाँच हो । तर, अनिर्वाय जाँच गर्नुपर्छ । कहिलेकाँही सामान्य भनिएकाले जोखिम अवस्था ल्याउन सक्छ । त्यसैले आफ्नौ नजिकै रहेको अस्पतालका फिजिसियनसँग सल्लाह अवश्य लिनुहोला ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.