बैंकबाट कर्जा लिएर नाडा अटो शोमा गाडी किन्न १५ सयभन्दा बढीले दर्ता गराए नाम

  २०८१ भदौ १४ गते २०:५५     विकासन्युज

काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा ७ वटा बैंकले सहभागिता जनाएका छन् । भदौ ११ गतेदेखि भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंकले सहभागिता जनाएका छन् ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शोको आज भदौ १४ गते चौंथो दिन हो । अटो शोमा सवारी साधन खरिद गर्न १५ सयभन्दा बढी ग्राहकहरूले बैंकमा कर्जाका लागि नाम दर्ता गराएका छन् । शुक्रबार ५ बजेसम्म १ हजार ५ सयभन्दा बढीले सवारी कर्जा लिन विभिन्न बैंकमा नाम टिपाएका छन् । अटो शोको अन्तिम दिनसम्म यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

हिमालयन बैंकका प्रतिनिधि युवराज गुरागाईं नाडा अटो शोमा अधिकतम मार्केटिङ गर्नेभन्दा पनि इच्छुक ग्राहकहरूका लागि विशेष अफर ल्याएको बताउँछन् । सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंकहरूबीच ब्यापक प्रतिस्पर्धा भइरहँदा हिमालयनले विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई आधार दरमा ०.५० प्रतिशत प्रिमियम दर तोक्नेछ । साथै अन्य सवारी खरिदका लागि भने बैंकले आधार दरमा ०.६५ प्रतिशत प्रिमियम दर तोक्ने उनले बताए ।

उनका अनुसार बैंकले ८ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । दैनिक ४०÷५० जनाले सवारी कर्जा लिन नाम टिपाइरहेको उनले जानकारी दिए ।

नबिल बैंकका विजनेश डेभलपमेन्ट अफिसर विबेक केसी नाडा अटो शोमा विशेष अफर ल्याएको बताउँछन् । बैंकले ५ वर्ष अवधिका लागि ८.२५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने उनले बताए । साथै ७ वर्ष अवधिका लागि भने ८.४९ प्रतिशत स्थिर ब्याजदर तोकेको उनको भनाइ छ ।

विद्युतीय सवारीमा ८० प्रतिशत फाइनान्सिङ छ भने इन्धन सवारीमा ५० प्रतिशत मात्रै फाइनान्सिङ रहेको उनले बताए । उनका अनुसार सबै डकुमेन्ट उपलब्ध भएको तीन दिनभित्र कर्जा उपलब्ध गराउने बैंकको प्रतिवद्धता छ । हालसम्म १२० जनाभन्दा बढीले कर्जा लिन नाम नाम दर्ता गराएका छन् ।

सानिमा बैंकका प्रतिनिधि प्रतिक नेपाल ईभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने गरी कर्जा उपलब्ध गराउने बताउँछन् । बैंकले सवारी कर्जामा १० वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । उनका अनुसार ईभी कर्जा लिने ग्राहकलाई ७ वर्ष अवधि तोकेको छ भने अन्य सवारीमा १० वर्ष अवधि कायम राखेको छ ।

७ वर्षपछि भने आधार दरमा २ प्रतिशत प्रिमियम दर थप गर्ने उनले बताए । बैंकले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट गरेर ०.५ प्रतिशत मात्रै लिने उनको भनाइ छ । साथै यो अफर दशैं तिहारसम्म चल्नेछ । हालसम्म कर्जा लिन्छु भनेर डेढ सय भन्दा बढीले नाम टिपाएका छन् भने अधिकांशले गाडी पनि बुक गरेका छन् ।

लक्ष्मी सनराइज बैंकका प्रतिनिधि धु्रव भण्डारीका अनुसार ईभीमा ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको उनले बताए । नाडा अटो शोमा बुक भएका सवारी र नाम टिपाएका ग्राहकलाई तीन दिन भित्र कर्जा उपलब्ध गराउने उनको दाबी छ ।

साथै नाडा अटो शोमा बुक गरेका ग्राहकलाई एक वर्षसम्म भिजा कार्ड, एटीएम कार्ड, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ निशुल्क हुने उनले जानकारी दिए । हालसम्म १ सय भन्दा बढी ग्राहकले बैंकबाट कर्जा लिन नाम टिपाएका छन् । जसमध्ये अधिकांश ईभी सवारी खरिदका लागि कर्जा लिने छन् ।

ग्लोबल आइएमई बैंककी प्रतिनिधि नोना आचार्यका अनुसार नाडा अटो शोमा २ किसिमको सवारीका लागि अफर राखिएको छ । बैंकले ईभी कर्जामा ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत र ७ वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

इन्धनतर्फ भने बैंकले ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत र ५ वर्षमाथि अवधिका लागि ९.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । हालसम्म नाडा अटो शोमा कर्जा लिन २२५ जनाभन्दा बढीले नाम टिपाइसकेको उनले जानकारी दिइन् ।

साथै बैंकले घरकर्जाका लागि पनि अफर राखेको छ । ग्रिन होम लोन योजनामा ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदर र सोभन्दा माथिको अवधिका लागि आधार दरमा १.७५ प्रतिशत प्रिमियम दर तोकिनेछ । यस्तै निश्चिन्त आवास योजनामा १० वर्ष अवधिका लागि ७.९९ प्रतिशत र सोभन्दा माथिको ८.४९ प्रतिशत ब्याजदर तोकिएको छ । १५ वर्ष भन्दा माथिको लागि ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अनुसार हालसम्म ३ सय बढीले सवारी कर्जा लिन नाम दर्ता गराएका छन् । बैंकले ईभी कर्जामा आधार दर ७.६४ प्रतिशतमा १ प्रतिशत प्रिमियम तोकेर कर्जा उपलब्ध गराउनेछ । जसमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको बैंकले जनाएको छ । पेट्रोल तथा डिजेल सवारी कर्जा लिँदा भने ८० प्रतिशतभन्दा कम फाइनन्सिङ रहेको छ ।

कृषि विकास बैंकका प्रतिनिधि उपेन्द्र महतका अनुसार सवारी कर्जाका लागि ब्याजदरमा भारी छुट अफर रहेको छ । बैंकले फ्लटिङ दरमा ७.९९ प्रतिशत र स्थिर ब्याजदरमा ८.९९ प्रतिशत तोकेको छ । साथै कर्जा प्रक्रिया शुल्कमा ०.३३ प्रतिशत छुट दिएको उनले जानकारी दिए । कर्जा भुक्तानी अवधि ५ वर्षदेखि ७ वर्ष रहेको छ ।

व्यावसायिक सवारी कर्जामा फलटिङ दरमा ८.४९ प्रतिशत र स्थिरमा ९.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत नाममा सवारी कर्जा लिँदा ५० प्रतिशत र कम्पनीको नाममा लिँदा ८० पतिशत फाइनान्सिङ सुविधा रहेको उनले बताए ।

उनका अनुसार हालसम्म कर्जाका लिनका लागि १६० भन्दा बढीले नाम टिपाएका छन् । तर, स्टल भिजिट गर्ने धेरै छन् । नाम टिपाएका अधिकांश कर्जा लिने मनसायमा रहेको उनको भनाइ छ ।

माछापुच्छ्रे बैंकका अनुसार हालसम्म बैंकले आधार दरमा १ प्रतिशत प्रिमियम दर तोकेर ब्याजदर निर्धारण गर्नेछ । इन्धन सवारीमा ५० प्रतिशत र ईभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको बैंकले जनाएको छ । बैंकले कर्जा चुक्ता गर्न ईभीमा ६ वर्ष र इन्धनमा ८ वर्ष अवधि दिएको छ । हालसम्म सवारी खरिद गर्न बैंकबाट कर्जा लिन २५० भन्दा बढीले नाम दर्ता गराएको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकका प्रतिनिधि निरज विष्ट नाडा अटो शोमा ९.९९ प्रतिशत अफरसहित सवारी कर्जा उपलब्ध गराउने बताउँछन् । ईभीमा ८० प्रतिशत फाइनान्सिङ सुविधा छ भने १० वर्ष अवधिका कर्जा दिइनेछ । बैंकले इन्धन सवारीमा ८ वर्ष अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै तीन दिनभित्र कर्जा भुक्तानी गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.