२०८१ भदौ १६ गते १६:४३ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नियामकका हिसाबले आफूहरुले गरेका केही व्यवस्थाले सकारात्मक संकेत दिइसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रल नियामकले गरेका केही व्यवस्थाले अटो र सेयर बजारमा सकारात्मक प्रभाव परेको बताएका हुन् ।
अहिले एनपीएको वृद्धि समस्याका रुपमा देखिएको उनले बताए । साथै घरजग्गामा केही पैसा गयो भने त्यो पनि घट्ने उनको भनाइ छ । आईसीईको व्यवसाय धेरै नै प्रभावित हुने अवस्था आएमा राष्ट्र बैंकले नीतिगत पुनरावलोकन गर्ने उनले बताए ।
‘अहिले ईभीमा २० प्रतिशत र आईसीईमा ४० प्रतिशत डाउन पेमेन्टको व्यवस्था छ,’ डेपुटी गभर्नर मिश्रले भने, ‘राष्ट्र बैंकको पोलिसी डाइनामिक हुन्छ, बिक्री नै ठप्प भएछ भने त्यसमा छलफल गरौंला ।’
उनका अनुसार वातावरणका हिसाबले ईभीलाई सरकार र राष्ट्र बैंकले प्राथमिकतामा राखेको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौड्यालले अटो शोमा धेरै ईभी देखिनु मुलुककै लागि राम्रो भएको धारणा राखे । ईभीको उपभोग वृद्धिले अहिलेका लागि राजस्व घटाएको भएपनि दीर्घकालमा पेट्रोलियम आयात घट्ने अवस्था आउने उनले बताए । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई आत्मसात गर्नका लागि हाल भइरहेको कार्य उपयुक्त रहेको उनको भनाइ छ ।
‘ईभी आयातकर्ताले सवारी साधनको गुणस्तरमा ध्यान दिनुपर्छ, ताकि बैंकहरुले १०÷१५ वर्ष अवधिको कर्जा प्रवाह गर्न सकुन्,’ उनले भने ।
नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका सीईओ सुनिल केसीले वातावरणीय सन्तुलनका विषयमा सचेत भएर सरकारले लिएको नीति नाडा अटो शोमा प्रकट भएको टिप्पणी गरे । अर्थतन्त्र सुस्ताएको बेला नाडा अटो सोले बैंकिङ क्षेत्रलाई भाइब्रेन्ट गरेको उनले बताए ।
‘बैंकहरुले ऊर्जा क्षेत्रमा ३५० अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन्, उत्पादित ऊर्जाको उपभोगको कुरा पनि छ, ईभीको बढ्दो आयात र बिक्रीले इकोसिस्टमलाई सपोर्ट गर्छ,’ उनले भने, ‘चार्जिङ स्टेसनलगायतका पूर्वाधार खडा गरेर विद्युतीय सवारीको व्यवसायलाई दीगो बनाउनेतर्फ सम्बद्ध व्यवसायी लाग्नुपर्छ, बैंकिङ क्षेत्र सँगै अगाडि बढ्न तयार छ ।’
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष एवं सांग्रिला बैंकका सीईओ सुयोग श्रेष्ठले मुलुकको समग्र आर्थिक अवस्था खुम्चिँदा अटो क्षेत्र पनि प्रभावित भएको बताए । नाडा अटो शो २०२४ मा करिब ९५ प्रतिशत विद्युतीय सवारी साधनका स्टल रहेको र अवलोकनकर्ताले पनि सोही अनुपातमा विद्युतीय सवारी साधन नै बुक भएको पाइएको उनले बताए ।
‘नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण सेयर बजारले बुलिस ट्रेन्ड समातेको देखिएको छ, सेयर बजार बढेको कुराको संकेतका रुपमा नाडामा गाडी बुक भएको अवस्थालाई लिन सकिएला,’ उनले भने, ‘त्यसकारण अर्थतन्त्र माथि नगई कुनै एउटा मात्र क्षेत्र माथि जान्छ जस्तो लाग्दैन ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.