२०८१ भदौ १७ गते १३:३३ विकासन्युज
पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शत् प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाख रुपैयाँका तीन हजार पाँच सय ७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आवको साउनमा भने ९४ करोड ४८ लाखका सात हजार एक सय ५० रुपैयाँ थान मोटरसाइकल आयात भएका थिए ।
वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाखका एक सय २७ रुपैयाँ थान जिप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाखको ७६ थान रुपैयाँ मात्र जिप र कार आयात गरिएको छ ।
भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए ।
गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.