२०८१ भदौ १७ गते २०:०६ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंकका हेड अफ ट्रान्जेक्सन प्रकाश पौडेल डिजिटल रूपान्तरण अभियानमा छन् । उनी फ्रन्टलाइनमै रहेर डिजिटल गतिविधिमा सक्रिय छन् । उनी हरेक कारोबार डिजिटलबाटै गर्छन् र अरूलाई पनि डिजिटल माध्यमबाटै गर्न प्रेरित गरिरहेका छन् ।
हरेक कारोबार डिजिटलबाट गर्ने उनी घरभित्र भने नगदमै काराेबार आएका थिए । उनका छाेराछाेरीलाई पैसा चाहियो भने नगदै दिन्थे । यदि नगद छैन भनेपनि एटीमएबाट झिकेर छाेराछाेरीलाई दिने गरेका थिए । सबै कारोबार डिजिटलबाट गर्ने उनी घरभित्रको कारोबार किन डिजिटल हुँदैन ? उनले सोच्न थाले ।
यदि डिजिटल रूपान्तरण गर्नुछ भने घरभित्रैबाट बालबालिकालाई पनि डिजिटलमा अभ्यस्त गर्नुपर्छ भन्ने सोचका साथ ‘ग्लोबल जुनियर एप’को अवधारणा ल्याए । ग्लोबल आइएमई बैंकले पहिलो डिजिटल कारोबार घरभित्रैबाट हुनुपर्छ र बालबालिकालाई भविष्यको ग्राहक बनाउनुपर्छ भन्ने अवधारणाका साथ आज ‘ग्लोबल जुनियर एप’ सार्वजनिक गरेको छ ।
‘डिजिटल रूपान्तरणमा विभिन्न गतिविधि भइरहेका छन्, म आफैं पनि डिजिटल कारोबारको प्रमोट गरिरहेको छु । तर, घरभित्रको कारोबार भने नगदमै हुन्छ, मेरो १२ वर्षको छोरी छिन्, छोरीलाई पैसा आवश्यक पर्याे भने नगद दिन्थें, यदि नगद छैन भने एटीएमबाट झिकेर दिन्थें,’ उनले भने, ‘हामी किन घरभित्रबाट डिजिटल कारोबार गर्न सक्दैनौं ? म र मेरो छोरीबीचको कारोबार किन डिजिटल हुन सक्दैन ? किनभने छोरीको व्यवहारलाई सुहाउने एप बैंकिङ क्षेत्रमै थिएन, जसले गर्दा मेरो र छोरी कारोबार नगदमै हुने गरेको थियो, चाहे १ हजार होस् वा चाहे १ सय रुपैयाँ होस्, त्यसैले ‘ग्लोबल जुनियर एप’को अवधारणा बनेको हो ।’
घरभित्रको कारोबार पनि डिजिटलबाट गर्नुपर्छ भन्ने हेतुले ‘ग्लोबल जुनियर एप’ ल्याइएको उनले बताए । केही महिनादेखि आफूले अभ्यास गरिरहेको र बालबालिकाको तर्फबाट कसरी काम गर्छ भनेर अध्ययन गरेर नै यो एप सार्वजनिक गरिएको उनको भनाइ छ । १२ वर्षदेखि १७ वर्षसम्मका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप ल्याइएको उनले जानकारी दिए ।
‘बालबालिकाको आवश्यकतालाई हेरेर ल्याइएको हो, यो उमेर समूहलाई डिजिटल प्लेटफर्ममा ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने, ‘परिवारको मोबाइलबाटै बालबालिकालाई ग्लोबल जुनियर एपमा जोड्न सकिन्छ ।’
उनका अनुसार एक जना परिवारले २ जना बच्चालाई ग्लोबल जुनियर एपमा आवद्ध गराउन सकिने र परिवारले नै नियन्त्रण गर्न सक्नेछन् । एक दिनमा अधिकतम ५ हजार रुपैयाँ र मासिक १० हजार रुपैयाँसम्म कारोबारको सीमा ग्लोबल जुनियर एपमा राखिएको छ । परिवारले चाहेको अवस्थामा कारोबारको सीमा घटबढ गर्न सकिने उनले बताए ।
‘ग्लोबल जुनियर एपमा बचत खाता सरह ब्याजदर निर्धारण गरिएको छ, यो एपमार्फत बालिबालिकाले गरिरहेको कारोबारलाई समेत परिवारले सहजै कहाँ के सामान खरिद गरेको छ भनेर हेर्न सक्नुहुन्छ,’ पौडेलले भने ।
ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा नेपालमा अग्रणी स्थानमा रहन बैंकले विभिन्न कार्य गर्दै आएको बताउँछन् । भौतिक कारोबार कम गर्न यस एपले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
‘यो एपलाई परिवारले नै ह्यान्डल गर्न सकिन्छ, बालबालिकालहरूले भबिष्यमा सहज रूपमा कारोबार गर्न सकिन्छ, बिना सीम यो एप चलाउन सकिन्छ,’ उनले भने, ‘बैंकको नारा अनुरुप बालबालिकालाई पनि सेवा दिन यो एप ल्याइएको हो ।’
यो प्रडक्ट नेपालको बैंकिङ क्षेत्रमा युनिक प्रडक्ट भएको बताउँदै उनले भने, ‘वित्तीय साक्षरतामा सहज हुनेछ, कसरी कमाउने, कमाउन कति दुःख हुन्छ, कमाएको पैसा कसरी बचत गर्ने, कसरी खर्च गर्ने भनेर बालबालिकालाई यो एपले शिक्षा दिनेछ, बालबालिकालाई सानैदेखि सिकाउनेछ, मिहिनेत गर्न सिकाउनेछ, पैसाको महत्व बुझाउनेछ ।’
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरेन्द्रराज रेग्मी सबैको लागि बैंक भन्ने नारा बमोजिम बालबालिकालले समेत सहज रूपमा बैंकिङ कारोबार गर्न ग्लोबल जुनियर एपले मद्दत पुर्याउने बताउँछन् ।
‘बैंकको नारा नै छ, सबैका लागि बैंक, यही नाराबमोजिम साना बालबालिकालाई पनि बैंक चाहिन्छ भन्ने सुरुवात गरेका छौं, अधिकांश सूचकमा ग्लोबल आइएमई बैंक अग्र स्थानमा छ, यसलाई निरन्तरता दिन डिजिटलमा जोड दिएको हो, सबैलाई डिजिटल इको सिस्टममा ल्याउन ग्लोबल जुनियर एपले भूमिका खेल्नेछ,’ उनले भने, ‘आजको बालक भोलिको कर्णधार हो, त्यसैले बालबालिकालाई भविष्यमा सहज बैंकिङ कारोबार गराउन यस एपले योगदान गर्नेछ ।’
उनका अनुसार बैंकको ७५ प्रतिशत कारोबार डिजिटल माध्यमबाट हुने गरेको र यसलाई बढाएर सतप्रतिशत गर्ने रणनीति बैंकको रहेको छ । साथै ठूलो बैंक भएकाले पनि डिजिटल काराेबारमा दायित्व हुने उनले बताए । नेपाल राष्ट्र बैंकले भविष्यमा ल्याउने डिजिटल करेन्सीलाई समेत ग्लोबल जुनियर एपले सहजीकरण गर्ने उनको दाबी छ ।
बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ग्लोबल जुनियर सञ्चालनमा ल्याएको हो । बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याएको बैंकले जनाएको छ । बैंकका अनुसार परिवार र बालबालिकाबिच हुने नगद कारोबारलाई डिजिटल गराउनु यो एपको उद्देश्य हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.