अडानी ग्रिन इनर्जीमा फ्रान्सको टोटल इनर्जीले सवा ३७ अर्ब लगानी गर्ने

  २०८१ भदौ १८ गते १२:१६     विकासन्युज

काठमाडौं । भारतको व्यावसायिक घराना तथा दोस्रो धनी व्यक्ति गौतम अडानीको कम्पनीमा अर्को विदेशी कम्पनी प्रवेश गरेको छ । यो फ्रान्सको कम्पनी टोटल इनर्जी हो। यो कम्पनीले अडानी ग्रुपको कम्पनी अडानी ग्रिन इनर्जीमा ४४ करोड ४० लाख अमेरिकी डलर (करिब ३७ अर्ब २७ करोड रुपैयाँ) लगानी गर्ने छ ।

तर, विदेशी कम्पनीले भारतीय कम्पनीमा लगानी गरेको यो पहिलो पटक भने होइन । यसअघि पनि अडानी समूह लगायत धेरै कम्पनीमा विदेशी कम्पनीले लगानी गरिसकेका छन् ।

अडानी ग्रिन इनर्जीले संयुक्त उद्यम गठन गर्न टोटल इनर्जीबाट ४४ करोड ४० लाख डलर थप लगानीका लागि सम्झौता अनुमोदन गरेको बताइएको छ ।

‘संयुक्त उद्यम कम्पनीको पोर्टफोलियो १ हजार १ सय ५० मेगावाट हुनेछ, यसमा सञ्चालन र निर्माणाधीन सौर्य ऊर्जा सम्पत्तिहरू समावेश हुनेछन् । यसबाहेक व्यापारमा आधारित र विद्युत खरिद सम्झौतामा आधारित आयोजना पनि समेटिनेछन्,’ विज्ञप्तिमा उल्लेख छ ।

योसँगै अडानी ग्रिन इनर्जीमा टोटल इनर्जीको १९.७५ प्रतिशत हिस्सेदारी पुगेको छ । गत वर्ष सेप्टेम्बरमा अडानी ग्रिन र टोटल इनर्जीले १ हजार ५० मेगावाटको ग्रिन पोर्टफोलियोका लागि संयुक्त उद्यम गठन गर्न सहमत भएका थिए ।

टोटल इनर्जीले यो सम्झौतामा ३० करोड डलर लगानी गर्ने भनिएको थियो । नयाँ सम्झौता अन्तर्गत अडानी ग्रिन इनर्जी र टोटल इनर्जीले नयाँ संयुक्त उद्यम कम्पनीमा प्रत्येकको ५० प्रतिशत सेयर राख्नेछन् । एजेन्सी