राष्ट्र बैंकले गर्यो वर्षौंदेखिको चलनमा ब्रेक, साढे १ अर्ब जोगिने

  २०८१ भदौ १९ गते ८:४१     विकासन्युज

काठमाडौं । मान्छेहरुले हातमा नयाँ नोट पर्ने वित्तीकै दशैं आएको महसुस गर्थे । विभिन्न बैंकबाट नयाँ नोट साँटेर दशैंका लागि घर जाने मानिसहरुको भीड लाग्थ्यो । नयाँ नोट पाएको खुसी पृथक किसिमको हुन्थ्यो । नयाँ नोटले दशैं आएको रौनक दिन्थ्यो । मानिसहरुले दक्षिणा दिँदा नयाँ नोट नै प्रयोग गर्थे । तर, यस पटक त्यस्तो हुने छैन ।

मानिसहरुले नयाँ नोट प्रयोग गर्न पाउने छैनन् । नेपाल राष्ट्र बैंकले यसपटक नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी गरेको छ । गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिला नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको सहप्रवक्ता डा.डिल्लीप्रसाद पोखरेलले बताए ।

विगतमा दशैं तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिन्थयो । करिब १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्थ्यो । तर, यस पटक बैंक तथा वित्तीय संस्थाले नयाँ नोट वितरण गर्ने छैनन् ।

नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठूलो धनराशी खर्च गर्ने गर्थ्याे । राष्ट्र बैंकले नयाँ नोटमा देखेको खर्चका कारण यो वर्षदेखि नयाँ नोट वितरण नगर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ खर्च हुँदै आएको बताएको छ ।

डिजिटल कारोबारलाई बढावा दिन बैंकले दशैंमा नयाँ वा सुकिला नोट नबाँड्ने भएको बताएकाे हाे । विगतमा राष्ट्र बैंकले दसैंका लागि भनेर ३/४ महिनाअगावै नयाँ नोट छपाइको काम गर्थ्याे ।

डिजिटल कारोबारलाई प्रोत्साहन र नोट छपाइको लागत घटाउन राष्ट्र बैंकले यस्तो निर्णय लिएको बताएको छ । विगतमा राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँका नयाँ नोट प्रतिव्यक्ति १८ हजार ५ सयका दरले वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.