२०८१ भदौ १९ गते १७:१० विकासन्युज
काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ भने, चार जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणबाट घोडाघोडी नगरपालिका–५ का ९ वर्षीय बालक र वडा– ६ का ६० वर्षीय बृद्ध पुरूषको मृत्यु भएको हो ।
गौरीगंगा नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकामा गरी थप चार जनामा संक्रमण पुष्टि भएको छ ।
यो रोग पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यसको टोकाइपछि धेरै टाउको दुख्ने, ज्वरो आउने र विस्तारै मष्तिष्कमा समेत असर पर्ने चिकित्सकहरू बताउँछन् ।
प्रभावित क्षेत्रमा थप संक्रमण फैलिन नदिन स्वास्थ्य निकायले उच्च सावधानी अपनाएको छ । प्रभावित क्षेत्र आसपासमा १ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने तयारी भइरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.