वैदेशिक रोजगार बीमामा पुल प्रणाली लागु, कसरी हुन्छ बाँडफाँट ?

  २०८१ भदौ १९ गते १९:३५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार म्यादी जीवन बीमामा अब सामूहिक बीमा कोष (पुल) प्रणाली लागु भएको छ । नेपाल बीमा प्राधिकरणले पुल स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ जारी गरेको छ ।

प्राधिकरणले जारी गरेको निर्देशनअनुसार पुलको व्यवस्थापन भने दुई पुनर्बीमक कम्पनी नेपाल पुनर्बीमा र हिमालय रिइन्स्योरेन्सले गर्नेछन्  कम्पनीहरुले दैनिक रुपमा कारोबारको विवरण पुल व्यवस्थापकलाई पठाउनु पर्नेछ ।

कम्पनीहरुले दिएको दाबी भुक्तानीको विवरण हरेक महिना समाप्त भएको ७ दिनभित्र पुल व्यवस्थापकलाई पठाउनु पर्ने कार्यविधिमा उल्लेख छ । सो रकम व्यवस्थापनका लागि पुल व्यवस्थापकको छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्नेछ । र सो खातामा पुलमा सहभागी सबै कम्पनीहरुको वैदेशिक रोजगार म्यादी बीमा अन्तर्गतको कारोबार जम्मा हुनेछ ।

कसरी हुन्छ बाँडफाँट ?

सामूहिक कोषमा जम्मा भएको रकम खर्च र आयको हिसाब पुल व्यवस्थापकले गर्नेछ । जसमध्ये यस बीमालेख जारी गर्ने हरेक कम्पनीले चालु आर्थिक वर्ष २०८१/०८२ मा ४.६ प्रतिशत भाग पाउने छन् । यसैगरी, २०८२/०८३ मा ५.७ प्रशितशत हिस्सा हरेक कारोबार गर्ने कम्पनीले पाउने छन् ।

ऋार्थिक वर्ष २०८३/०८४ भने हरेक कारोबार गर्ने कम्पनीले ६.६६ प्रतिशत हिस्सा पाउने निर्देशनमा उल्लेख रहेको छ । चालु आवमा कुल व्यापारको ६९ प्रतिशत कोषमा रकम सबै कम्पनीलाई बराबार भाग गरिन्छ । र, ३१ प्रतिशत रकम कम्पनीले कारोबार गरेको आधारमा बाँडफाँट गरिन्छ ।

आव २०८२/०८३ मा ८५.५० प्रतिशत सबै कम्पनीलाई बराबर र १४.५० प्रतिशत कम्पनीको कारोबार अनुसार बाँडफाँट हुन्छ । आव ०८३/०८४ मा भने ९९.९० प्रतिशत सबै कम्पनीलाई बराबर र ०.१० प्रतिशत रकम गत आर्थिक वर्षमा यस पोलिसि जारी गर्ने १० कम्पनीलाई बराबार भाग गरिन्छ ।

निर्देशन अनुसार १५ कम्पनीले उक्त भाग पाउने छन् । हाल नेपालमा ३ लघु सहित १७ जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये विदेशिक जीवन बीमक द्वय मेटलाईफ र लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालले भने यो पोलिसी जारी नगर्ने भएका छन् । गत साउन महिनाको १ गते देखिको व्यवसाय नै पुल प्रणालीमा लागु हुने उल्लेख छ ।