२०८१ भदौ २४ गते १८:५१ लक्ष्मण लम्साल
काठमाडौं । काठमाडौंबासीहरूले कुहिएकोको मासु खान बाध्य भइरहेको पाइएको छ । सरकारको फितलो अनुगमनका कारण काठमाडौंबासीले अखाद्य तथा बिग्रिएको मासु खान बाध्य भएका हुन् ।
काठमाडौंका गल्लीहरूमा नियाल्ने हो भने त्यहाँका मासु पसलहरूको अवस्था दयनीय रहेको पाइन्छ । गल्लीगल्लीमा पाइने सामान्य मासु पसलमात्र हैन, नेपालमा नाम चलेका मासु पसलहरूमा पनि बिग्रिएको मासु बिक्री भइरहेको घटना बेलाबेला आउने गर्दछ ।
आईएसओ मान्यता प्राप्त भएको भ्याली कोल्ड स्टाेरले वितरण गर्न मासुसमेत अखाद्य रहेको भन्दै केही महिनाअघि काठमाडौं महानगरपालिकाले कारबाही गरेको थियो । मासु प्रशाेधन गरेर ढुवानीका क्रममा तापक्रम नमिलाएको भन्दै महानगरले कारबाही गरेको थियो ।
अखाद्य मासु बिक्री गर्दागर्दै पनि सरकारको अनुगमन नपर्दा कारबाहीबाट जोगिनेहरू धेरै मासु पसल रहेका छन् । नयाँ बानेश्वरको शंखमूलमा रहेको आइकालु मिट शपमा पनि अखाद्य मासु पाइएको एक उपभोक्ताले बताए । उनले आइतबार साँझ ८ बजेतिर सो शपबाट किनेर लगेको मासुमा गन्ध आएको बताए ।
आइकालु मिट शप उपभोक्ताले विश्वास गरेको मासु पसल हो । तर, त्यस पसलबाट किनिएको मासुमा पनि गन्ध आएपछि उपभोक्ता मारमा परेका हुन् ।
उसो त मासु पसल सञ्चालनका लागि कानुन भएपनि त्यो पर्याप्त नभएको काठमाडौं महानगरपालिकामा कार्यरत एक जना खाद्य प्राविधिक बताउँछन् । उनका अनुसार मासु कसरी फ्रिजिङ गर्ने, कति तापक्रममा फ्रिजिङ गर्ने भन्ने स्पष्ट मापदण्ड नै छैन ।
पशु सेवा विभागले मासु पसल सञ्चाल र त्यसको गुणस्तरको बारेमा ऐन पनि बनाएको छ । पशु वध तथा मासु जाँच नियमावली, २०५५ मा मासु पसल सञ्चालन, वध र त्यसको गुणस्तरको बारेमा उल्लेख छ ।
तर, वध गरिएको मासु पसलमा बिक्रीका लागि राख्दा कति तापक्रममा फ्रिजिङ गर्ने, त्यसको हाइजिन कसरी मेन्टेन गर्ने भन्नेबारे स्पष्ट छैन । भएको कानुनको पनि पालना भएको छैन । जसले गर्दा उपभोक्ताहरू अखाद्य मासु खान बाध्य भइरहेको उपभोक्ताकर्मी प्रेमलाल महर्जनले बताए ।
सरकारले भएको कानुनको पालना गर्न चुक्दा र अनुगमनमा चासो नदेखाउँदा उपभोक्ता मारमा परेको उनको भनाइ छ । मासु, वध, मासुपसल लगायतका विषयमा उल्लेख गरिएको ऐनको पालनामा सरकारले चासो दिनुपर्ने, आवश्यक ऐन तथा मापदण्ड जारी गर्नुपर्ने र उपभोक्ताले पनि खाद्यवस्तुको बारेमा सचेत हुनुपर्ने उनी बताउँछन् ।
मासु पसल सञ्चालनका लागि तालिम दिने तयारीमा महानगर
यता काठमाडौं महानगरले भने मासु पसल सञ्चालनका लागि व्यवसायीलाई सुरुवातदेखि नै आवश्यक तालिम दिने तयारी गरेको छ ।
मासु पसलसम्बन्धी मापदण्डभन्दा पनि व्यवसायीलाई अहिले तालिम र जनचेतनाको आवश्यक रहेको महानगरका एक खाद्य प्राविधिकले बताए ।
‘विश्वमा भएको मापदण्डअनुसार नेपाली व्यवसायीलाई लागू गर्दा ज्ञान र सीपको खाँचो पर्दछ । त्यसका लागि पहिला तालिमका साथै जनचेतना जगाउनुपर्छ अनि त्यसपछिमात्र मापदण्ड लागू गर्दा ठिक हुन्छ,’ उनले भने ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.