२०८१ भदौ २५ गते १२:४० विकासन्युज
काठमाडौं । नोबडी प्रोडक्सनले एकैसाथ तीनवटा रियालिटी शोहरूको घोषणा गरेको छ ।
आइतबार दूषित प्रिन्सेस होटलमा आयोजित पत्रकार सम्मेलनमा सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २, अन्ताक्षरी र ब्रिलियन्ट ब्रेन्स शो घोषणा गरेकाे हाे ।
क्राइम पट्रोल नेपालको पहिलो सिजन बनाएपछि सुस्ताएको नाेबडी प्राेडक्सनले लगभग ३० महिनापछि रियालिटी शाेहरूकाे घाेषणा गरेकाे हाे ।
नोबडी प्रोडक्सनले ‘काे बन्छ करोडपति’ शोबाट यात्रा सुरु गरेको थियाे ।
लगभग एक महिना पहिले डिजिटलल अडिसन सुरु गरिएको सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ काे लागि अहिलेसम्म लगभग १२ हजारले अडिसन भिडियो पठाइसकेका छन् ।
सिजन २ मा जजेजका रूपमा दीप श्रेष्ठ, स्वप्न सुमन र सुवानी मोक्तान रहनेछन् ।
भारतमा लगभग २५ वर्षदेखि रियालीटी सोको टेलिभिजन रेटिङ पोइन्टमा संधै अग्रपंक्तिमा रहने यो शोको नेपालमा आफ्नै फ्यान फलोइङ छ । यसको पहिलो सिजनलाई नेपाली दर्शकले अत्यधिक रुचाएका थिए ।
सारेगमप लिटिल च्याम्पस नेपाल सिजन २ सँगै नेपाली जीवनको अभिन्न हिस्सा अन्ताक्षरी अब रियालिटी शोका रूपमा आउने भएको छ । संगीतको बाह्रखरी ट्याग लाइनसहित घोषणा गरिएको अन्ताक्षरीको डिजिटल अडिसन यही घटस्थापनाबाट खुल्ने भएको हाे ।
सांगीतिक कार्यक्रम सारेगमप लिटिल च्याम्पस नेपाल र अन्ताक्षरी सँगसँगै ब्रिलियन्ट ब्रेन्स पनि यही समारोहमा घोषणा गरिएको छ।
‘सारेगमप लिटिल च्याम्पस नेपाल’ को सिजन टु स्पेस फोरके टेलिभिजनमा प्रसारण हुनेछ । आज भएको कार्यक्रममा प्रसारण सम्झौतामा हस्ताक्षर सारेगमपका तर्फबाट विष्णु सापकोटाले र स्पेस फोरकेका तर्फबाट शाहकुमारी शाहीले हस्ताक्षर गरेका छन् ।
यसैगरी, सिजन २ को एक्सक्लुसिभ कमर्सियल पार्टनरका रूपमा फर्मुला प्लस रहनेछ भने डिजिटल मिडिया पार्टनरका रूपमा राष्ट्रिय सञ्चार रहनेछ। यसमा नोबडी प्रोडक्सनसँग सम्झौता पनि भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.