विद्यार्थीको चापमा शिवपुरी: सक्नेलाई शुल्क, नसक्नेलाई फ्री

  २०८१ भदौ २६ गते १३:०८     इन्द्रसरा खड्का

शिवपुरी माध्यमिक विद्यालय । तस्बिर: साैगात पुडासैनी/ विकासन्युज

काठमाडौं । टिनटिनटिन…टिन…घण्टी बज्यो, मध्यान्हको १ बजे । सबै विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्के । केही समय पहिले सुनसान रहेको विद्यालयमा एकैछिन विद्यार्थीको गुञ्जन गुञ्जियो । कोही कक्षा कोठाभित्र, कोही बाहिर, कोही काैशीमा त कोही भुँइमा विद्यार्थीहरू खेल्न थाले । झट्ट हेर्दा लाग्थ्यो-यो भवनलाई विद्यार्थी थेग्न गाह्रो छ । तर पनि भवनले सकिनसकी थामिरहेको छ ।

यो दृश्य हो- बालुवाटारमा रहेको शिवपुरी माध्यमिक विद्यालयको ।

२०२१ सालदेखि बालुवाटारमा शिक्षा दिँदै आएको शिवपुरी माध्यमिक विद्यालय काठमाडौं उपत्यकाको उत्कृष्ट सामुदायिक विद्यालयभित्र पर्छ । विसं २००५ सालमा स्थापना भएको यो स्कुल सुरुमा बाँसवारी स्कुलको नाममा सञ्चालनमा आएको थियो । विभिन्न ठाउँमा सर्दैसर्दै पछि २०२१ सालदेखि बालुवाटारमा सञ्चालन हुँदै आएको हो । सुरुमा अनौपचारिक रूपमा सुरु भएको विद्यालय पछि सरकारी विद्यालयको रूपमा परिणत भएको विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदीले बताए । जहाँ २२ कक्षा सञ्चालन गर्ने ठाउँ छ ।

नतिजा र गुणस्तरीय शिक्षाले उत्कृष्ट रहेको शिवपुरी विद्यालयमा विद्यार्थीको संख्याअनुसार न विद्यार्थीलाई खेल्ने ठाउँ छ, न त कक्षाकोठाभित्र ढुक्कले बस्ने ठाउँ नै । बाहिरबाट झट्ट हेर्दा सफा अनि चिटिक्क देखिने भवनमा विद्यार्थीको चाप र खुल्ला ठाउँ नहुँदा भने अलिक असहज भएकाे देखिन्छ । लस्करै जोडिएका ठूला तीनवटा भवन, ती भवनभित्र करिब १६ सय विद्यार्थी अहिले अध्ययन गरिरहेका छन् । विद्यार्थीको चाप र सीमित स्रोत-साधनले विद्यार्थीलाई खेल्ने ठाउँको अभाव भएको विद्यालयको भनाइ छ ।

विद्यालयका कोठा संरचनाअनुसार ३५ जनालाई पढाउन मिल्ने मात्र छ । तर, एकै कक्षामा ५० जना विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता छ । प्रधानाध्यापक सुवेदी भन्छन्, ‘अभिभावक आउनुहुन्छ, जसरी पनि भर्ना गराइदिनु भन्नुहुन्छ । नाइँ पनि भन्न सकिँदैन, यसरी धेरै विद्यार्थी भर्ना गर्दा एउटै कक्षामा ५० विद्यार्थीभन्दा बढी राख्नुपर्छ ।’

यसका लागि तपाईंले पहल गर्नुभएन भन्ने विकासन्युजको प्रश्नमा उनी भन्छन्, ‘जग्गा प्राप्तिको पहल भएकै हो तर काठमाडौंमा निकै गाह्रो छ, खाली जग्गै छैन । फेरि यो ठाउँबाट टाढा सार्ने हो भने फेरि जुन यहाँको समुदायसँगको साइनो छ त्यो छुटेर जान्छ । टाढा लान पनि मिलेन । नजिकै जग्गा पाइने सम्भावना पनि नहुँदा समस्या भएको हो ।’

तीन पक्षबीचको राम्रो सहकार्य

भौतिक संरचना कम भएपनि विद्यालयले दिने सेवा भने उत्कृष्ट छ । सामुदायिक विद्यालयलाई विद्यार्थी पाउन गाह्रो भइरहेको बेला यो स्कुलले भने भवनको क्षमताभन्दा बढी विद्यार्थी भर्ना गराएर शिक्षा दिरहेको छ । यसो हुनुको पछाडि विद्यार्थी, अभिभावक र शिक्षकको ठूलो भूमिका रहेको प्रधानाध्यापक सुवेदी बताउँछन् । उनी तीन पक्षबीच राम्रो सहकार्य भयो भने जुनसुकै विद्यालय उत्कृष्ट बन्ने दाबी गर्छन् । ‘हामीले गरेको पनि त्यही हो, ’ उनी भन्छन्, ‘ शिक्षकको टिमवर्क, आधुनिक प्रविधि प्रयोग गरेर शिक्षा दिने अभिभावक र विद्यार्थीको सल्लाहमा विद्यालय अघि बढ्यो भने विद्यार्थी नपाइने समस्या हुँदैन ।’

७ कक्षा माथि अत्यधिक चाप

यो विद्यालयमा अध्ययन गर्ने कक्षा १, २ भन्दा ७ कक्षादेखि माथि विद्यार्थीको चाप बढी छ ।  कक्षा १ देखि ३ सम्म एउटा मात्र सेक्सनमा पढाइ भइरहेको छ । जहाँ एक सेक्सनमा ४० देखि ४५ जना विद्यार्थी छन् । ४ देखि १० सम्म भने धेरै सेक्सन छन्, जहाँ  एउटा सेक्सनमा करिब ५० जना विद्यार्थी छन् । कक्षा ११ र १२ मा ४-४ सेक्सन बनाएर विद्यार्थीलाई अध्ययन गराइन्छ । जति विद्यालयप्रति अभिभावकको आकर्षण थियो, त्यहीअनुसार विद्यार्थी भर्ना गराउन भने विद्यालयलाई समस्या छ ।

शिवपुरी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश सुवेदी । तस्बिर: साैगात पुडासैनी/ विकासन्युज

विद्यार्थीलाई प्रविधिसँग जोड्दै

काठमाडौंको पानीपोखरी बस्ने  सविन रानामगर शिवपुरीमा कक्षा ११ मा अध्ययन गर्छन् । उनी कक्षा ९ देखि कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दै आएका छन् । उनी विद्यालयमा पढाइको वातावरण राम्रो भएपनि खेल्ने ठाउँ नहुँदा समस्या भएको बताउँछन् । कक्षा ८ देखि शिवपुरीमा अध्ययन गर्दै आएका उनी भन्छन्,  ‘शुल्क पनि महँगो छैन, पढाइ पनि राम्रै छ तर अलि फराकिलो ठाउँ नहुँदा समस्या हुन्छ ।’

अहिले विश्व डिजिटलाइजेशनको दिशामा तीव्र रूपमा अगाडि बढिरहेको छ । विद्यार्थीहरू पनि कम्प्युटर प्रविधिको क्षेत्रमा आफ्नो करिअर बनाउन चाहन्छन् । अहिले निजीदेखि सरकारी विद्यालयले पनि डिजिटल सशक्तिकरणलाई बढवा दिरहेका छन् । अहिलेको यस्तो अवस्थामा कम्प्युटर इन्जिनियरको माग धेरै छ । यसैलाई मध्यनजर गर्दै यो विद्यालयले पनि कक्षा ९देखि १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ सुरु गरेको हाे ।  ९ र १० कक्षामा यो विषय पढ्ने विद्यार्थीको संख्या धेरै भएपनि कक्षा ११ मा भने १०/११ जना मात्र विद्यार्थी हुन्छन् । एसईईपछि धेरैजसो विद्यार्थीको रोजाइ मेकिडल शिक्षा वा अन्य विषयमा जाँदा विद्यार्थी कम हुने गरेको जनाइएको छ ।

एसईईमा ९३ प्रतिशत विद्यार्थी पास

कुनैपनि विद्यालयलाई उत्कृष्ट भनिनुको आधार उसले दिने नतिजा हो । यो विद्यालयले पनि हरेक वर्ष हुने एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । विगत १५ वर्षदेखि यो विद्यालयले एसईईमा राम्रो नतिजा ल्याउँदै आएको विद्यालयको दाबी छ । कुनै बेला ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन  सफल विद्यालयले यो वर्ष पनि एसईईमा ९३ प्रतिशत विद्यार्थी उत्तीण गराउन सफल भयाे । परीक्षामा एक सय ४० जना विद्यार्थी सहभागी भएका थिए ।

नेपाली-अंग्रेजी माध्यमबाट पढाइ

यो स्कुलमा अहिले नेपाली र अंग्रेजी दुवै भाषाबाट अध्ययन, अध्यापन भइरहेको छ । पहिले कक्षा ५ सम्म अंग्रेजी माध्यम, ६ कक्षादेखि नेपाली र अंग्रेजी अध्ययन गराइन्थ्यो । दुई भाषामा पढाउँदा धेरै समस्या आयो । यसो गर्दा अंग्रेजी माध्यममा विद्यार्थीको आर्कषण हुने, नेपाली माध्यममा कम हुने देखियो । कुनै विद्यार्थी नेपाली मात्र बुझ्ने, अंग्रेजी कम बुझ्नेलगायतका समस्या देखिन थाल्यो । यस्ताे हुँदा शिक्षक, अभिभावक र विद्यार्थीबीच सल्लाह गरी अहिले कक्षा ७ सम्म सबै अंग्रेजी माध्यमबाट र ८ देखि १० अंग्रेजी र नेपाली दुवै भाषामा पढाइ हुने गरेको छ । विद्यार्थीको चाहना अंग्रेजीमा बढी छ । तर, गाउँबाट आएका कतिपय विद्यार्थी नेपालीमै पढिरहेका छन् । गाउँबाट आएका अंग्रेजी नजान्नेहरूका लागि नेपाली माध्यमबाट पढाइ हुने गर्छ ।

शुल्क अनिवार्य छैन

शिवपुरी विद्यालयले विद्यार्थीका लागि अनिवार्य शुल्क तोकेको छैन । आर्थिक अवस्था राम्रो भएका अभिभावकले अभिभावक भेलामा सक्दो सहयोग गर्छन् भने नसक्नेहरूका लागि अनिवार्य छैन । ‘हामीले कक्षा १० सम्म अनिवार्य शुल्क राखेका छैनौं । सक्नेहरूले केही सहयोग गर्नुहुन्छ, कसैले वर्षमा हजार/पन्ध्र सय दिनुहुन्छ, नसक्नेलाई ल्याउनैपर्छ भन्ने छैन, ’ प्रधानाध्यापक सुवेदी भन्छन्, ‘हामीले मासिक, वार्षिक यति शुल्क भनेर तोकेका छेनौं । अभिभावक भेलामा आफ्नो खुसीअनुसार अभिभावकले सहयोग गर्नुहुन्छ ।’

विद्यालयको अन्य आयस्रोत नभएकाले पनि यो बाध्यता रहेको प्रधानाध्यापक सुवेदी बताउँछन् । नि:शुल्क शिक्षामा उनकाे फरक तर्क छ । सक्नेले शुल्क तिरेर नसक्ने विद्यार्थीलाई फ्री गर्‍याे भने विद्यालयलाई पनि सजिलो र विद्यार्थी पनि सहज हुन्छ । सरकारले दिएको केही पैसा र शिक्षकले मात्र नि:शुल्क शिक्षा दिन अहिलेको अवस्थामा गाह्रो छ । खर्च गरिरहनुपर्ने भएकाले शुल्क उठाउनुपर्ने बाध्यता छ ।

शिक्षक कर्मचारी पनि अभाव

भौतिक पूर्वाधारजस्तै पर्याप्त शिक्षकको पनि विद्यालयमा अभाव नै छ । अहिले ५४ जना शिक्षक छन् । विद्यार्थीको संख्याअनुसार शिक्षककाे अभाव छ तर, पनि विद्यालयले व्यवस्थापन गरिरहेको छ । अहिले सबै सामुदायिक विद्यालयको समस्या नै पर्याप्त शिक्षक नहुनु हो । ‘कुनै विद्यालयमा यति पनि नभएको अवस्था रहेको बताउँदै प्रधानाध्यापक सुवेदी ४-५ जना शिक्षक थप भए सहज हुने बताउँछन् ।  माविमा १२, निमाविमा १० र प्राविमा १५ जनाको दरबन्दी छ भने तीन जना करार गरी बाँकी विषयगत शिक्षकहरू छन् । यस्तै, कम्प्युटर इन्जिनियरिङको लागि ४ जना इन्जिनियर, २ जना विज्ञान विषयको शिक्षक गरी जम्मा ५४ जना शिक्षक अहिले विद्यालयमा कार्यरत रहेका छन् । यस्तो हुँदा विद्यालयमा भएका शिक्षकहरूले थप कक्षा पढाउनुपर्ने बाध्यता छ । ‘हामीसँग विद्यालयको अरू स्राेत नहुँदा शिक्षकहरू राख्न सकेका छैनाैं, ‘ उनले भने ।

३० वर्षदेखि स्कुलमै

प्रधानाध्यापक सुवेदीले यो विद्यालयमा पढाउन थालेको ३० वर्ष भयो । सुरुमा गणीतको शिक्षकका रूपमा प्रवेश गरेका उनी अहिले त्यही विद्यालयको प्रधानाध्यापक बनेका छन् । उनी २ वर्ष देखि प्रधानाध्यापकको जिम्मेवारीमा छन् । पहिले शिक्षक भएर पढाउँदा र अहिले पुरै स्कुलको व्यवस्थापकीय भू्मिकामा हुँदा उनलाई फरक अनुभव भइरहेको छ । ‘पढाउँदा रमाइलो हुन्थ्यो, अहिले जिम्मेवारी थपिएको छ, ’ उनी भन्छन्, ‘अहिले पनि मैले पढाउन छोडेको छैन ।’ उनी कुनैपनि संस्थालाई राम्रो बनाउनु व्यवस्थापकीय पदमा बसेका व्यक्तिको ठूलो भूमिका हुने बताउँछन् । आफूले जिम्मेवारी सम्हालेको २ वर्षमा विद्यालयमा शौचालयदेखि खानेपानी ,विद्युतलगायतको समस्या समाधान जोड दिएको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.