२०८१ भदौ २७ गते १५:१८ विकासन्युज
काठमाडौं । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको आयोजकले बताएको छ ।
आयोजकले एक महिनासम्म पशुपतिमा लागेको महायज्ञको हिसाबकिताब सार्वजनिक गर्दै घाटा भएको बताएको हो । आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको बताएका छन् ।
त्यस्तै, कोटिहोम सञ्चालन गर्नको लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले जानकारी दिए । यसरी संकलन भएको रकम र खर्चलाई हेर्दा ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमूर्तिले दाबी गरेका छन् ।
महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको उनले बताए ।
‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि एक महिनाभर कोटिहोम सञ्चालन भएको थियो । कोटिहोम सकिएको करिब एक महिनापछि हिसाबकिताब सार्वजनिक गर्दै घाटा भएको आयोजकले जनाएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.