२०८१ भदौ २८ गते १५:२६ सीआर भण्डारी
काठमाडौं । दशैंतिहार घर आँगनमै आइसकेकाे छ । दशैंतिहारमा विभिन्न योजनाहरू बनाइन्छ । अरूबेला काममा व्यस्त भएपनि यसबेला केही मान्छेहरूले आफ्नो नयाँ घर बनाउने योजना पनि बनाउँछन् । घर निर्माणका लागि बजेट चाहिन्छ । बजेट कम वा अभाव भएकाे अवस्थामा मानिसहरूले बैंकबाट ऋण लिएर घर बनाउने योजना गरेका हुन्छन् ।
त्यसका लागि ऋणीहरूले कुन बैंकको घरकर्जाको ब्याजदर कम छ भनेर अध्ययन गर्छन् । बैंकहरूले पनि ग्राहकहरूको अपेक्षाअनुसार घरकर्जामा न्यून ब्याजदर तोकेका हुन्छन् । पछिल्लो समय बैंकहरूले कम ब्याजदरमा घरकर्जाका योजना ल्याइरहेका छन् । तर, कम ब्याजदरमा घरकर्जाका योजना ल्याएपनि माग नआएको बैंकरहरू बताउँछन् ।
नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । बैंकले आधार दर सरह नै कम ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको छ । ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजनाअन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराइरहेको बैंकले जनाएको छ । भदौ महिनाका लागि बैंकको आधार दर ७.६३ प्रतिशत छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ । तर, घरकर्जाका लागि भने ७.९९ प्रतिशत मात्रै ब्याजदर तोकेको हो ।
७.९९ प्रतिशत ब्याजदरमै ‘ढुक्क घर कर्जा’ योजना ल्याएपनि माग भने नआएको नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुजित शाक्य बताउँछन् । दशैंतिहारको सिजन भएकाले घर निर्माणका लागि बैंकबाट कर्जा लिने धेरै हुनुपर्ने भएपनि माग नआएको उनको भनाइ छ ।
‘दशैंमा नयाँ घर बनाउने वा घर निर्माण गर्ने योजना बनाउने समय हो, दशैंतिहारको समय घरकर्जाको सिजन पनि हो । ७.९९ प्रतिशत ब्याजदरमा कर्जाको माग ह्वारह्वारती आउनुपर्ने हो । तर, आकर्षक रूपमा कर्जाको माग आएको छैन,’ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बताउँछन् ।
उनका अनुसार अर्थतन्त्र चलायमान गर्न ‘ग्रासरुट’ मा मनोबल उच्च हुन जरूरी रहेको छ । विगत २ वर्षमा घाटा खाएर व्यापार राम्रो भएन । सबै सामान स्टकमा बसेको छ । बिक्री भएको सामानको पैसा पनि उठ्न सकेको छैन । त्यसैले नयाँ घर बनाउने योजना नबनाएको हुन सक्ने उनले बताए । साथै युवापुस्ता विदेश पलायन भएकाले बैंकको कर्जा प्रवाहमा प्रभाव परेको उनको भनाइ छ ।
‘युवाहरू खपत गर्ने पिल्लर हुन्, ती युवाहरू अष्ट्रेलिया, क्यानडा, जापान गए, त्यहाँ काम गरेर पैसा फिर्ता पठाएर यहाँ घरघडेरी किन्ने समूह होइन, उल्टै यहाँको पैसा विदेश लैजान्छन्, त्यसको प्रभाव घरकर्जामा देखिएको छ । किनभने परिवारमा मेरो छोरालाई घर बनाउनुपर्छ भन्ने नलागेर पनि कर्जाको माग नआएको हामीले महसुस गरिरहेका छौं,’ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले भने ।
ग्लोबल आइएमई बैंकले घरकर्जाका लागि ग्रिन होम लोन योजना ल्याएको छ । बैंकले ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदर र सोभन्दा माथिको अवधिका लागि आधार दरमा १.७५ प्रतिशत प्रिमियम दर तोकिने जनाएको छ । त्यस्तै, निश्चिन्त आवास योजनामा १० वर्ष अवधिका लागि ७.९९ प्रतिशत र सोभन्दा माथिको ८.४९ प्रतिशत ब्याजदर तोकिएको बैंकको छ । साथै १५ वर्ष भन्दा माथिको लागि ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
एनएमबि बैंकले ८.९२ प्रतिशत घर कर्जा योजना ल्याएको छ । सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना ल्याएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ योजना ल्याएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षसम्म स्थिर रहने छ ।
सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन अधिकांश बैंकले घर कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । घरजग्गा क्षेत्र चलायमान भएपछि समग्र अर्थतन्त्र नै चलायमान हुने अपेक्षा बैंकरहरूको छ । किनभने घर बनाउँदा आवश्यक पर्ने स्टिल, सिमेन्टलगायत क्षेत्र पनि चलायमान हुन्छ । मजदूरहरूले पनि काम पाउँछन् ।
सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन कुमार आचार्य सस्तो ब्याजदरमा घर कर्जा ल्याएपनि माग नआएको बताउँछन् । उपभोग घटेका कारण व्यापार व्यवसाय घटेको उनले बताए । साथै युवा पुस्ता पलायन भएर घरको आवश्यक नभएकाले पनि कर्जाको माग घटेको उनको भनाइ छ ।
‘देशभरि नै व्यापार व्यवसाय हुन सकेको छैन, उपभोग गर्ने लाखौं मान्छे विदेश पलायन भएका छन् । उपभोग कम भएपछि व्यापार व्यवसाय कम हुन्छ, व्यापार व्यवसाय कम भएपछि अन्य लगानी गर्न सकिँदैन,’ उनले भने, ‘विदेश गए माग पनि घट्यो, विदेश गएका युवा पुस्तालाई घर बनाउनु नपर्ने वा आवश्यक नपर्ने भयो । विदेश गएपनि फर्किँदैनन्, अमेरिका, अष्ट्रेलिया, क्यानाडा जापान जाने युवा छन् अनि छोराछोरीका लागि घर नबनाएको पनि देखिन्छ ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.