२०८१ भदौ २८ गते १८:४३ विकासन्युज
काठमाडौं । नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम सबै यात्रुहरूलाई फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालयले सूचना जारी गरेको छ । समितिले यस पटक प्रति व्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ ।
समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ । ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौं । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौं । बसाइँ अवधिमा यात्रुलाई कुनै पनि कठिनाइ हुन नदिनका लागि साउदी सरकार, साउदीस्थित नेपाली दूतावाससँग सहकार्य गर्याैं,’ नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाले भने ।
हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भीड हुने भएकाले खान, बस्न र स्वास्थ्यसम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए ।
त्यस्तै, नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो । यो अवधिमा कमिटीले पहिलो पटक यात्रीलाई धेरै रकम फिर्ता गर्न सफल भएको नेपाल हज समितिका अध्यक्ष मियाले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफुले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोसिस गरेको छु,’ उनले भने ।
समितिले प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरेभन्दा खर्च कम भए पछि कमिटिले रकम फिर्ता गर्न लागेको उनले बताए । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सूचना जारी गरेका छौं । नम्बर प्राप्त भएपछि हामी अनलाइन नै भुक्तानी गरिदिन्छौं,’ नेपाल हज समितिका अध्यक्ष मियाले भने ।
यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको उनले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनले जानकारी दिए । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो ।
आगामी वर्षको हज यात्राको लागि निवेदनको आह्वान
त्यसैगरी, हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटीका सदस्य सचिव झन्कनाथ ढकालले बताए ।
उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सूची सार्वजनिक गरिने उनले बताए ।
त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटीको योजना रहेको सचिव ढकालले बताए । सामान्यतया ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने पाइएपछि यसलाई छोट्याउन खोजेको उनले जानकारी दिए ।
त्यस्तै, कमिटीले हज यात्राको कार्यविधि संशाेधन गरी हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त ब्याजलाई आकस्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको सचिव ढकालले बताए ।
हज यात्रीको लागि चुस्त मेडिकल टिमको व्यवस्था गर्न कमिटीको आग्रह
नेपाल हज सचिवालयले हज यात्रामा जाने यात्रुको लागि मेडिकल टिमको व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेका छन् । हजको बसाइँमा नेपालबाट जाने नेपालीलाई हावापानीका कारण स्वास्थ्य समस्या हुने भएकाले आफनै मेडिकल टिमको व्यवस्था गर्न कमिटीले आग्रह गरेको हो ।
हजमा जाने नेपाली यात्रुमध्ये कतिपयले पहिलो पटक गाउँ छोडेर बाहिर निस्केका हुन्छन् । साउदीको गर्मी र एसीको कारण नेपाली यात्रीलाई स्वास्थ्य समस्या हुने कमिटीका प्रवक्ता मिर्जा रासिद बेगले बताए ।
उनले सरकारले पनि केही खर्च गरेरै भए पनि नेपाली हज यात्रीको लागि कम्तीमा पनि चार जनाको मेडिकल टिम र पर्याप्त औषधी उपकरणको व्यवस्थापन गर्न उनले सरकारसँग आग्रहसमेत गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.