जापानमा आफ्नैहरूबाट ठगिन्छन् नेपाली विद्यार्थी, कोठा पाउन मुस्किल

  २०८१ असोज ४ गते १३:२७     केशब बिष्ट

जापान । नेपाली विद्यार्थीहरूको शैक्षिक गन्तव्यका रूपमा पछिल्लो समय जापान अग्रस्थानमा आउँछ । जापानमा आएर अध्ययन तथा काम गर्ने नेपाली विद्यार्थीहरूको संख्या बढ्दै गएको छ । हाल करिब ६० हजार नेपाली विद्यार्थी जापानका विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत रहेको विभिन्न सरकारी तथ्यांकले देखाउँछ ।

विद्यार्थीले अनुमति लिएर सातामा २८ घण्टासम्म काम गर्दै भाषा तथा व्यावसायिक शिक्षा लिन सक्ने सुविधा भएकोले पनि जापानमा आउने नेपाली विद्यार्थीको संख्या बढेको हो । यो सुविधाले नै नेपाली विद्यार्थीलाई आकर्षित गरिरहेको छ । भाषा तथा सिप विकास भइसकेपछि रोजगारीका अवसरहरू प्रशस्त भएकोले पनि नेपाली यहाँका विभिन्न शहरमा आउने गरेका छन् ।

अवसरहरू राम्रो भएपनि पछिल्लो समय विद्यार्थीको संख्या बढेसँगै गलत क्रियाकलापले पनि प्रशय पाइरहेका छन् । पछिल्लो समय नेपाली विद्यार्थीले नेपालीलाई नै ठग्ने गलत क्रियाकलाप जापानमा बढेका छन् । रोजगारीको अभाव, भाषा र सिपको कमीले नेपाली विद्यार्थीले नेपालीलाई नै ठगी गर्ने घटनाहरू बढ्दै गएका हुन् ।

जापानको फुकुओका सहर अवस्थित निसिनिहोन कोकुसाई निहोंगो गाक्कोमा अध्ययनरत केही नेपाली विद्यार्थीले आफ्नै देशका नागरिकबाट ठगीमा परेको गुनासो गरेका हुन् ।

पीडित विद्यार्थीहरूको भनाइअनुसार उनीहरूलाई कोठा खोजिदिने बहानामा ठूलो रकम असुलेर ठगिएको हो । उनीहरूले होस्टलबाट कोठा खोज्दा एक नेपाली दिदीको सहयोग मागेको तर उनले ठूलो रकम असुलेर सम्पर्कविहीन भएको पीडित एक विद्यार्थीले भने ।

‘हामीले जापानमा सहयोग गर्ने गरेको सुनेर परिचित नेपाली दिदी (युमी गुरुङ) सँग सहयोग माग्यौं । तर, उनले जनक थापा र उमेश तामाङ नामका व्यक्तिसँग सम्पर्क गराइन्, उनीहरूले हाम्रो जाइरो कार्ड र इनकान समेत लिए । कोठा नखोजेर पैसा लिएर सम्पर्कविहीन बने,’ ती विद्यार्थीले गुनासो गरे ।

कोठा व्यवस्थापनको क्रममा नक्कली कागजात बनाइ विद्यार्थीहरूलाई कोठा सारिएको थियो । उनीहरूले बैंकबाट भाडा काटिने र पानी निःशुल्क हुने आश्वासनसमेत दिएका थिए । तर, पछि पानीको बिल अरूकै नाममा अएको र रुम भाडा नगदमा मागिएको उनीहरूको भनाइ छ ।

आफूहरूले आफ्नो गाक्कोमा गएर कागजात देखाउँदा नेपाली शिक्षकले कागजात नक्कली भएको जानकारी दिए । पछि उनीहरूले प्रहरीलाई पनि खबर गरेको बुझिएको छ । प्रहरीले अनुसन्धान गर्दा रकम ठगी गर्ने नियतका साथ उनीहरूले आपतकालीन सम्पर्क नम्बर र पानी–बिजुलीमा मनलाग्दी नाम राखेको फेला परेको छ ।

उनीहरूका अनुसार उनीहरूले ४ लाख रुपैयाँसम्म ठगी गरेका छन् । पछि प्रहरीको सहयोगमा ठगी गर्नेले पैसा फिर्ता गरिसकेको पनि बुझिएको छ । उनीहरूले अरूलाई पनि यस्तो ठगीबाट बच्न आग्रह गरेका छन् । जापान कानूनी रूपमा निकै सशक्त देश भएकोले ठगीको शिकार भएर चुप बस्नुभन्दा कानूनी सहायता लिनु नै उचित हुने राय उनीहरूको छ ।

जापानमा नेपाली विद्यार्थीहरू अलपत्र पर्ने, हराउने तथा चोरी डकैतीको शिकार बन्ने गरेका घटनाहरू बेला बखत सार्वजनिक हुने गरेका छन् । यसबाट बच्नका लागि विद्यार्थीलाई सरोकारवालाले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.