रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडियाले तिरेन कर

  २०८१ असोज ४ गते १५:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै बेला गोरखा मिडिया नेटवर्क प्रालिले कर नतिरेको पाइएको छ । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्क प्रालिले कर्मचारीलाई दिइएको तलबमा सरकारलाई कर नतिरेको खुलासा गरेको हो ।

गोर्खा मिडिया नेटवर्क प्रालिले आर्थिक वर्ष २०७७/७८ मा मात्र ६ महिनामा ११२ जना कर्मचारीलाई २ करोड १९ लाख ३५ हजार ७११.९८ रुपैयाँ तलब खर्च भुक्तानी गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/७९ मा २४४ जना कर्मचारीलाई १२ करोड ७३ लाख ८६ हजार ३२१.९० रुपैयाँ तलब भुक्तानी गरेको थियो ।

तर, तलबसँग सम्वन्धित विभिन्न शीर्षकमा नेपाल सरकारलाई १ करोड ३६ लाख ७६ हजार ५६३ तिर्नु पर्ने कर बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

गोर्खा मिडिया नोक्सानीमा रहेता पनि सम्पूर्ण तलब भत्ता भने समयमै भुक्तानी भएको र कर्मचारीलाई पेश्कीसमेत दिएको प्रतिवेदनमा उल्लेख छ ।

तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको बयान दिए पनि समितिलाई प्राप्त विवरणअनुसार लामिछानेले नै कारोबार गर्ने गरेको पाइएको उल्लेख छ ।

गोर्खा मिडियाको संस्थापक सेयरधनी गितेन्द्रबाबु राई र छबिलाल जोशी हुन् भने पछि रवि लामिछाने पनि सेयरधनीका रूपमा प्रवेश गरेका थिए । क्रमशः  जोशी र लामिछानेले उक्त कम्पनी छाडेको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न सहकारी संस्थाबाट गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र आफन्तको नाममा प्रचलित सहकारी कानूनविपरीत ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम पठाई अपचलन भएको समितिको ठहर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.