महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

  २०८१ असोज ५ गते ११:०१     विकासन्युज

म्याग्दी । कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च गरेर जापान, युरोप र अमेरिकालगायत देश जान थालेपछि सामाजिक विकास कार्यालय म्याग्दीले लोकसेवाका लागि निःशुल्क तयारी कक्षा सुरु गरेको छ ।

उच्च शिक्षा र रोजगारीका लागि विदेशिनेक्रम बढेपछि जिल्लाको शैक्षिक संस्था, सार्वजनिक सेवा र निजी क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव समस्याका रूपमा देखिन थालेपछि कार्यालयले कक्षा सुरु गरेको हो ।

क्याम्पसमा स्नातक र स्नाकोत्तर तह अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । कार्यालयका प्रमुख रमेश थापाले महिलालाई निजामती सेवाप्रति आकर्षित गर्न २० दिनका लागि तयारी कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

‘म्याग्दीमा १२ कक्षा उत्तीर्ण गरेपछि युरोप, अमेरिका र खाडीमुलुक जाने चलन बढी देखिन्छ,’ उनले भने, ‘उच्च मावि र क्याम्पस तहमा अध्ययन गरिरहेका महिलालाई लक्षितगरी निःशुल्क तयारी कक्षा सञ्चालन गरिएको हो ।’

म्याग्दी बहुमुखी क्याम्पसमा प्रत्येक दिन दुई घण्टाका दरले सञ्चालन गरिएको तयारी कक्षामा हाल जिल्लाका ६ वटै स्थानीय तहका ३३ जना महिला सहभागी भएका छन् । क्याम्पस र उच्च माध्यमिक तहमा अध्ययन गरिरहेका महिला तयारी कक्षामा सहभागी भएका हुन् ।

अप्राविधिकतर्फको प्रशासन सहायक (पाँचौँ) र खरिदार (चौथो) तहको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत वर्ष पनि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको थियो ।

तयारी कक्षामा सहभागी प्रमिला पौडेलले तयारी कक्षाले निकै फाइदा गरेको बताइन् । उनले उत्तर लेख्ने शैलीबारे राम्रो ज्ञान पाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.