२०८१ असोज ६ गते १३:१० विकासन्युज
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको इन्टेकको आइतबार निरीक्षण गर्दै मन्त्री खड्काले आयोजना सञ्चालनका क्रममा देखिएका समस्या तत्काल समाधान गर्दै किसानका खेतबारीमा सिँचाइ पुर्याउन निर्देशन दिएका हुन् ।
‘कृषिप्रधान देशमा सिँचाइको अभाव हुनुहुँदैन, बिग्रेका उपकरण यथाशीघ्र मर्मतसम्भार गरेर किसानको खेतबारीमा सिँचाइ पुर्याउनुहाेस्,’उनले भने ।
मन्त्री खड्काले आजै कोसी नदीबाट सुनसरी र मोरङ जिल्लामा सिँचाइ लैजान प्रयोग गरिएको ‘डेज्रिङ पद्धति’को अनुगमन गरेका थिए । उक्त उपकरणको लम्बाइ नौ सय ९६० मिटर, चौडाइ ८० मिटर र गहिराइ १० मिटर रहेको छ ।
सो उपकरणले इन्टेकबाट मूल नहरमा छिरेको बालुवा तथा ग्रेगानलाई झिक्ने काम गर्ने सिँचाइ आयोजना कार्यालयले जनाएको छ । विसं २०५२ मा निर्माण भएको दुईवटा उपकरणमध्ये हाल एउटा मात्र सञ्चालनमा छ ।
मन्त्री खड्काले बिग्रेका उपकरणको तत्काल मर्मत गर्नुका साथै त्यसको विकल्पमा नयाँ प्रविधिको अध्ययन गरेर सञ्चालनमा ल्याउनसके सिँचाइ सुविधामा सहयोग पुग्ने बताए । सुनसरी–मोरङ सिँचाइ आयोजनामार्फत हाल सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा उपलब्ध हुँदै आएको छ ।
निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी, सिँचाइ विभागका उपमहानिर्देशक दिनेश भट्टलगायत सहभागी थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.