तनहुँका गुरुङले गरे मनास्लु हिमालको सफल आरोहण

  २०८१ असोज ७ गते १९:२५     विकासन्युज

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गरेका हुन् । भदौ १४ गते काठमाडौंबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुगेका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गरेका हुन् ।

आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले जानकारी दिए ।

‘सबै प्रतिकूलतालाई सामना गर्दै कठोर मौसमका बाबजुद पनि हामी मनास्लुको शिखरमा पुग्न सफल भयौं,’ उनले खुसी साट्दै भने, ‘हावा भीषण चलेको थियो, चिसो ज्यादै थियो तर हाम्रो दृढ सङ्कल्पले हामीलाई शिखरमा पुर्‍यायाे ।’

विश्वको आठौं अग्लो हिमाल मनास्लुको उचाइ आठ हजार एक सय ५६ मिटर छ ।

गुरुङले सगरमाथाको दुईपटक सफल आरोहण गरेका छन् । विसं २०८० जेठ ११ र विसं २०८१ जेठ ७ गते उनले सगरमाथा आरोहण गरिसकेका छन् ।

सन् २०१४ देखि पर्यटन व्यवसायमा आवद्ध गुरुङले सन् २०१५ मा पर्वतारोहणसम्बन्धी प्रशिक्षण लिएपछि यो व्यवसायमा लागेका हुन् । गुरुङले यसअघि लघुचे, मिरा हिमाल, मनास्लु हिमाल सफल आरोहण गरिसकेका छन् ।

पर्वतारोहण गाइडमा सुरुका दिनमा शेर्पाहरुको बर्चस्व रहँदा पनि सङ्घर्ष गर्दै अगाडि बढेको उनको भनाइ छ । उनले भने, ‘पर्यटनमार्फत् नेपाललाई विश्वमा चिनाउने अभियानमा छु ।’

गुरुङले गत वर्षको पुस महिनामा छ हजार सात सय ५९ मिटरमा अवस्थित खुम्जुङ्गार हिमालको सफल आरोहण गरेका थिए । अपर मुस्ताङमा अवस्थित उक्त हिमालमा चिसो मौसममा हालसम्म आरोहण गरिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.