१० ठूला बैंकको तत्काल लेखापरीक्षण गर्न आईएमएफको सुझाव, अर्थतन्त्र सुधार हुँदै गएको निष्कर्ष

  २०८१ असोज ८ गते १३:०९     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले नेपालको अर्थतन्त्रमा सुधारको संकेतहरू देखिन थालेको बताएको छ । नेपालमा अर्थमन्त्री, गभर्नरलगायतसँग छलफल गर्दै आईएमफको टोलीले नेपालको अर्थतन्त्र सुधारकाे दिशामा रहेको निष्कर्ष निकालेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रूपा दत्तगुप्ता, सरवत जहान लगायतको टोली नेपाल आएको थियो । सो टोलीले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरू कार्यान्वयन हुँदै गएकाले अर्थतन्त्र पनि सुधारको दिशामा रहेको निष्कर्ष निकालेको हो ।

यसैगरी, आईएमएफले जुलाईको मध्येसम्म महँगी ३.६ प्रतिशतले घटेको देखाएको छ ।

त्यस्तै, आईएमएफले अर्थतन्त्रलाई दीगो, सबल, र समावेशी आर्थिक वृद्धिको मार्गमा राख्न सुधारको गति बढाउनुपर्ने बताएको छ । यसका लागि सार्वजनिक लगानीको कार्यान्वयनलाई अझ प्रभावकारी र घरेलु राजस्व परिचालनलाई थप सशक्त बनाउनुपर्ने जनाएको छ ।

आईएमएफले बचत र ऋण सहकारी संस्थाहरूमा रहेको जोखिमहरूको सम्बोधन गर्नुपर्नेमा पनि जोड दिएको छ । त्यस्तै, लगानी सहजता ऐनले नेपालको लगानी वातावरणलाई बलियो बनाउने जनाएको छ ।

आईएमएफ टोलीले आईएमएफले १० वटा ठूला बैंकको एसेट पोर्टफोलियो रिभ्यु तत्काल गर्नुपर्ने कुरामा जोड दिएको छ । बैंकहरूको खराब कर्जा बढ्दै गएको तथा पुँजीको अभाव रहेको अवस्थामा निरन्तरको अनुगमन आवश्यक रहेको आइएमएफको भनाइ छ ।

आईएमएफको टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी र अन्य उच्च सरकारी तथा केन्द्रीय बैंकका अधिकारीहरूसँग छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.