सरकारले धेरै योजना र कार्यक्रमहरू बनाए पनि कार्यान्वयन हुन सकेन : निर्देशक सिंह

  २०८१ असोज ९ गते १२:०६     विकासन्युज

काठमाडौं । विज्ञहरूले जलवायु परिवर्तनसँग गरिबी र असमानतालाई जोड्नुपर्ने बताएका छन् ।

मंगलबार महोत्तरीको बर्दीवासमा भएको समुदायमा निर्देशित जलवायु अनुकुलन राष्ट्रिय सम्मेलनमा विज्ञहरूले यस्तो बताएका हुन् । नेपालभर जलवायु परिवर्तनका कारण भइरहेको हानी/नोक्शानी र बढ्दो जलवायु जोखिमहरूप्रति सम्मेलनमा विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

विश्वव्यापी कार्वन न्युनीकरणको लक्ष्य प्राप्त गर्नुको साथै जलवायु अनुकुलनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा विज्ञहरूको जोड छ । कार्यक्रममा बोल्दै प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविणमान सिंहले पानी व्यवस्थापन गर्नसके जलवायु सम्बन्धी अनुकुलनको व्यवस्थापन गर्न सकिने बताए ।

उनले पानीसँग जोडिएका समस्याका कारणले नै जलवायुजन्य जोखिमहरू बढिरहेको जानकारी दिए । उनले पानीको सही व्यवस्थापन गर्नसके आधा जलवायुसम्बन्धी अनुकलन हुने जिकिर गरे ।

अहिलेसम्म भएका जलवायु अनुकूलनका जीविकोपार्जन लक्षित कार्यक्रमहरू धेरै रहेको बताए । निर्देशक सिंहले समुदायमा आधारित अनुकूलनहरूका लागि बहुक्षेत्रीय दृष्टिकोण आवश्यक रहेको उल्लेख गरे ।

निर्देशक सिंहले अहिलेको आर्थिक विकास मोडलले नै असमानताहरु बढाइरहेको पनि बताए । जलवायु परिवर्तनसँग गरिबी र असमानतालाई जोड्दै स्थानीय स्तरमा जलवायुअनुकूलनको काम गर्नका लागि स्थानीय जलवायु वित्तको आवश्यकता औंल्याए।

उनले सरकारले धेरै योजना र कार्यक्रमहरू बनाएको भएपनि कार्यान्वयन हुन नसकेको भन्दै कार्यान्वयन नहुनुमा जलवायु वित्तको अभाव रहेको पनि उल्लेख गरे ।

स्थानीय तह र प्रदेशमा जलवायुसँग सम्बन्धित कानुनहरूको पनि अभाव रहेको उनकाे भनाइ छ ।

जलवायु अनुकूलनका लागि स्वदेशी र अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, स्थानीय, प्रादेशिक र संघीय तहमा जलवायु परिवर्तनलाई सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीमा एकीकृत गर्न आवश्यक रहेको र सरकारले जलवायु अनुकूलनका कामहरूलाई बढावा दिन नीतिगत व्यवस्थाको विकाससँगै पर्याप्त वित्तीय स्रोतको प्रत्याभूति गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, अहिले चलिरहेका अनुकूलनका कार्यक्रमहरू र परियोजनाहरूको स्वतन्त्र मूल्याकंन गरिनुपर्ने र सिकाइहरूलाई सरकारका भावी योजनामा लागू गर्ने सुनिश्चितता गरिनुपर्ने घोषणापत्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.