केयूमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, २ सय विद्वान सहभागी हुने

  २०८१ असोज ९ गते १७:५७     विकासन्युज

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) मा २५औं अन्तर्राष्ट्रिय बहुजातीय साहित्य सम्मेलनको आयोजना हुने भएको छ ।

केयू र बहुजातीय साहित्यसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टी इथ्निक लिटरेचर अफ द वर्ल्ड (एमईएलओडब्ल्यू)’ को संयुक्त आयोजनामा सम्मेलन हुन लागेकाे हाे ।

सम्मेलन असोज ११ गतेदेखि १३ गते (सेप्टेम्बर २७ देखि २९, २०२४) सम्म हुनेछ ।

समय र स्थानको सीमा नाघ्दै साहित्यिक सम्बन्धहरूलाई सुदृढ पार्ने उद्देश्यकासाथ विश्वभरका सांस्कृतिक साहित्य अनुसन्धाता, लेखक, प्राध्यापक, समीक्षक र विद्यार्थीहरू सदस्य रहनेअन्तर्राष्ट्रिय संस्था एमईएलओडब्ल्यू सन् १९९७ मा स्थापना भएको थियाे ।

एमईएलओडब्ल्यूकी अध्यक्ष प्रा. मञ्जु जाइड्का भारतबाट विद्वानहरूको टोलीसहित नेपाल आइसकेकी छन् ।

सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रूपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के-कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुनेछ ।

यो अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा करिब ८० राष्ट्रिय १ सय २० अन्तर्राष्ट्रिय गरी जम्मा दुई सय सहभागीहरू रहनेछन् भने करिब १ सय २० वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।

सम्मेलनको उद्घाटनमा भारतको दिल्ली विश्वविद्यालयका प्रा. कृष्णन उन्नी र नेपालको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. अम्मराज जोशीले मुख्य सम्बोधन गर्नेछन् ।

सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा.रामचन्द्र पौडेल र प्राध्यापक जीवलाल सापकोटा लगायतको समूह छलफल गर्नेछन् ।

प्रस्तुत कार्यपत्रहरूले वातावरण, पहिचान, आध्यात्मिकता, काल्पनिकता, वन-बाटिका, वन्यजन्तु तथा प्राकृतिक दृश्य र सौन्दर्य जस्ता उप-शीर्षकहरूमा भएका अनुसन्धानहरूको चर्चा गर्दै साहित्यिक कृति र जनजातीय परम्पराहरूको विभिन्न पृष्ठभूमिलाई उजागर गर्नेछ ।

सम्मेलनमा पहाड र पर्वतारोहण, समतल क्षेत्र र सम्भावनाहरू, मरुभूमि, उजाडपन, रहस्य, जोखिम, नदी र तिनिहरूका प्रतिबिम्बहरू, महासागरहरू तथा नियात्रा जस्ता विषयहरूसमेत समेटिनेछन् ।

सम्मेलनले साहित्य, संस्कृतिलगायत परिस्थिति र परिवेशको सम्बन्धलाई नयाँ बौद्धिक दृष्टिकोणबाट हेर्दै मानव, संस्कृति र पर्यावरणको सम्बन्धको खोज र विश्लेषणमा नयाँ दिशा दिने विश्वास लिइएको छ ।

यसका अलावा मान्छेहरूको आधुनिक प्रविधिसँग बढिरहेको निकटताबीचको सम्बन्धर विश्वभर फैलिएको व्यवसायिकीकरणको बढ्दो प्रभावलाई समेत सम्मेलनले प्राथमिकता दिने केयूले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.