२०८१ असोज ११ गते १२:२६ सन्तोष रोकाया/सीआर भण्डारी
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा तरलता पर्याप्त छ । ब्याजदर निरन्तर घट्दो क्रममा छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रभाव विस्तारै कम हुँदैछ । देशमा दुई ठूला राजनीतिक दल सम्मिलित सरकार बनेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत खुकुलो नीति अंगिकार गरेको छ । पछिल्लो दुई/तीन महिनाको अवधिमा देशमा पूर्वाधार सम्मेलन भयो । नाडा अटो शो आयोजना भयो । बैंकहरूले सस्तो ब्याजमा आकर्षक कर्जाका स्कीमहरू सार्वजनिक गरिरहेका छन् । यो वातावरणमा पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह किन भइरहेको छैन ? कुनै बेला ऋण पाएनौं भनेर पुर्पुरोमा हात लगाउने व्यवसायीहरू अहिले किन कर्जाको माग गरिरहेका छैनन् ? कर्जामा महँगो ब्याज भयो भनेर गुनासो गर्ने व्यवसायीहरू सस्तो ब्याजदर हुँदा किन ऋण लिइरहेका छैनन् ?
आज हामीले बैंकमा कर्जा माग नहुनुका केही कारणहरू खोजेका छौं । ऋण दिनका लागि तयार रहेका बैंकरहरू व्यवसायीसँगको छलफलमा के कस्ता गुनासो सुन्छन् ? व्यवसायीहरूले उनीहरूसँग ऋण नलिनुका के कारण भन्छन् ? यही जिज्ञासा हामीले राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी निर्देशक (डीईओ) पवन रेग्मीसँग राख्यौं ।
हामीले उनले भनेको कुरालाई जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं ।
अर्थतन्त्र चलायमान बनाउन सरकार, बैंक तथा वित्तीय संस्था र नागरिक (जो ऋण लिन इच्छा व्यक्त गर्छन्न्) को भूमिका हन्छ । सरकारको दायित्व पूर्वाधारमा लगानी गर्ने वातावरण बनाउनु हो । र, काम सम्पन्न भएपछि भुक्तानी दिनु हो । यदि समयमा काम गरेको भुक्तानी प्राप्त गर्याे भने लगानीकर्ताको मनोबल बढ्छ । तर, अहिले सरकारले चाहेर पनि भुक्तानी दिन सकेको छैन । किनभने लक्ष्यअनुसारको राजस्व संकलन भइरहेको छैन । विभिन्न कारणले सरकार आफै अप्ठ्याराे स्थितिमा चलिरहेको छ ।
बैंकहरूसँग पर्याप्त मात्रामा तरलता छ । बैंकहरू ९० प्रतिशतसम्म सीडी रेसियोमा जान सक्छन् । पुँजीका हिसाबले पनि बैंकहरू लगानी गर्न सक्षम छन् । राष्ट्रिय वाणिज्य बैंकले कर्जा प्रवाह हुने गरी दुई/तीन वटा काम गरिरहेको छ । बैंकले ग्राहकलाई सस्तोमा कर्जा दिन आधार दर घटाउने काम गरिहरको छ । ब्याजदर घटेपछि लागत पनि घट्छ । त्यसैले ब्याजदर कम गर्न आधार दर घटाइरहेको छ । र, प्रिमियम शुल्क पनि घटाइरहेको छ । कर्जाको माग बढाउन सकियो भने अर्थतन्त्र पनि चलायमान गर्न सकिन्छ । सरकारको आम्दानी बढेपछि भुक्तानी गर्ने क्षमता बढ्छ ।
तर, कर्जाको माग आएन भनेर हामी चुप लागेर बस्दैनौं । ग्राहकलाई शिक्षित गर्नुपर्ने बैंकको दायित्व पनि हो । बैंकले कर्जा दिन्छ तर, ग्राहकलाई यस विषयमा जानकारी नहुन पनि सक्छ । कर्जाका लागि बैंकमा के–के कागजात आवश्यक पर्छन् भनेर ग्राहकलाई जानकारी नहुन सक्छ । यी सबै विषय ग्राहकलाई जानकारी गराउने काम बैंकले गरिरहेको छ । बैंकले साना किसानलाई मध्यनजर गरेर एक प्रदेश एक विशेष प्रडक्ट ल्याएको छ ।
केन्द्रीय बैंकले कर्जाको माग बढाउन विभिन्न किसिमका प्रयत्न गरिरहेको छ । जस्तो सेयर कर्जामा संस्थागत लगानीकर्तालाई खुला गरिएको छ । केही बैंकलाई पुँजीकोषको दबाब थियो । त्यसलाई पनि केन्द्रीय बैंकले खुकुलो गरेर क्यापिटल चार्जलाई खुला गरेको छ । राष्ट्र बैंकले पनि धेरै हदसम्म नीतिगत सहज वातावरण बनाइदिएको छ । तर, व्यवसायीमा मनोबल बढ्न सकेको छैन । साथै बैंकको एनपीए बढेपछि प्रोभिजन गर्नुपर्ने हुन्छ । जसले गर्दा क्यापिटल चार्जमा हिट भएको हुनसक्छ । एनपीए रिकभर गर्न सकियो भने कर्जा प्रवाह गर्न सहज हुनसक्छ ।
बैंकर रेग्मीको भनाइलाई संक्षेपमा बुझ्दा अहिले व्यवसायीमा मनोबलमा कमी छ । अर्थात् उनीहरूमा अझै पनि कर्जा लिने वा नलिने विषयमा दुविधा छ । विगतमा सरकार तथा नियामकले देखाएको अस्थिर नीतिले उद्योगी व्यवसायी त्रसित छन् । सरकारले आज खुकुलो नीति अवलम्बन गरेर भोलि कडाइ गर्ने हो कि भन्ने आशंका उनीहरूमा छ । सरकारले उनीहरूको मनोबल बढ्ने किसिमको नीति ल्याउन सकेको छैन । मौखिकरूपमा व्यवसायीमैत्री नीति भएको भन्ने वक्तव्यबाजी तथा भाषण गरेपनि व्यवहारमा भने देखिँदैन ।
अहिले अर्को समस्या भनेको बैंकमा भएको खराब कर्जाको हो । बैंकरहरू खराब कर्जाको व्यवस्थापन गर्न सकेका छैनन् । उद्योगी व्यवसायी तथा ऋणीको सम्पत्तिलाई धितोमा सकारेका बैंकरहरूले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा थप कर्जा प्रवाह गर्न पनि आँट गर्न सकिरहेका छैनन् भने आफ्नो सम्पत्ति लिलाम भएका व्यवसायी तथा ऋणीहरूले थप ऋण माग गर्ने हिम्मत गरिरहेका छैनन् ।
यस्तै, एनएमबी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) गोविन्द घिमिरेले पनि बैंकर रेग्मीकै जस्तो धारणा राखेका छन् । उनको भनाइलाई पनि हामीले यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । तरलता पर्याप्त हुँदा पनि किन बैंकबाट कर्जा प्रवाह हुन सकेको छैन ? भन्ने हाम्रो जिज्ञासामा उनले यस्तो धारणा राखे ।
कोरोना महामारीपछि तरलता संकटका कारणले घरजग्गा बजार, सेयर बजार, एसएमई क्षेत्रसहित समग्र अर्थतन्मा ठूलो असर गर्याे । एसएमई क्षेत्रमा साना व्यवसायीहरू हुन्छन् । साना व्यवसायीहरूलाई एकचोटि समस्यामा परेपछि रिभाइभ हुन धेरै गाह्रो हुन्छ । कर्पाेरेट क्षेत्रमा जस्तो एसएमईमा रिभाइवलको सम्भावना कम हुन्छ । अर्थतन्त्रमा बेलाबखत खपतको माग साह्रै कमजोर हुन्छ । अहिले पनि बजारमा वस्तु तथा सेवाको माग नै अपेक्षित रूपमा सुधार हुन सकेको छैन । पछिल्लो समय नयाँ व्यवसाय सिर्जना भएर तत्कालै कर्जाको वृृद्धि हुने अवस्था छैन । हाल सञ्चालन भइरहेका व्यवसायलाई वर्किङ क्यापिटलका आधारमा थपथाप गरेर काम भइरहेको छ ।
केही बैंकहरू टीयर वान क्यापिटलका कारण दबाबमा परेका हुन् । ती बैंकलाई अफ्ठेरो परेको भएर सबै बैंकको कर्जा वृद्धि ठप्प भएको पनि होइन । केही कर्जा वृद्धि भइरहेको पनि छ । अपेक्षित रूपमा कर्जा वृद्धि हुन टीयर वान र टीयर टू क्यापिटलले ठूलो प्रभाव भन्ने हुँदैन । तथापि केही बैंकलाई अप्ठ्याराे परेको हो । त्यसका लागि बण्डको सुविधा दिएर सहजीकरण गर्न सकिन्छ ।
समग्र अर्थतन्त्रमा तत्कालै ठूलो सुधार हुने अवस्था छैन । त्यसैले बैंकहरू पनि नयाँ प्रडक्ट ल्याउन होडबाजी गरिरहेका छैनन् । किनभने बजारमा भएका प्रडक्टमा कर्जाको माग छ । कर्जाको माग नभएसम्म नयाँ प्रडक्ट ल्याउने अवस्था हुँदैन । विगतमा दशैंतिहारको समयमा नयाँ योजना ल्याउँथे । तर, अहिले त्यस्तो छैन । यसपटक विगतको जस्तो एलसी बढेको पनि छैन । पछिल्लो समय बैंकहरू अनुशासित भएर अगाडि बढ्नपर्छ भन्ने किसिमले महसुस गरिरहेका छन् । विगत तीन/चार वर्षको अवधिलाई हेर्ने हो भने बैंकहरूलाई रियलाइजेशन (महसुस) भएर उत्पादनशील क्षेत्र, वास्तविक अर्थतन्त्र, अर्थतन्त्रमा सघाउ पुग्ने क्षेत्र, रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी गरिरहेका छन् । अब यी क्षेत्रमा बैंकको लगानी डाइभर्ट भइरहेको छ । त्यसैले गर्दा दीर्घकालमा सघाउ पुग्ने देखिन्छ ।
बैंकर घिमिरले अहिले बैंकलाई पुँजी कोषको कारणले कर्जा लगानी सक्ने अवस्था नभएको परिदृश्य देखाए । उनले विगतका केही अस्वस्थ प्रतिस्पर्धालाई मनन गर्दै बैंकरहरू सही ट्र्याकमा जाने खोजेको धारणा राखे । वर्तमान सकसको समयमा सरकारले बैंक तथा उद्योगी व्यवसायीलाई दिनुपर्ने रिल्याक्सेसन तथा पर्याप्त बण्डहरू नल्याउँदा पनि कर्जाको माग नभएको हुन सक्ने बुझाइ उनको छ ।
हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनुप मास्के पनि धारणा पनि त्यस्तै छ । उनले पनि कर्जाको माग हुन नसक्नुका केही कारण तथा तर्कहरू राखेका छन् । उनले भनेका छन्-
चलायमान भइरहेको अर्थतन्त्रमा दुई वर्षसम्म मन्दी आयो । त्यो मन्दीमा फसेका मान्छेहरू फेरि लगानी गर्न आँट गरिरहेका छैनन् । जसको असर निर्माण क्षेत्रमा परेको छ । त्यसको प्रभाव सिमेन्ट, डण्डी उद्योगमा परेको देखिन्छ । २० प्रतिशत सिलिङमा काम गरिरहेका छन् । बजारबाट अधिकांशको पैसा उठ्न बाँकी छ । सुधार हुन समय लाग्छ । जबसम्म निर्माण क्षेत्र माथि उठ्दैन तबसम्म त्यसले ठूलो प्रभाव पारिरहनेछ । निजी निर्माणका काम ठप्प छ । । रिटेल गइरहेको छैन । पुँजी कोषको दबाबले पनि बैंकको कर्जा नगएको हुनसक्छ । किनभने बैंकले प्रोभिजन राख्नुपर्ने हुँदा त्यहाँ पुँजी धेरै खान्छ । जबकसम्म रिकभरी हुँदैन तबसम्म सहज हुन अझै समय लाग्छ ।
वर्किङ क्यापिटल गाइडलाइन आउनुअघि सहज थियो । जग्गा, सेयर बजारमा लगानी गइरहेको थियो । जसकारण अर्थतन्त्र चलायमान भइरहेको थियो । जब वर्किङ क्यापिटल गाइडलाइन आयाे तब कर्जा लगानी गर्न असहज भइरहेको छ । देशमा उद्योगहरूको अवस्था राम्रो छैन । निरन्तर हुनुपर्ने निर्माण कार्य रोकिएको छ । सरकारले भुक्तानी दिन सकेको छैन । युवा विद्यार्थीहरू सबै विदेश पलयान भइरहेका छन् । अधिकांशको व्यापार व्यवसाय अप्ठ्याराे स्थितिमा चलिरहेको छ । जसकारण आर्थिक गतिविधि चलायमान हुन सकिरहेको छैन । अप्ठ्याराे स्थितिमा सञ्चालन भइरहेका व्यवसायीहरूलाई कर्जा दिन पनि बैंकहरू हच्किरहेका छन् ।
बैंकर मास्केले पनि नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा गाइडलाइन, निर्माण क्षेत्रमा देखिएको सुस्सता र विदेश पलायन कर्जा प्रवाह नहुनुको मुख्य कारण रहेको सुनाएका छन् । उनले वर्तमान अर्थतन्त्रमा देखिएको सुस्सताले व्यवसायीमा मनोबल नबढ्नु पनि अर्को महत्त्वपूर्ण कारण रहेको धारणा राखे । उनका अनुसार बजारमा वस्तु तथा सेवामा देखिएको सुस्तताले पनि कर्जाको माग हुन सकिरहेको छैन ।
विभिन्न बैंकर तथा विज्ञहरूसँग कर्जा प्रवाह नहुनका कारणहरू खोज्दा समान कारणहरू सुनिए । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले पारेको नकारात्मक प्रभावले अहिलेसम्म उद्योग व्यवसायले लय समात्न सकेका छैनन् । उपभोक्ताले खुलेर खर्च गर्न सक्ने अवस्था छैन । सरकारले पनि वर्तमान समस्या समाधानका लागि पर्याप्त नीतिगत व्यवस्था गर्न सकेको छैन भने गरेका नीतिगत व्यवस्था पनि कार्यान्वयन हुन सकेका छैनन् । यस कारण पनि बैंक तथा वित्तीय क्षेत्रबाट कर्जाको माग हुन सकेको छैन ।
आर्थिक क्षेत्रका विज्ञ तथा बैंकरहरूसँग कुरा गर्दा हामीले कर्जा प्रवाह हुन नसक्नुका केही कारणहरू संक्षेपमा प्रस्तुत गरेका छौं ।
विश्वास तथा मनोबलको कमी
अहिले सबैभन्दा ठूलो समस्या भनेको मनोबलको हो । धेरै बैंकर तथा विज्ञहरूले उद्योगी व्यवसायी, उपभोक्ता तथा बैंकरमा पनि विश्वास र मनोबलको अभाव रहेको सुनाए । अर्थतन्त्रको चक्र विश्वासले चल्ने गर्छ । तर, अहिले वित्तीय बजारमा एकले अर्कालाई विश्वास नगर्ने अवस्थाको सिर्जना भएको छ ।
बैंकहरूले ब्याजदर घटाए पनि फेरि अर्को महिना बढाउने हो कि भन्ने शंका ऋणीमा छ । यो अवस्थाको सिर्जना बैंकरले नै गरेका हुन् । किनकि ब्याजदरको अस्थिर नीतिले ऋणीहरू आजित छन् । ७ प्रतिशत ब्याजमा लिएको ऋण १४ प्रतिशतसम्म पुगेका अनुभवहरू व्यवसायीमा पर्याप्त छन् । त्यसैले पनि अहिले व्यवसायीले जोखिम लिन चाहिरहेका छैनन् । नियामकको अस्थिर नीति पनि यसको एउटा महत्त्वपूर्ण कारण हो ।
ऋणको भारी
व्यवसायीहरूलाई अहिले समस्या भनेको ऋणको छ । विगतमा लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न ऋणीहरूलाई समस्या भइरहेको छ । नियमित किस्ता भुक्तानी गर्न समस्या भइरहेको बेला ऋणीले थप ऋण लिन चाहिरहेका छैनन् ।
अर्को समस्या भनेको ऋणीले लिएको ऋण तिर्न नसक्दा धितो लिलाम भएको छ । आफूसँग पर्याप्त सम्पत्ति तथा धितो नभएकोले पनि व्यवसायीहरूले व्यवसाय विस्तार तथा नयाँ व्यवसायका लागि ऋण लिन सकिरहेका छैनन् । यो अवस्थामा घट्दो वा बढ्दो ब्याजदरले ऋणीलाई कुनै महत्त्व राख्दैन ।
व्यापार व्यवसायमा कमी
अहिले बजारमा नयाँ व्यवसाय थालनी भएको तथा उद्योगीले नयाँ उद्योग खोलेको समाचार तथा सूचना बिरलै सुनिन्छन् । जब बजारमा नयाँ लगानीकर्ता भित्रिन्छन्, उनीहरूले लिने भनेको बैंकबाट ऋण नै हो । बैंकबाट ऋण लिएर नै व्यवसाय सुरु गर्छन् । तर, अहिले बजारमा नयाँ व्यवसाय आउन सकेका छैनन् ।
लगानीका लागि अवसरहरू पनि सीमित छन् । सरकारले लगानी सम्मेलन र पूर्वाधार सम्मेलन गरेपनि त्यसले एउटा निचोड निकाल्न सकेको छैन । विदेशी लगानीकर्ताहरू भित्रिन सकेका छैनन् । देशमा भएका विदेशी लगानीकर्तालाई पनि अनेक किसिमबाट दुःख दिने काम भइरहेको व्यवसायीहरूले गुनासो गरेका छन् । त्यसकारण पनि नयाँ व्यवसायी बजारमा छिर्ने हिम्मत गर्न सकिरहेका छैनन् । सरकारले लगानीका लागि नयाँ क्षेत्रहरू पनि पहिचान गर्न सकेको छैन । जब देशमा नयाँ लगानीका क्षेत्रहरू पहिचान हुँदैनन्, व्यवसायीले पनि कुन क्षेत्रमा लगानी गर्ने भनेर भेउ पाउँदैनन् र बैंकबाट कर्जा पनि प्रवाह हुन सक्दैन ।
लगानीको जोखिम
वर्तमान अर्थतन्त्रको सकस समाधान हुन सकेको छैन । यो समयमा नयाँ व्यापार व्यवसाय सुरु गर्ने आँट व्यवसायीमा देखिँदैन । व्यवसाय सञ्चालन गरिरहेका उद्योगी व्यवसायीले पनि सोचेअनुरूप प्रतिफल पाउन सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाले पनि सेयरधनीलाई लाभांश दिन सकेका छैनन् ।
प्रतिफल नपाउने डरले पनि व्यवसायीले नयाँ व्यवसाय गर्ने तथा व्यवसाय विस्तार गर्न सकिरहेका छैनन् । अधिकांश ठूला व्यवसायीको लगानी सेयर बजारमा पनि छ । अहिले सेयर बजार पनि घटिरहेको छ । सेयर बजार घट्दा लगानीकर्ताले लगानी गुमाइरहेका छन् । त्यसले पुँजी निर्माणमा असर गरिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्रमा पर्दा आर्थिक गतिविधि चलायमान हुन नसकेका हुन् ।
नीतिगत अस्थिरता
नेपाली वित्तीय बजारको महत्त्वपूर्ण समस्या भनेको नीतिगत अस्थिरता हो । राजनीतिक अस्थिरताले नेपालमा नीतिगत अस्थिरताको समस्या सिर्जना गरिरहेको छ । विभिन्न समय व्यक्तिपिच्छे तथा राजनीतिक दलपिच्छे बन्ने नीतिगत व्यवस्थाले उद्योगी व्यवसायीलाई मारमा पारिरहेको छ ।
एक महिना अगाडि बन्ने नीति एक महिनापछि परिवर्तन हुन्छ । यसले व्यापार व्यवसायमा ठूलो असर गर्छ । नीतिगत अस्थिरताको डरले अहिले व्यवसायीहरूले कर्जाको माग गर्न छोडेको व्यवसायीहरू बताउँछन् । विदेशी लगानीकर्तालाई नीतिगत अस्थिरताले थप नकरात्मक असर पर्ने गर्छ । बैंकिङ क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक पनि पछिल्लो समय नीतिगत अस्थिरतामा रुमल्लिरहेकाे छ । तीन महिनाअघि मौद्रिक नीतिमा गरेको व्यवस्था पहिलो त्रैमासिक समीक्षामार्फत परिवर्तन गर्छ । यसले बैंकर मात्रै होइन, व्यवसायीलाई पनि ठूलो असर गर्ने गरेको छ । यिनै कारणले पछिल्लो समय कर्जाको माग हुन छोडेको व्यवसायीहरू बताउँछन् ।
नेपाल चेम्बर अफ कमर्सको निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि अहिले अहिले व्यवसायीमा मनोबलको कमी, युवाको विदेश पलायन, पुरानै कर्जाको व्यवस्थापन र अस्थिर नीति लगायतका कारणले बैंकबाट व्यवसायीले कर्जाको माग नगरेको धारणा राखे ।
‘अहिले आन्तरिक अर्थतन्त्र संकुचित बनेको छ, बजारमा वस्तु तथा सेवाको माग घटेको छ, ब्याजदर सिंगल डिजिटमा भएपनि कहिले यसको दोब्बर पुग्छ ठेगान नै हुँदैन, दैनिक २१ सय युवा विदेश गइरहेका छन्, यसले गर्दा व्यवसायीमा मबोबल उच्च राखेर काम गर्ने वातावरण छैन,’ उनले भने, ‘त्यसकारण पनि कर्जाको माग घटेको हुन सक्छ ।’
निवर्तमान अध्यक्ष मल्लका अनुसार सरकारले यस्तो अवस्था स्थिर नीति ल्याउन आवश्यक छ । ‘सरकारले अस्थिर नीति ल्याउँछ, समयमै सुनुवाइमै पनि हुँदैन, विकास बजेट खर्च हुन सकेको छैन । विकास बजेटको अधिकांश रकम चालु खर्चमै सकिरहेको छ, अब सरकारले व्यवसायीको मनोबल बढाउन आवश्यक छ,’ उनले भने, अब दुई ठूला राजनीतिक दल सम्मिलित सरकारले श्वेतपत्र जारी गर्नुपर्छ ।’
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिसम्म बैंक तथा वित्तीय संस्थाले कुल ५२ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असारदेखि हालसम्म वाणिज्य बैंकको कुल ६५ अर्ब रुपैयाँ कर्जा बढेको देखिन्छ । गत असारमा बैंक तथा वित्तीय संस्थाबाट ५१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । वाणिज्य बैंकको ऋण प्रवाह मात्रै ४६ खर्ब ३१ रुपैयाँ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेल पनि सबै सहज हुँदा पनि कर्जा प्रवाह किन हुन सकेको छैन भन्ने विषयमा आफू पनि अनभिज्ञ नै भएको धारणा राख्छन् । ‘अहिले सबै विषय सहज छ, अर्थतन्त्र सुधारको दिशामा छ, ब्याजदर घटेको घट्यै छ, बैंकमा पर्याप्त तरलता छ । राष्ट्र बैंकले पनि खुकुलो नीति अंगिकार गरेको छ । तर, बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुन सकेको छैन,’ अब सबैले समस्या के हो पहिचान गर्नुपर्छ, ’ उनले भने ।
उनले अब चाडपर्व पनि लागेको र निर्माण क्षेत्रको ठेक्कापट्टाको समय पनि आएकोले अर्थतन्त्र चलायमान हुन सक्ने विश्वास व्यक्त गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.