वर्षाका कारण जिल्लाका अधिकांश सडकहरू अवरुद्ध

  २०८१ असोज १२ गते ५:३५     विकासन्युज

काठमाडौं । निरन्तरको वर्षाका कारण पाँचथरमा मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । वर्षाका कारण उत्तर-दक्षिण तमोर कोरिडोर सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत पाँचथर र धनकुटाको सीमामा पर्ने नाँवा खोलामा बाढी आएको छ ।

बाढीका कारण यो सडकमा बिहीबार सवारीका साधन रोकिँदा यात्रुले सास्ती भोग्नु परेको थियो । शुक्रबार भने प्रहरीले उक्त सडक हुँदै सवारी नचलाउन सूचित गरेको छ । निर्माणाधीन यस सडकमा पर्ने खोलाहरूमाथि पुल बनिसकेका छैनन् । द्रूत मार्ग भएका कारण धेरै सवारीका साधनले यो सडक प्रयोग गर्ने गर्दछन् ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत याङवरक गाउँपालिका–२ स्थित मेवा खोलामा निर्माण गरिएको डाइभर्सनमा पानी सडकको तहमा आएपछि सडक अवरुद्ध भएको छ । सोही गाउँपालिका–३ रिजाल भिरमा समेत पहिरो झरेर यातायात अवरुद्ध भएपछि स्थानीयवासी, जनप्रतिनिधि तथा सडक कालोपत्रको काम गरिरहेका निर्माण व्यवसायीले सडक सञ्चालन गर्ने प्रयास जारी राखेका छन् ।

बाढीले गत वर्ष दोभानेस्थित सडक पुल तथा यस वर्ष याङवरक गाउँपालिका–३ ओयाममा तीनवटा सडक पुल बगाएपछि वर्षा हुनासाथ सडक अवरुद्ध हुने गरेको वडाध्यक्ष बिमल राईले बताए ।

यस्तै, भेडेटार–रबि–राँके सडकको गेलीभञ्ज्याङमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

उक्त सडक सञ्चालन हुन नसकेकाले तत्कालका लागि वैकल्पिक सडक प्रयोगगरी यात्रा गर्न गाउँपालिकाले आग्रह गरेको छ । वैकल्पिक सडकहरू सञ्चालन रहेको पनि गाउँपालिका अध्यक्ष आङदेम्बेले बताए ।

यस्तै, बाढी आएपछि फालेलुङ गाउँपालिकाको केन्द्र थकेपुङ जोड्ने सडकको घुमाउने टारस्थित डाइभर्सनमा पानी सडकको सतहसम्म आएर सडक अवरुद्ध भएको छ । गत वर्ष बाढीले सडक पुल बगाएपछि यहाँ डाइभर्सनबाट सवारी आवागमन हुने गरेको छ । सवारीका साधनको अधिक चाप हुने मेची राजमार्ग भने हालसम्म सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.