साढे ६ सय मेगावाटका १६ आयोजनामा क्षति, खर्ब बढीको लगानी प्रभावित

  २०८१ असोज १३ गते १२:२४     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी-पहिरोले साढे ६ सय मेगावाटका १६ वटा हाइड्रोपावर कम्पनीमा क्षति पुर्‍याएको छ । १६ वटा जलविद्युत आयोजनामा बाढीका कारण क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ ।

इप्पानका अनुसार बाढीका कारण ६५७ मेगावाटका १६ वटा आयोजान आंशिक तथा पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् । यद्यपि जलविद्युत आयोजनामा सञ्चार विच्छेद भएकाले अन्य आयोजनाको विवरण आउन नसकेको इप्पानले जनाएको छ ।

यी १६ आयोजनामा करिब १ खर्बभन्दा बढीको लगानी छ।  बाढीले क्षति पुर्‍याएपछि हाइड्रोपावर लगानीकर्ताहरू चिन्तित बनेका छन् । केही आयोजनामा यसअघिको बाढीले समेत क्षति पुर्‍याएको छ ।

मान्डू हाइड्रोपावरको लगानी रहेको मकवानपुरस्थित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत आयोजनाको पावर हाउस पूर्ण रूपमा क्षति पुर्‍याएको छ ।

यसैगरी, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित पाँचथरमा रहेको २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको पावर हाउस डुबानमा परेको छ । उक्त आयोजना गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो ।

त्यस्तै, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना पुनः क्षतिग्रस्त भएको छ । जुन आयोजना गत वर्षको बाढीले क्षतिग्रस्त भएर पुनर्निर्माण सकिएर सञ्चालनमा आउने तयारीमा थियो ।

साहस ऊर्जाद्वारा प्रवर्द्धित सोलुखुम्बुको ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्समा क्षति भई उत्पादन बन्द भएको इप्पानले बताएको छ ।

त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित इलामको ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति पुर्‍याइ उत्पादन बन्द भएको छ । साथै सगरमाथाको नै लगानी रहेको ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेकाे छ ।

त्यस्तै, पाँचथरको फेमे खोला जलविद्युत आयोजना १ मेगावाटको बाँध र विद्युतगृह पूर्णरूपमा क्षति पुर्‍याएको छ भने लमजुङको सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाटको टेलरेस, इन्टेक र टनेल, सुपरन्यादी जलविद्युत आयोजनाको ४० मेगावाटसम्मको मार्गमा क्षति र प्रोटेक्सन वालमा क्षति पुर्‍याएको छ ।

धादिङको २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत आयोजनाको पहुँचमार्गमा ठूलो क्षति र नु्वाकोटमा रहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको छ ।

पाँचथरमा रहेको १० मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको इप्पानले जनाएको छ । त्यस्तै, १५.१ मेगावाटको सभाखोला बी जलविद्युत आयोजनामा पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको छ ।

साथै पाँचथरकै ६.३ मेगावाटको सभाखोला सी जलविद्युत आयोजना र कास्कीको ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनाको पहुँचमार्गमा क्षति पुर्‍याएको छ ।

नुवाकोटमा रहेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनाको २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा टिप्पर, बेलीब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.