२०८१ असोज १३ गते १२:३५ विकासन्युज
काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धन टेवा दिने उद्देश्यका साथ काठमाडाैंमा आयोजित नेपाल हस्पिटालिटी कन्क्लेभ– २०२४ सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको यस कन्क्लेभमा आतिथ्यता क्षेत्रसँग सम्बद्ध २०० जनाभन्दा बढी सहभागी थिए ।
उनीहरूले हस्पिटालिटी क्षेत्रको वर्तमान चुनौती, अवसर र रणनीतिहरूमाथि घनिभूत छलफल गरेका थिए ।
यसै छलफलको आधारमा निकट भविष्यमै तयार गरी कार्यान्वयनको लागि पर्यटन मन्त्रालयसमक्ष पेश गरिने बृहत स्वेतपत्रले नेपालको आतिथ्यता क्षेत्रको वृत्तिविकासमा योगदान गर्ने आयोजकहरूले विश्वास लिएका छन् ।
बिनस्टक एसिया नेपालले वाटरकम र नेपाल ट्राभलरको साझेदारीमा आयोजना गरेको यस कार्यक्रममा होटल एसोसिएसन नेपालको सहकार्य रहेको थियो ।
नेपाल सरकारले सन् २०२५ लाई ‘विशेष पर्यटन वर्ष’ र विसं २०८० को दशकलाई ‘नेपाल पर्यटन दशक’ घोषणा गरेको परिप्रेक्षमा आयोजित यस कन्क्लेभले सरकारको घोषणालाई कार्यान्वयनमा ल्याइ हस्पिटालीटी क्षेत्रको सम्भावनालाई थप गर्ने उद्देश्यका साथ यस क्षेत्रको नवप्रवर्तन, सहकार्य, आईटी प्रविधि, डिजिटल मार्केटिङ, नयाँ गन्तव्यकाे विकास र प्रवर्द्धन, दिगो पर्यटन, लगानी, नीतिगत सुधार तथा अन्तरउद्योग साझेदारीलगायत विविध विषयमाथि रहेर करिब १० वटा सामूहिक छलछल एवं अन्तरक्रिया चलाएको थियो ।
कन्क्लेभलाई यूएसएडअन्तर्गतको ट्रेन्ड एण्ड कम्पिटेटिवनेस लगायत एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय निजी कम्पनीहरूको सहायता रहेको थियो ।
कन्क्लेभको समापन समारोहलाई सम्बोधन गर्दै यूएसएड नेपालकी सहायक मिसन निर्देशक करेन वेल्चले यूएसएड नेपाल सरकार, स्थानीय समुदाय तथा निजी क्षेत्रका व्यवसायीहरूलगायतसँग साझेदारी गरी नेपालको पर्यटन क्षेत्रको सुदृढिकरणमा प्रतिबद्ध रहेको जानकारी दिइन् ।
बिनस्टक एसिया नेपाल लगायतका संस्थाहरूसँग सहकार्य गरी यस्तो महत्त्वपूर्ण कार्यक्रमको आयोजनामा हातेमालो गरी नेपाली आतिथ्यता र समग्र पर्यटन क्षेत्रको विकासमा योगदान गर्न पाउँदा गौरव महसुस भएको होटल एसोसियन नेपालका अध्यक्ष विनायक शाहले बताए ।
कन्क्लेभका प्रमुख योजनाकार तथा बिनस्टक एसिया नेपालका सहसंस्थापक सुबोध थापाले कन्क्लेभले आउँदा दिनमा पनि यस क्षेत्रको विकास तथा वृद्धिको लागि आवश्यक विषय र मुद्दाहरूको उठान गर्दै सोको समाधानका लागि नेपाल सरकार सरोकारवाला निकायहरूसमक्ष पैरवी गरिरहने जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.