बाढीमा व्यापार : ७० प्रतिशत बढ्यो हवाई भाडा, ७ हजार पर्ने टिकटको मूल्य १३ हजार बढी

  २०८१ असोज १३ गते १४:५१     विकासन्युज

काठमाडौं । हवाई सञ्चालकहरूले बाढीको समयमा हवाइ टिकट मूल्य बढाएका छन् । बिहीबार साँझदेखि परेको निरन्तरको वर्षाले देशको विभिन्न क्षेत्रमा बाढीपहिरो जाँदा सवारीसाधन आवागमन प्रभावित भएको छ । सोही समयको फाइदा लिँदै हवाई सञ्चालकले हवाई टिकटको मूल्य बढाएका हुन् ।

दुई दिनअघि मात्रै काठमाडौंदेखि धनगढीको हवाई भाडा ७ हजार ९ सय रुपैयाँ पर्नेमा आज १३ हजार ३ सय रुपैयाँसम्म कायम गरेका छन् । एकदिनमै हवाई सञ्चालकले ६८ प्रतिशतले टिकटको मूल्य बढाएका हुन् ।

योसँगै काठमाडौंबाट विभिन्न ठाउँमा जाने हवाई टिकट ७० प्रशित बढेको छ । हवाई सञ्चालकले एकतर्फी रूपमा भाडा बढाएपछि अहिले चौतर्फी रूपमा आलोचना भइरहेको छ । बाढीको समयमा ठूलो धनजनको क्षति भइरहेको बेला हवाइ सञ्चालकले हवाइ टिकट बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको हो ।

वायुसेवा सञ्चालक संघले भने यात्रुको चाप बढ्दा मूल्य बढ्ने र चाप घट्दा घट्ने प्रावधानअनुसार नै टिकटको मूल्य निर्धारण गरेको बताएको छ । हवाइ भाडाको मूल्य बढाएको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै एयरलाइन्सका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको बुझिएको छ ।

बाढीसँगै अब दशैं सुरु हुन पनि केही दिनमात्रै बाँकी छ । हवाइ सेवा सञ्चालकहरूले दशैंमा पनि टिकटको मूल्य बढाउने गरेका छन् ।

अहिले पनि सवारीसाधनको आवागमन प्रभावित भएसँगै अब दशैंमा घर जानेहरूले महँगो मूल्यमा हवाइ टिकट काटेर जानुपर्ने बाध्यता देखिएको छ । यसले यात्रुलाई थप आर्थिक भार हुने भएको छ । विगतमा पनि दशैंको समयमा काठमाडौंदेखि धनगढीसम्मको टिकट मूल्य १७ हजार पुग्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.