बाढीले क्षति पुर्याएका जलविद्युतको मूल्यमा गिरावट

  २०८१ असोज १३ गते १८:२६     विकासन्युज

काठमाडौं । बाढी पहिरोको असर पुँजी बजारमा परेको छ । अविरल बर्षाका कारण बाढी पहिरोबाट पुँजी बजारमा सूचीकृत कम्पनीमा क्षति पुर्याएपछि सेयर मूल्यमा गिरावट आएको हो । आइतबार जलविद्युत समूह २.३६. प्रतिशत अर्थात् ६१.४९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

नेप्सेका अनुसार जलविद्यत समूहका रहेका अधिकांश हाइड्रोको सेयर मूल्य घटेको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार २० वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । जसमध्ये १६ वटा जलविद्युत आयोजनामा क्षति पुगेको इप्पानले जनाएको छ ।

विकासन्युृजलाई प्राप्त तथ्याङ्क अनुसार बाढीले क्षति पुर्याएका जलविद्युत कम्पनीहरूमध्ये ९ वटा हाइड्रोपावर पुँजी बजारमा सूचीकृत छन् । अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ ।

मान्डू हाइड्रोपावरले बागमती साना जलविद्युत आयोजनामा लगानी गरेको छ । सो आयोजनामा करिब १ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएपछि त्यसको प्रत्यक्ष असर सेयर मूल्यमा परेको हो ।

नेप्सेका अनुसार मान्डु हाइड्रोको सेयर मूल्य ४.४६ प्रतिशत घटेको हो । विहिबार प्रतिकित्ता ८९०.१० रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर मूल्य आइतबार ५५४ रुपैयाँमा झरेको छ ।

यस्तै माउन्टेन हाइड्रो नेपालको लगानी रहेको तल्लो हेवाखोला जलविद्युतमा करिब २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । लगानी गरेको आयोजनामा क्षति पुर्याएपनि कम्पनीको सेयर मूल्य घटेको छ । माउन्टेनको सेयर मूल्य ७.२१ प्रतिशत घटेर २४३.१० रुपैयाँमा झरेको छ । बिहीबार यस कम्पनीको २६२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बाढीले सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति पुर्याएर बन्द भएको छ । यस कम्पनीमा साहस ऊर्जाको लगानी छ । सोलु दुधकोशीमा लगानी रहेको यस कम्पनीको सेयर मूल्य ४.८४ प्रतिशत घटेर ४५६ रुपैयाँमा झरेको छ । बिहीबार प्रतिकित्ता ४९७.१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य ३.३० प्रतिशत घटेर प्रतिकित्ता ५२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिहीबार कम्पनीको ५४५ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीको लगानी माइखोला जलविद्युत आयोजनामा छ । यस आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ ।

सगरमाथाकै लगानी रहेको माइखोला क्यासकेड जलविद्युतमा पनि करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आइतबार माइखोलाको सेयर मूल्य ४.३९ प्रतिशत घटेर ४५७ रुपैयाँमा झरेको छ । बिहीबार ४७८ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै २ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको माया खोला जलविद्युत आयोजनाको सेयर मूल्य ४.७५ प्रतिशत घटेको छ । बिहिबार ३४१ रुपैयाँ रहेको यस कम्पनीको सेयर मूल्य घटेर ३२५ रुपैयाँमा झरेको नेप्सेले जनाएको छ ।

पाँचथर पावरको लगानी रहेको १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजानामा पनि क्षति पुगेको छ । यसअघिको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउन लागेको थियो । तर, सञ्चालनमा आउन नपाउँदै पुनः क्षतिग्रस्त भएको हो ।

आइतबारको कारोबारमा पाँचथर पावरको सेयर मूल्य ८.२७ प्रतिशत अर्थात् २२ रुपैयाँ घटेर २४४ रुपैयाँमा कायम रहेको नेप्सेले जनाएको छ । बिहीबार यस कम्पनीको २६६ रुपैयाँमा कारोबार भएको थियो ।

दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पुर्याएको छ । विद्युत् उत्पादन बन्द गरिएको छ । कम्पनीको सेयर मूल्य ३.४१ प्रतिशत अर्थात् ७ रुपैयाँ घटेर १९८ रुपैयाँमा झरेको छ । यसअघि बिहीबार कम्पनीको सेयर मूल्य २०५ रुपैयाँमा कारोबार भएको थियो ।

तर, बाढीले क्षति पुर्याएको खानीखोला जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको देखिन्छ । कम्पनीको सेयर मूल्य ०.५१ प्रतिशत बढेर २५८ रुपैयाँमा उक्लिएको छ । बिहीबार २५६.७० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.