बाढीले काबेली करिडोर प्रसारण लाइनका चारवटा टावरमा क्षति, १८५ मेगावाट विद्युत उत्पादन बन्द

  २०८१ असोज १३ गते १७:५०     विकासन्युज

काठमाडौं । इलामको माई नदीमा आएको बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका ४ वटा टावरमा क्षति पुर्‍याएको छ ।

बाढीले प्रसारण लाइनमा क्षति पुर्याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब १८५ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

टावर ढल्नुभन्दा अगाडि उक्त लाइनबाट दैनिक रुपमा १८०–१८५ मेगावाटसम्म विद्युत प्रवाह भइरहेको थियो ।

काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०,५१,५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति पुर्‍याएको छ ।

उक्त स्थानबाट प्रसारण लाइनलाई माई नदी पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीड महाशाखाको टोलीले आइतबार उक्त स्थानको निरीक्षण गरी क्षतिको जानकारी लिएको छ ।

महाशाखाका प्रमुख रोशन खड्काले बाढीले नदीमा रहेको ५१ नम्बर टावरलाई पहिले हानेको र उक्त टावर ढलेपछि तार तानिएर ५०, ५२ तथा ५३ नम्बर टावरलाई क्षति पुगेको बताए ।

प्रमुख खड्काले काठमाडौंबाट सिभिल इन्जिनियर तथा भूगर्भविद् सम्मिलित विज्ञसमूह तथा पाँचथरमा रहेको सर्वे टोली सोमबारसम्ममा फिल्डमा पुग्ने र अवलोकनपश्चात प्रसारण लाइन पुनर्निर्माणका लागि आवश्यक सुझाव दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.