‘दजर्नौं ठाउँमा सयौं रोपनी जग्गा र ४१ वटा कम्पनीमा लगानी छ, प्रतिस्पर्धीको कारण समस्यामा परेँ’

  २०८१ असोज १४ गते १३:५४     विकासन्युज

काठमाडौं । तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष केदार शर्माले आफू प्रतिस्पर्धीको कारण समस्यामा परेको बयान दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समक्ष बयान दिँदै उनले आफू बचतकर्ताभन्दा पनि प्रतिस्पर्धीको कारण समस्यामा परेको बयान दिएका हुन् ।

उनले आफूँसँग ४१ वटा कम्पनी र विभिन्न सहरमा पनि सयौं रोपनी जग्गा रहेकोले जेलमुक्त हुनेबित्तिकै बचतकर्ताको बचत फिर्ता गर्न सकिने धारणा राखेका हुन् ।

उनले नेपालभरि शिवशिखर बहुउद्देश्यीय सहकारीका २६ वटा डिपार्टमेन्ट स्टोर, डरेलधुरामा लालिगुराँसको फुलबाट तेल उत्पादन गर्ने प्लान्ट, सोही स्थानमा फ्रेस भेजिटेवलको कोल्डस्टोर, कञ्चनपुरको बेलौरीमा खाद्यान्न संकलन केन्द्र रहेको बयान दिएका छन् ।

यस्तै, उनले तुल्सीपुर दाङमा सुठो प्रशोधन प्लान्ट, धादिङको गल्छिमा १८ रोपनी जग्गामा निर्माणाधीन मल्टी च्याम्बर कोल्ड स्टोर, भक्तपुर जिल्लामा ८ रोपनी १० आना, कोहलपुरमा साढे चार बिगाह जग्गा रहेको पनि जानकारी गराएका छन् ।

तुलसी बहुउद्देश्यीय सहकारीको झापा, गौरादह नजिक साढे चार विधामा राईस, चिउरा, मुरें, ब्रिकेट प्लान्ट रहेको बताउँदै झापाकै दमक बजारमा ६ तल्लाको तुलसी भवन, विराटनगर नेताचोकमा एक विगाहमा दाल प्लान्ट, उदयपुर गाईघाटमा ५ तल्लाको भवन, उदयपुरकै खाँबुमा ८६ रोपनीमा मल्टी फार्म रहेको बयान दिएका छन् ।

यस्तो छ उनको बयान

आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस्। परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् ।

मेरो बाजे रवीलाल शर्मा, बुबा रत्नाखर शर्मा, आमा मनकुमारी शर्मा, मेरो नाम केदारनाथ शर्मा, मेरो श्रीमती गिता शर्मा हो । छोरा काल्स शर्मा र छोरी केनिया शर्मा पढाईको सिलसिलामा भारत, लखनाउमा बस्दै आएका छन् । मेरो स्थायी ठेगाना जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. ०३ कोहलपुर, हाल जिल्ला काठमाडौ, का.म.पा. वडा नं. ०४ सुकेधारा हो । बाँके जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । ना.प्र.नं. २१७३९/ बाँके हो । हाल म सहकारी ठगी मुद्दामा नख्खु कारागार कार्यालयमा छु ।

तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ?

मेरो शारीरिक अवस्था ठिक छ सोधिएका प्रश्नको जवाफ दिन सक्छु ।

तपाईं आवद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् ।

२०७६ सालसम्म शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष थिएँ । हाल म तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको निलम्बित अध्यक्ष हुँ । तुलसी बहुउद्देश्यीय सहकारी संस्था जिल्ला मोरङ्, बिराटनगर मुख्य कार्यालय रही सेवा केन्द्र झापा दमक, उदयपुर गाईघाट, सिराहा गोलबजारमा रहेका छन् । त्यस्तै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था मुख्य कार्यालय जिल्ला भक्तपुर, कौशलटारमा रही नेपालभर ३६ वटा शाखा कार्यालयहरू रहेका छन् ।

सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ?

डिभिजन सहकारी कार्यालयका सेवानिवृत्त कर्मचारी हरी बशिस्टलाई कानूनी सल्लाकारको रूपमा राखेका थियौं । मलाई सहकारीमा संलग्न उहाँले नै गाउनुभएको हो । सम्पूर्ण कानूनी पाटो उहाँले भनेअनुसार हुने भएकोले सहकारी ऐन र प्रचलित कानून बमोजिम नै सहकारी सञ्चालन गरेका थियौ भन्ने लाग्थ्यो । अहिले कानुनअनुसार नभएको देखियो ।

सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ ?

म २०५२ सालदेखि व्यापारमा आवद्ध थिएँ । कोहलपुरमा ढकाल किराना स्टोर स्थापना गरेको थिएँ । २०५८ मा काठमाडौं आई शान्तिनगरमा ओम शिव स्टोर, होलसेल पसल सञ्चालनमा ल्याएँ । २०६१ सालमा गोरखा टोबाको इन्डष्ट्री, नेपालगञ्जमा गोरखा टी ईन्डष्ट्री अर्जुनधारामा मुख्य कार्यालय काठमाडौंमा रहने गरी सञ्चालन गरेको थिएँ ।

तपाईं मुख्य सञ्चालक रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा को-को हुनुहुन्छ हुनुहुन्थ्यो ?

म २०७६ सालसम्म शिवशिखर कृषी सहकारी संस्था लि.मा अध्यक्ष थिएँ । शिवशिखर कृषी सहकारी संस्था लि. र शिखरदीप सहकारी संस्था लि. मर्ज भएपश्चात् शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. नामकरण भई सोही संस्थामा म स्वयं अध्यक्ष थिएँ र २०७६ सालमा सधारणसभा गरी अध्यक्ष शुशिल बानियाँलाई बनाएका थियौं । त्यसैगरी उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्य पुस्कर मल्ल, अमिष राजभण्डारी, राजु साखकर्मी रहेका थिए । २०७५ सालदेखि म आवद्ध भएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि. मा म अध्यक्ष, उपाध्याक्ष अमिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरू छविलाल वि.क. बन्टी अधिकारी थिए । अन्य पदाधिकारीको नाम हाल मलाई याद भएन । सहकारीको बैठकमा हरी बशिस्ट जानु हुन्थ्यो, सबै कुरा उहाँलाई नै थाहा छ ।

हाल उक्त संस्थाहरू संचालनमा छन् छैन् ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ?

हाल उक्त संस्थाहरू सञ्चालनमा छैनन् । समस्यामा पर्नुको कारण यी संस्थाहरू विगत १०/१५ वर्षदेखि सञ्चालनमा रहेका सहकारी हुन् । २ लाख २५ हजार भन्दा बढी शेयर सदस्य रहेको संस्थामा नेपालमा कोभिड आएपश्चात् काठमाडौंमा रहेका गैतमश्री र देउराली सहकारीमा समस्या आएपछि नेपालमा सहकारीमा बचत गर्दा होसियारी अपनाउने भन्ने नेपाल सरकारको आधिकारिक विज्ञापन नेपाल विज्ञापन बोर्डले विभिन्न मिडियाहरुबाट प्रकाशन गरेपछि धेरै बचतकर्ताहरूले एकै पटक बचत रकम फिर्ता माग्न आउँदा हाम्रो सहकारीले रकम फिर्ता दिन सकेन। बजारमा गरेका लगानी उठाउन नपाउँदा यो समस्या देखिएको हो ।

सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ?

सञ्चालक समितिका सदस्यमा मेरो परिवार तथा नातागोता कोही पनी छैनन्, थिएनन् ।

अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईंं अध्यक्ष रहेको सहकारीको संचालक समितिमा पनि छन् वा छैनन् थिए वा थिएनन् ? यदि थिए भने, उक्त कुरा कानुनसम्मत् हो, होइन ? खुलाइदिनुहोस् ।

२०७४ सालको ऐन नबन्दासम्म दुवै सहकारीमा म अध्यक्ष थिएँ । १ वर्षभित्र एउटा मात्र कायम गर्ने सुचना भएपछि आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारणसभापछि मैले शिवशिखर बहुउद्देश्यीय सहकारी छोडी तुलसी बहुउद्देश्यीय सहकारी संस्थामा मात्र अध्यक्ष रहेको थिएँ । तेजबहादुर तामाङ कल्याण उपकार सहकारीमा सञ्चालकमा रहेको कुरा अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट जानकारी पाएको थिएँ । अन्य कुनै पनि छैनन् ।

सहकारी संस्थाको सञ्चालक समिति साधारण सभाबाट चयन हुनुपर्नेमा तपाईंले सञ्चालकमा नाम राखिदिएका कारण कानूनी उल्झनमा आउनु परेको भन्ने गुनासो समितिमा आएको छ । यसबारे तपाईंको भनाई के छ ?

विगतमा सहकारी राम्ररी चल्दा कर्मचारीहरूबाट सञ्चालक समितिमा बस्न तछाडमछाड हुने गथ्र्यो तर संस्था समस्यामा परेपछि उहाँहरूले त्यस्तो भनाई राख्नु भएको हो ।

सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ?

हाम्रो सहकारीमा कर्मचारी नै सञ्चालक समितिका सदस्य हुने गथ्र्यो । विगत १५/१८ वर्ष मसँग कर्मचारीको रूपमा काम गरेका कर्मचारीलाई मैले विश्वास गर्न सक्ने भएकाले मैले उनीहरूलाई नै संस्थाको सञ्चालक राखेको थिएँ । तर, सञ्चालक भएपछि उनीहरूको कर्मचारीको भूमिका रहँदैनथ्यो ।

सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/थियो वा थिएन ?

देशैभरी २ लाख २५ हजार सेयर सदस्य र ८६ हजार ऋणीहरू छन् । सहकारी संस्थाका सेयर सदस्य बाहेकका व्यक्तिलाई सेयर सदस्य बनाएर मात्र ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थियो ।

सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो ?

तुलसीको कार्यक्षेत्र नेपालभरी नै रहेको हुँदा कार्यक्षेत्रको समस्या आएन । शिवशिखरको कोशी. र मधेश प्रदेशबाहेकको कार्यक्षेत्र भएको हुँदा कार्यक्षेत्रभिका मात्र सदस्य बनाइएको थियो ।

सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुल स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेश गर्नुहोस् ।

नेपालभरी शिवशिखर बहुउद्देश्यीय सहकारीका २६ वटा डिपार्टमेन्ट स्टोर, डरेलधुरामा लालिगुराँसको फुलबाट तेल उत्पादन गर्ने प्लान्ट, सोही स्थानमा फ्रेस भेजिटेवलको कोल्डस्टोर, कञ्चनपुरको बेलौरीमा खाद्यान्न संकलन केन्द्र छ । डिपार्टमेन्ट स्टोरको विभिन्न स्थानमा जम्मा १३ वटा भवन रोका छन्, तुल्सीपुर दाङमा सुठो प्रशोधन प्लान्ट, धादिङको गल्छिमा १८ रोपनी जग्गामा मल्टी च्याम्बर कोल्ड स्टोर बन्दै थियो, भक्तपुर जिल्लामा ८ रोपनी १० आना, कोहलपुरमा साढे चार बिगाह जग्गा रहेको छ । तुलसी बहुउद्देश्यीय सहकारीको झापा, गौरादह नजिक साढ़े चार विधामा राईस, चिउरा, मुरें, ब्रिकेट प्लान्ट रहेको छ र झापाकै दमक बजारमा ६ तल्लाको तुलसी भवन, विराटनगर नेताचोकमा एक विगाहमा दाल प्लान्ट, उदयपुर गाईघाटमा ५ तल्लाको भवन, उदयपुरकै खाँबुमा ८६ रोपनीमा मल्टी फार्म रहेका छन् ।

तुलसी बहुउद्देश्यीय सहकारीको बचत १४५ करोड, ११२ करोड आफ्नै निजी सम्पत्ति, ३० करोड ऋण प्रवाह गरेको र सहकारी बैंकबाट लिएको ऋण साढे ७ करोड छ । शिवशिखर बहुउद्देश्यीय सहकारीको बचत ९४७ करोड, २२५ करोड आफ्नै निजी सम्पत्ति, ७२२ करोड ऋण प्रवाह गरेको र १० करोड सहकारी बैकबाट लिएको ऋण लिएको छ । मसँग सम्बन्धित १८ वटा उत्पादन कम्पनी र २३ वटा ट्रेडिङ कम्पनी गरी जम्मा ४१ वटा कम्पनीहरू रहेका छन् ।

अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग खुलाउनुहोस् ।

गाउँका साना सहकारीहरूले शिवशीखरमा बचत खाता खोलेर रकम जम्मा गर्ने गरेका थिए । हामीले अरुकोमा रकम राखेका थिएनौं ।

तपाईंले म शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष तथा सो सहकारीको लगानीमा संचालित शिखर दीप एग्रो प्रा.लि.को एकल संस्थापक सञ्चालक रहेको हुँदा चितवनमा व्यापार व्यवसायका लागि घरजग्गा आवश्यक रहेको बताई मेरो घरको छ करोड मूल्य गरी संस्थाका कर्मचारी शिव शर्मालाई अख्तियारी दिई मेरो खातामा रकम जम्मा गरेको भन्ने भौचर देखाई मेरो घर समेत रजिष्ट्रेसन पारित गराई लिई उक्त रकम मेरो खातामा जम्मा नगराई ठगी गरेको भन्ने समेत व्यहोराको शान्ता अधिकारीको निवेदन यस समितिमा प्राप्त भएको छ ? निजलाई रकम जम्मा गरेको भनी झुक्याई किन ठगी गर्नुभएको हो ?

निवेदक शान्ता अधिकारीका पति भोजराज पौडेल शिवशिखरका उपाध्यक्ष हुन् । शिवशिखर सहकारी संस्थाबाट उहाँले लिएको ऋण गितानगर, नारायणघाटको जग्गा बेची तिर्न सहमति गरी उक्त जग्गा शिखरदीप एग्रो प्रा. लि. को नाममा पास गरी, निजको शिवशिखर संस्थाबाट लिएको ऋण चुक्ता गरी बाँकी रकम शिखरदीप एग्रो प्रा.लि ले एकान्टपेयी चेकमार्फत निजलाई पेमेन्ट गरेको हो। उहाँको श्रीमान् हाल फरार हुनुहुन्छ ।

सहकारी संस्थाबाट उक्त कम्पनीमा के कति रकम लगानी गर्नुभएको छ ? सहकारीका लगानी रहेका अन्य के-कति कम्पनी रहेका छन् ? खुलाई दिनुहोस् ।

मेरा ४१ वटा कम्पनी मध्ये ९ वटा कम्पनीमा ऋण लगानी रहेको छ । ३०० करोड बराबरको लगानीमा ब्याज जोडेर हाल ४३४ करोड बराबरको रकम मैले तिर्न बाँकी छ ।

तपाईंको स्वामित्वमा गोरखा टि एण्ड कफी इन्डस्ट्रिज, फोर स्टार ग्रुप, गोरखा सोप एण्ड केमिकल इन्डस्ट्रिज, गोर्खा गोल्डेन ट्रेड, गोर्खा बेभरेज, गोर्खा स्पाइस एण्ड फुड प्रोडक्ट, शिखर मेसिनरी एण्ड अटोमोबाइल, नटराज एग्रो, तुलसी मोटर पम्प इन्डस्ट्री, तुलसी कृषि अनुसन्धान केन्द्र, गार्डेन मार्ट, शिबशिखर इन्भेष्टमेन्ट उपकार मिडिया ग्रुप, उपकार गार्मेन्ट, शिखर मिनरल वाटर एण्ड वेभरेज, उपकार आयल इन्डस्ट्रिज, हिमालयन कन्स्ट्रक्सन एण्ड मल्टी सोलुसन, उपकार लाइफ इन्सोरेन्स कम्पनी, उपकार जेनेरल इन्सोरेन्स कम्पनी, तुलसी फुड इन्डस्ट्रिज, नटराज फुड इन्डस्ट्रिज, शिखर ग्रुप सेक्युरिटी सर्भिस, उपकार फाउण्डेसन, उपकार अगरबत्ती उद्योग, तुलसी माहुरी फार्म, तुलसी कफी उद्योग, तुलसी काउ फार्म एण्ड डेरी, उपकार एक्सपोर्ट इम्पोर्ट शिखर प्रेस, न्यूज अखवार मिडिया, युरोप ओभरसिज स्टडिज कन्सल्टेन्सी, शिखर स्पाइस फुड एण्ड इन्डस्ट्रिज, शिव शिखर एग्रो, शिखर दीप फुड इन्डस्ट्रिज, शिखर अर्गनाइजेसन, शिखर दीप एग्रो समेतका के–कति कम्पनीहरू रहेका छन् ? ति कम्पनीमा लगानी गर्ने तपाइको आर्थिक स्रोत के हो ?

यी सबै शिशिखर र तुलसी सहकारी संस्थाले आफैले स्थापना गरेका व्यापार हुन् । म सहकारीमा आवद्ध हुनुभन्दा अगाडी ९ वडा कम्पनीहरू रहेका थिए । जसमध्ये २ वटा मेनुफेक्चर र अरु ट्रेडिङ कम्पनी रहेका थिए । बाँकी कम्पनीहरू २०६५ सालपछि सोलिएको थियो । सहकारीलाई इस्पोर्ट एक्सपोर्ट र ब्राण्डिङ्ग गर्न अनुमति नभएकोले काम गर्नका लागि प्रा.लि.हरू खोलिएका हुन् । तर, सहकारी र प्रा. लि. कम्पनीहरू सँग सँगै लगेर काम गरेको हो ।

त्यसरी सहकारीबाट कम्पनीमा लगानी गर्न मिल्छ त ?

कानुनमा नमिल्ने रहेछ तर बहुउद्देश्यीय बनाएपछि मिल्छ कि भनी गरेको हो । कानुनले मिल्दैन भन्ने थाहा भएको भए हामी त्यसो गर्ने थिएनौं ।

तपाईं अध्यक्ष रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि.को कूल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार रहेकोमा संस्थाको ऋण तथा लगानी भएको भनी लेखांकन भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजारलाई कूल निक्षेपबाट घटाँउदा देखिने अन्तर रकम १६ करोड ९७ लाख ४२ हजार केदारनाथ शर्माले संस्थाको हिसाब एवं वित्तीय विवरणमा प्रविष्ट नगरी सोझै अपचलन गरेको देखिन्छ, किन गर्नु भएको हो ?

उक्त विषय २०८० सालको साधारण सभाको प्रतिवेदनमा उल्लेख भएको छ । यस विषयमा मलाई जानकारी भएन र मैले अपचलन गरेको पनि होईन ।

तपाईंले आफ्नो नाममा भएको विभिन्न ९ वटा कम्पनीहरू तुलसी राइस एण्ड चिउरा उद्योगमा ३६ करोड ५५ लाख ६४ हजार गार्डेन मार्टलाई २७ करोड ९२ लाख २१ हजार तुलासी अनुसन्धान केन्द्रमा ४ करोड ३ लाख ४४ हजार गोरखा टि एन्ड कफी उद्योगमा २ करोड १५ लाख ७८ हजार र तुलसी मोटर प्रा.ली. मा २४ करोड ५ लाख ५७ हजार लगायतका अन्य कम्पनीहरूमा समेत ऋण दिएको देखिन्छ ? सहकारी मूल्य मान्यता र कानुनले यसो गर्न मिल्छ ?

माथी उल्लिखित कम्पनीहरूमध्ये गोरखा टि एण्ड कफी गद्योगमा ऋण लगानी गरेको हो र अन्य कम्पनीहरू सहकारी संस्था अन्तर्गतका कम्पनीहरू हुन् तर सहकारी संस्थाले मालसामानआयात गर्न र प्रान्डिङ्ग गर्न कानुनसम्मत नभएको हुँदा मेरो नाममा कम्पनी दर्ता गरी सामान आयात गरी सोही संस्थालाई दिएको हो ।

कुनै सहकारी संस्थाले आफ्ना १५ गुणाभन्दा बढी बचत जम्मा गर्न नपाउने व्यवस्था सहकारी ऐनमा रहेता पनि संस्थाले १७.६ गुणा बढी बचत किन जम्मा गर्नुभएको हो ?

शेयर पुँजीको १५ प्रतिशतको सीमाभित्रै छ भन्ने मलाई लाग्छ ।

संस्थाका सदस्यहरूबाट ठूलो मात्रामा बचत रकम जम्मा गरेको र सोमा ब्याज समेत लेखांकन भएकोले सो बचत रकमको श्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्य कसरी पुष्टी गर्नुहुन्छ ?

बचतकर्ताले रकम जम्मा गर्दाका बखत पेस गरेका कागजातहरूमा आफैं स्रोत खुलाएर ल्याएको कागजातहरू कार्यालयमा राख्ने गरेका छौं तर त्यसको भेरीफाई गर्ने गरेका थिएनौं ।

सदस्यहरूलाई (कम्पनी समेत) दिइएको कूल ऋण रकमको ८९.९८४ जति ऋण रकम ठूला ऋणीहरूलाई दिनु भएको छ । यो कानुनसम्मत छ त ?

अन्दाजी ९० प्रतिशत ऋण ठूला ऋणीहरूलाई दिन नमिल्ने थियो । मलाई त्यसो भएको छैन भन्ने लागेको थियो, यस्तो देखिन्छ भने यो गलत भयो ।

एकै ऋणी शिखरदीप एग्रो प्रा. लि. लाई २५ वटा फाइल खडा गरी जम्मा ऋण रकमको ४० प्रतिशत ३ अर्ब ३३ करोड २१ लाख बराबरको ऋण रकम के उद्देश्यले दिइएको हो ? साथै सो ऋणको हाल अवस्था के कस्तो छ ऋणीले साँवा र ब्याज समय समयमा तिरी रहेको छ कि छैन ?

संस्थाले गरेको व्यापारलाई अगाडि बढाउनका लागि ऋण रकम दिएको थियो । संस्था बन्द नभएसम्म साँवा र ब्याज तिरिरहेको थियो ।

गार्डेन मार्ट प्रा.लिलाई  ७१ करोड ८१ लाख र शिखर ओर्गनाइजेसन लि. लाई रु. ५७ करोड १२ लाख गरी जम्मा रकम १ अर्ब २८ करोड ९४ लाख के उद्देश्यले दिइएको हो ? साथै सो ऋणको हाल अवस्था के कस्तो छ ऋणीले साँवा र व्याज समय-समयमा तिरीरहेको छ कि छैन ?

पटक-पटक गरी ऋण प्रवाह भएको थियो। संस्था बन्द नभएसम्म साँवा र ब्याज तिरी रहेका थियौं ।

ब्याज रकम पूँजिकृत गर्नु भएको छ कि छैन ?

ब्याज रकम पूंजिकृत गरको छैन ।

बैंक मौज्दात ९३ लाख ९१ हजार रुपैयाँ बराबरको देखिएता पनि सोको प्रमाणित कागजात किन नभेटिएको ?

सिस्टममा ९३ लाख ९१ हजार रुपैयाँ बराबरको देखिएता पनि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने कममा हेर्दा २६ करोड बराबारको रकम देखिएको थियो ।

सहकारी सम्बन्धी वा कुनै फौजदारी कसुरमा थुना वा कैदमा पर्नु भएको छ वा छैन ? परेको भए हाल उक्त मुद्दा के कुन अवस्थामा छ ?

म सहकारी ठगी मुद्दामा नख्खु कारागारमा छु । हाल १६ ओटा जिल्लामा सहकारी ठगी र काठमाडौं उपत्यकामा सहकारी ठगी सम्बन्धी कसुरमा संगठित अपराध मुद्दा चलिरहेको छ ।

विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ?

यस्तो समस्या समाधान गर्न सकिन्छ । बचतकर्ताले भन्दा प्रतिष्पर्धीहरूले गर्दा समस्या बढेको हो । कारागारभित्र बसेर समस्याको समाधान गर्न सकिँदैन । म बाहिर निस्कन पाए र सुरक्षाको प्रबन्ध भएमा १ वर्षभित्र समस्या समाधान गर्न सक्छु । हाम्रो एउटा कुनै कम्पनी बेचेर मात्र पनि सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिएर सहकारी पुनः सञ्चालन गर्न सक्छु ।

तपाईं मुख्य सञ्चालक रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि. र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिको समस्या समाधान गर्न तपाई, तपाईको परिवार सरकार, कर्जा लिएको बैले के-के गर्नु पर्ला ?

मैले पैसा कमाउनको लागि मात्र सहकारी स्थापना गरेको होइन । तर व्यापार गर्नका लागि सहकारीलाई गाउँ-गाउँ पुयाएको थिएँ । बैकले मेरा केही उद्योगहरू एनपीए गरेको छ, ती उद्योगहरू केही समय दिएर सञ्चालन गर्न दिनुपर्ने, म सम्पूर्ण समस्याहरू समाधान गर्न सक्ने हर प्रयासहरू गर्न तयार छु ।

तपाईको थप भन्नु केही छ ?

सबै सहकारी नराम्रा छैनन् । राम्रा सहकारीलाई चलाउन दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.