बुधबारदेखि घरेलु उद्यमी मेला र दशैं महोत्सव आयोजना हुँदै

  २०८१ असोज १४ गते १५:११     विकासन्युज

काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ ।

यसअघि असोज १३ गते आइतबार तय भएको मेला प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्को कारणले गर्दा १६ गते बुधबारबाट गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहने उनले बताए ।

लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.