काभ्रेको रोशीमा अलपत्र परेका यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिँदै

  २०८१ असोज १४ गते १७:१७     विकासन्युज

काभ्रेपलाञ्चोक । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिको सीमास्थल चौकीडाँडामा शनिबार करिब दुई सय मिटर सडक रोशी खोलाको बाढीले बगायो । सडक सम्पर्क टुटेपछि यात्रु बाटोमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुको आइतबारदेखि हेलिकप्टरबाट उद्धार गर्न थालिएको छ ।

राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दुरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ । नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ को सीमास्थल उक्त स्थानमा रोशी खोलाको बाढीले कटान गर्दै करिब दुई सय मिटर सडक बगाएको हो ।

माथि ठूलो भीर भएको र रोशी खोलाको बहावका कारण आइतबारसम्म कुनै पनि स्थानबाट पैदलसमेत आवतजावत गर्न सकिएको थिएन । पानीको बहाव घट्दै गएपछि सोमबार भने रोशी क्षेत्रमा अलपत्र यात्रु हिँडेरै गन्तव्यतर्फ जान थालेका छन् ।

बाढीबाट सबैभन्दा बढी रोशी गाउँपालिका प्रभावित भएको छ । सडक सम्पर्क टुटेपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको छ । सोमबार दिउँसोसम्म रोशी क्षेत्रलगायत स्थानमा फसेका चार सय यात्रुलाई सेनाको हेलिकप्टरमा उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताए ।

आइतबार तीनवटा हेलिकप्टरमार्फत रोशी गाउँपालिका, कोशीपूर्वस्थित भुम्लु, तेमाल गाउँपालिका र पनौतीको रोशी क्षेत्रबाट घाइते, बिरामीलगायतलाई उद्धार गरिएको उनले बताए ।

‘आज पनि बिहानैदेखि हेलिकप्टरमार्फत यात्रुको उद्धारकार्य जारी छ । हेलिकप्टरले उद्धार गर्न जाँदा राहत सामग्री बोकेर जाने र आउँदा विभिन्न स्थानमा अलपत्र परेका यात्रुलाई उद्धार गरिरहेको छ,’ सहायक प्रजिअ पौडेलले भने ।

रोशी खोलाको बाढीले सडक मात्रै बगाएन, स्थानीयको करिब तीन सय रोपनी खेतसमेत कटान गरेको छ । स्थानीय गोविन्द गौतमले बाढीले बस्ती नजिकको झोलुङगे पुलसमेत बगाएको बताए ।

‘हामी दैनिक कामको सिलसिलामा नमोबुद्धको भकुण्डे बजार र सदरमुकाम जानुपथ्र्यो, सडक नै बगाएपछि कतैबाट पनि जान सकिने अवस्था छैन,’ उनले भने । शनिबार बिहानैदेखि उर्लेको रोशी खोलाको बाढीले कटान गर्दै उक्त सडक बगाउँदा नजिकका बस्तीका बासिन्दा त्रासमा रहेको उनले बताए ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ रोशीको माम्तीका भ्याकुरे खोलाको बाढीले ह्युमपाइपसहित बगाएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार उक्त स्थानबाट पूर्वतर्फ जाने यात्रुको हेलिकप्टरबाटै उद्धार गर्नुपरेको छ ।

राजमार्गको मङ्गलटार क्षेत्रमा एक सय मिटर सडक पुरिएको छ भने राजमार्गकै नार्के बजारमा रोशी खोलाको बाढीले कटान गरी १२ घर बगाएको छ । रोशीमा बाढीका कारण ११ जनाको मृत्यु भएको छ ।

‘बाढी पहिरोले बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । उक्त क्षेत्रको विभिन्न स्थानमा सडक कटान गरेको छ भने सडक पुरिएको अवस्थामा रहेको स्थानीय रत्न लामाले बताए । सडक ठप्प छ, विद्यालय बन्द छन्,’ उनले भने । पहाडी क्षेत्र भएकाले पहिरो त्रास रहेको लामाले सुनाए ।

चौकीडाँडामा सडक भत्केपछि पैदलयत्रासमेत गर्न कठिन भएको स्थानीय राजेन्द्र श्रेष्ठले बताए । ‘सदरमुकामसँगको सम्पर्क टुटेको छ, गाउँमा बिजुली छैन, टेलिफोन गर्नसमेत समस्या छ,’ उनले भने । श्रेष्ठका अनुसार बगेको सडक पुनःनिर्माण गर्न समय लाग्ने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार काभ्रेपलाञ्चोकमा हालको बाढीपहिरोबाट ५७ जनाको मृत्यु भएको छ भने ५२ जना घाइते भएका छन् । सोमबार दिउँसोसम्म ३ हजार २ सय ७४ जनाको उद्धार गरिएको छ । चार जना अझै बेपत्ता रहेका प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।

उनका अनुसार जिल्लाका प्रभावित क्षेत्रमा खोज तथा उद्धारकार्य जारी राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.