राजधानी भित्र्याइने फलफूल र तरकारीको परिमाणमा वृद्धि, मूल्य पनि घट्ने

  २०८१ असोज १४ गते १८:११     विकासन्युज

काठमाडौं । बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा फलफूल तथा तरकारीको उपलब्धतामा सहज हुँदै गएको छ । वर्षा र बाढीको प्रभावले फलफूल तथा तरकारी भित्र्याउन नसकिएपछि राजधानीमा अभाव हुँदै गएको थियो ।

फलफूल तथा तरकारीको परिमाण भित्र्याउने क्रम आजदेखि बढ्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्र्याइएको थियो । आइतबार एक सय ७९ टन फलफूल र तरकारी भित्र्याइएको थियो ।

सोमबार दिउँसोसम्म चार सय ५० टन फलफूल तथा तरकारी भित्र्याइएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । राजमार्ग खुलेर सवारी चल्न थालेपछि राजधानी ल्याइने फलफूल तथा तरकारीको परिमाण वृद्धि हुन थालेको हो ।

तरकारी फलफूल भित्र्याउने क्रम बढेसँगै मूल्य पनि घट्ने समितिले जनाएको छ । सामान्य अवस्थामा राजधानीमा छ सय देखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्र्याइने गरेको उनले बताए ।

पूर्वी एवं मध्य नेपालमा तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएपछि राजधानीमा फलफूल तथा तरकारी ल्याउन कठिनाइ भएको हो । थोरै परिमाणमा मात्र ल्याइएपछि फलफूल र तरकारीको मूल्य वृद्धि भएको थियो ।

सवारी खुलेसँगै जाममा बसेका सवारीसाधन भित्रने क्रम बढेको छ । जाममा फसेका सवारीले बोकेका तरकारी केही मात्रामा बिग्रिएको जनाइएको छ । मंगलबारदेखि भने ताजा तरकारी र फलफूल राजधानी भित्र्याइने समितिले जनाएको छ ।

राजधानीमा धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, मधेश प्रदेशका केही जिल्लाबाट फलफूल तथा तरकारी ल्याउने गरिएको छ । मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी ल्याउने गरिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.