नेपाली मुद्राको चिरफार र नयाँ नोट वितरणमा रोक

  २०८१ असोज १५ गते १०:१५     श्याम खतिवडा

नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि सरकारी कारोबार सदरमुलुकी खानाबाट हुने गरेको थियो । विसं १९९४ सालमा नेपाल बैंकको स्थापनापछि नेपालको पनि आफ्नै कागजी नोट हुनुपर्छ भन्ने बहस हुन थाल्यो । त्यस समयमा चाँदीका डबल, मोहर र अन्य धातुका मुद्रामा आर्थिक कारोबार हुने गरेको थियो । सिक्काको प्रयोग बढी थियो । तर, दोस्रो विश्वयुद्धपछि सुनचाँदीको अभाव हुन थाल्यो भने मान्छेको क्रयशक्ति पनि बढ्दै गयो ।

एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नुपर्ने, कतै जग्गा जमिन वा सम्पत्ति खरिद गर्नुपरेपछि सिक्का नै बोकेर जानुपर्ने स्थिति थियो । धेरै सिक्का बोक्दा समस्या हुने र चाँदी कोषको अभाव भएपछि कागजी नोट निष्कासन गर्नुपर्छ भन्ने अनुभूति राणा प्रशासकहरूलाई भयो । १९९९ सालमा तत्कालीन राणा प्रधानमन्त्रीले ब्रिटिस दूतावास (हाल भारतीय दूतावास) मार्फत ‘नोट निष्कासनका लागि प्रक्रिया अघि बढाइदिनुपर्‍याे, नोट छाप्न रिजर्भ राख्न तयार छौं’ भनेर लिखित पत्र पठाइयो ।

राजा त्रिभुवन वीरविक्रम शाह र प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाको पालामा एउटा इस्तियार जारी भयो । २००२ साल भदौ ३० गतेको गोरखापत्रमा एक इस्तिहार जारी गरी विसं २००२ असोज १ गतेदेखि ५, १० र १ सय दरका मोहर रुपैयाँ (मोरु) चलनचल्तीमा ल्याइएको थियो । त्यसपछि २०१० भदौ १९ गते १ दरका मोरु नोट प्रकाशनमा आयो । २०१३ बैशाख १४ गतेका दिन राष्ट्र बैंकको स्थापना भयो । तर, राष्ट्र बैंक स्थापना हुनुभन्दा अगाडि १, ५ , १० र १ सय दरका ४ प्रकारका नोट बजारमा आइसकेका थिए । नेपाली रुपैयाँका नोट पहिलो पटक सदरमुलुकी खानाबाट निष्काशन भएका हुन् ।

२०१६ फागुन ७ गते नेपाल राष्ट्र बैंकले पहिलो पटक नोट निष्कासनमा ल्याएको हो । त्यतिबेला राष्ट्र बैंकको गभर्नर हिमालय शमशेर जबरा थिए । त्यसपछि देशको आवश्यकताअनुसार विभिन्न समयमा २ रुपैयाँ, २० रुपैयाँ, २५ रुपैयाँ, ५० रुपैयाँ, २५० रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ दरका नोटहरू प्रकाशनमा आए । राष्ट्र बैंकले यस अवधिमा १० रुपैयाँ दरका पोलिमर नोटसहित ११ प्रकारका नोट चलनचल्तीमा ल्याएको देखिन्छ । तर, हाल १ रुपैयाँ, २ रुपैयाँ, २५ रुपैयाँ र २५० रुपैयाँ दरका नोट बजारमा चलनचल्तीमा रहेपनि प्रकाशन गर्न बन्द गरेको छ भने ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ, १ सय रुपैयाँ, ५ सय रुपैयाँ र १ हजार रुपैयाँ दरका नोट चलनचल्तीमा छन् ।

सरकारी कामकाजमा भारतीय नोट

तत्कालीन समयमा नेपाली नोट चलनचल्तीमा आउनुभन्दा अगाडि भारतीय रुपैयाँ देशमा चल्ने गरेका थिए । पहाडी भूभागमा चाँदीका मोरु सिक्का प्रचलन थिए भने तराई क्षेत्रमा भारतीय नोट चलनचल्तीमा थिए । राष्ट्र बैंक स्थापना भएर नेपाली नोट चलनचल्तीमा आएको लामो समयसम्म भारतीय सीमा क्षेत्रमा भारु नै बढी कारोबार हुने गरेको थियो । त्यस क्षेत्रमा नेपाली रुपैयाँलाई स्वीकार गर्न नखोज्ने अभ्यास थियो । तर, राष्ट्र बैंकले विभिन्न नीति, नियम, ऐन कानुन बनायो र समुदायस्तरमै गएर जनचेतनामूलक सूचना जारी गरेपछि मात्रै नेपाली नोटको प्रयोग बढेको हो ।

सिक्काको स्वामित्व र उत्पादन 

१९८९ मा नेपालमै टक्सार स्थापना भएको थियो । त्यही टक्सारमार्फत चाँदीका सिक्का छपाइ हुन्थे । तत्कालीन नेपाल सरकार (राणा सरकार)ले सिक्काको छपाइको काम गर्थ्याे । छपाइ भएका सिक्कालाई सरकारी कोषमा दाखिला गरिन्थ्यो । सरकारी कोष भनेको सदरमूलकी खाना हो । सदरमूलकी खानामा दाखिला भएपछि सिक्काहरूलाई आवश्यकताअनुसार बजारमा चलनचल्तीमा ल्याउँथे । साथै त्यससमयमा देशका विभिन्न ठाउँ पाल्पा टक्सार, भोजपुर टक्सार, धनकुटा टक्सार लगायत तराई क्षेत्रमा समेत टक्सार सञ्चालनमा थिए । टक्सारबाटै सिक्काको उत्पादन हुन्थ्यो । साथै सुन्दरीजलमा पानीघट्टमा मेसिन जडान गरी सिक्का उत्पादन गरिएको इतिहास छ ।

टक्सार स्थापना हुनुभन्दा अगाडि पनि सिक्का उत्पादन भइरहेका थिए । लिच्छविकालीन राजा मानदेवकै पालामा सिक्का चलनचल्तीमा आएको थियो । त्यो नै मौद्रिक इतिहासको पहिलो प्रमाणित मानाङ्क मुद्रा हो । त्यसैगरी, अंशुवर्मा, नरेन्द्रदेव, जिष्णुगुप्तको समयमा पनि मुद्रा आएका थिए । लिच्छिवीकालीन पछि मल्लकालीन मुद्रा निष्कासनमा आए । शाहकालीन पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्र शाहको पालासम्म विभिन्न दर र किसिमका मुद्राहरू प्रचलनमा आएका छन्। सरकारी स्तरमा सुन्धारामा १९८९ मा टक्सारको स्थापना भएपछि त्यहाँबाट विभिन्न प्रकारका अत्याधुनिक सिक्का प्रचलनमा आएको हो ।

त्यसपछि नेपाली रुपैयाँमा रुपान्तरण

पहिला मोहर रुपैयाँ (मोरु) चलनचल्तीमा थियो । ठूलो पैसा वा सानाभन्दा माथिको आकारलाई मोहर भन्ने चलन थियो । जस्तो भारतीय रुपैयाँलाई भारु भनेजस्तै मोहर रुपैयाँलाई मोरु भनिन्थ्यो । अब मोरुलाई नेपाली रुपैयाँ भन्नुपर्छ र चलनचल्तीमा ल्याउनुपर्छ भनेर नेपाल सरकारले २०१५ चैत ३ गते निर्णय गरेको देखिन्छ । अब मोहर रुपैयाँ (मोरु) नभनिकन नेपाली रुपैयाँ (नेरु) भनी चलाउन सबै मन्त्रालय, विभाग, अड्डा अदालतलगायत र आर्थिक लेनदेन गरिने कागज, कारोबार र लिखतमा पनि चलाउनु भनेर श्री ५ को सरकारले निर्णय गर्‍याे ।

तर, नेरु लेखिएको भएपनि नोटमा भने रुपैयाँ शब्द मात्रै लेखेको पाइन्छ । तर, त्यसभन्दा अघिको नोटमा मोरु लेखिएको थियो । यस्तै, २०२० भदौ १४ गते अब नेपाली रुपैयाँ नेरु नलेखी रुपैयाँ भन्ने शब्द मात्रै लेख्नु सरकारले अर्को निर्णय गरेको देखिन्छ । नेपाली नोट, चलनचल्तीमा सबै कागजातहरूमा रुपैयाँमात्रै शब्द प्रयोगमा ल्याउनु भनेको थियो ।

कुन मितिमा कुन दरका नोट प्रचलनमा आए ?

राजा त्रिभुवनको २०११ सालमा निधन भएपछि राजा महेन्द्र वीरविक्रम शाह शासनमा आए । राष्ट्र बैंकले विसं २०१६ फागुन ७ गतेदेखि मोरु १, मोरु ५, मोरु १० र मोरु १ सय दरका नोट प्रचलनमा ल्याएको हो । त्यसपछि राष्ट्र बैंकले १ हजार दरका नोट विसं २०२६ पुस १४ गतेदेखि चलनचल्तीमा ल्यायो भने ५ सय दरको नोट २०२८ जेठ २४ गतेदेखि चलनचल्तीमा ल्याएको देखिन्छ ।

त्यस्तै, २०३४ वैशाख १४ गतेदेखि ५० रुपैयाँ,  २०३८ बैशाख १४ गतेदेखि २ रुपैयाँ,  २०३९ कात्तिक २२ गतेदेखि २० रुपैयाँ,  २०५३ चैत २९ गतेदेखि २५ रुपैयाँ र  २०५३ चैत २८ गतेदेखि २५० रुपैयाँ दरका नोट चलनचल्तीमा ल्याएको देखिन्छ । हाल बजारमा छ खर्ब ८० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन् ।

दशैंमा नयाँ नोट वितरणमा ब्रेक

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्षको दशैंअगाडि नयाँ नोट वितरण गर्दै आएको छ । तर, यसपटक भने दशैंको समयमा नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ । दशैंमा नयाँ नोट निष्कासन गरिने भनेर लिखित दस्तावेज भेटिएको छैन । तर, राष्ट्र बैंकको नोट निष्कासनलाई हेर्ने हो भने दशैंतिहारलाई मध्यनजर गरी वितरण गरेको जस्तो देखिन्छ । किनभने पहिलोपटक असोज महिनामा नै नोट निष्कासन भएको थियो । यसबाट पनि अनुमान गर्न सकिन्छ कि चाडपर्वलाई लक्षित गरी तत्कालीन सरकारले दशैंताका नै नोट चलनचल्तीमा ल्याएको देखिन्छ । किनभने दशैंतिहार असोज र कात्तिक महिनामा पर्छन् । साथै पछिल्लो समयमा राष्ट्र बैंकले छापिएर आएका नयाँ नोटलाई भदौ, असोज कात्तिकको छेको पारेर बजारमा पठाएको देखिन्छ । यसबेला अत्यधिक नोट वितरण हुने भएकाले दशैंमा नयाँ नोट वितरण गरेको हो कि जस्तो लाग्छ ।

राष्ट्र बैंकले दशैंतिहारमा नयाँ नोट वितरण नगर्ने पहिलादेखि नै सोच्दै आएको थियो । त्यसैले यसअघि नै दशैंतिहार चाडपर्वलक्षित गरेर नयाँ नोट वितरणमा व्यवस्थापन गरी सुकिलो नोट वितरण गर्न यसपटक तयारी गरीएको छ । किनभने बजारमा वितरण भएका नयाँ नोटको उचित व्यवस्थापन नहुने अवस्था थियो । राज्यले अर्बाैं खर्चेर बर्सेनि  नयाँ नोट ल्याउँछ । नयाँ नोट चाडपर्वको समयमा पठाउँदा दोस्रो दिन नै मैलो हुने, काम नलाग्ने भएर नष्ट गर्नुपर्ने अवस्था थियो । सामान्यतया एउटा नोट तीनदेखि चारवर्षसम्म चल्नुपर्छ भन्ने अवधारणा राष्ट्र बैंकको छ ।

बजारमा सफा नोट वितरण गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीति नियम बनाएर सूचना पनि जारी गरिरहेको हुन्छ । तर, नोटमा जथाभावी रङ्ग दल्ने, मसी पोतेर कुरूप गर्ने सबैको गलत बानी छ । सबैभन्दा बढी चाडपर्वमा नोट बढी नष्ट हुने अवस्था छ । अहिले पनि बजारमा थुप्रै नोट छन् । ती नोटको उचित व्यवस्थापन होस् भनेर राष्ट्र बैंकले यसपटक बजारमा नयाँ नोट नपठाएर पुरानै सुकिला नोट मात्र वितरण गर्न खोजेको हो ।

अन्य समयमा साना दरका नोट बैंकले वितरण गर्दैनन् । ठूला दरका नोट मात्रै सर्वसाधारणलाई वितरण गर्ने गरेका छन् । साना दरका नोटलाई भल्टमै राखिदिने गरेको हुँदा त्यो नोट बजारमा जाओस् भन्ने अवधारणा राष्ट्र बैंकको हो । कागजी नोट प्रयोगमा नआएपछि स्वतः बिग्रेर जान्छ । नोट नष्ट गर्नु भनेको ठूलो रकम खेर जानुजस्तै हो । त्यसैले यो पटक यो अभ्यास गरेको हो । बैंक तथा वित्तीय संस्थासँग भएका सुकिला नोट वितरण गरेर व्यवस्थापनमा सहज हुने देखिन्छ । अब बजारमा भएका सुकिला नोट र मैला नोटलाई छुट्याउन पनि मद्दत पुग्नेछ । र, तीनैबाट सुकिला नोट बजारमा पठाउने योजना राष्ट्र बैंकको हो । यसबाट राज्यको अर्बाैं रकम नोक्सानी हुनबाट जोगिन्छ ।

दशैंमा नयाँ नोटको महत्त्व

विश्वमा राष्ट्रिय पर्व मनाउँदा धनसम्पत्तिलाई पुजा गर्ने चलन छैन । तर, नेपालमा राष्ट्रिय पर्वको समयमा देवी देवताको पूजा गर्ने, नयाँ लुगा लगाउने, नयाँ चिजवस्तु चढाउने परम्परा छ । देवीदेवतालाई चढाउन नयाँ वा चोाखो हुनुपर्ने मान्यता छ । नयाँ नोटमा ‘थुक’ पनि लागेको हुँदैन । पहिलादेखि नयाँ नोट भन्ने चलन रहेकाले पछिल्लो समय पनि हामी सबैको मनमष्तिस्कमा त्यही रहिआएको छ । तर, नयाँ नोटको भ्यालू बढी हुने र पुरानो नोट दिँदा भ्यालू कम हुँदैन ।

नोटमा किन चित्र राखिन्छ ?

सदरमूलुकी खानाले पहिलोपटक राजा त्रिभुवनको तस्बिर अंकित नोट निष्कासन गरेको थियो । त्यसपछि राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्दको शासनकालमा पनि उनीहरूको तस्बिर अंकित नोट प्रकाशनमा आएका थिए । राजतन्त्र हटिसकेपछि भने सर्वाेच्च शिखर सगरमाथाको तस्बिर अंकित नोट चलनचल्तीमा आएका हुन् । नोटको माध्यमबाट देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन तस्बिर राख्ने गरिन्छ । आर्थिक कारोबार मात्रै नभई नोटले विश्वमा देशको पहिचान समेटेको हुन्छ । किनभने नोटमा राष्ट्रिय सम्पदा, प्राकृतिक सम्पदा, कलाकृति, वन्यजन्तुलाई राख्दा अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गर्छ । मान्छेले कुनै न कुनै रूपमा विश्वका नोटहरू धारण गरेको हुन्छ । संकलन गर्न, अध्ययन अनुसन्धान गर्न, प्राकृतिक सम्पदाको खोजी गर्ने आधिकारिक माध्यम भनेको मुद्रा पनि हो । जस्तो लिच्छिविकालमा राजा मानदेवले चलाएको मुद्रा एउटा ऐतिहासिक प्रमाण हो । त्योभन्दा पहिला पनि शासन चलाएका थिए । तर, प्रमाणित मुद्रा फेला परेको छैन । त्यसैले इतिहास, कलासंस्कृति जोगाउने माध्यम पनि मुद्रा हो ।

सबै दरका नोटमा एउटै तस्बिर राखियो भनेर अन्याय हुन्छ भनेर फरक-फरक नोटमा फरक-फरक तस्बिर राख्ने गरिन्छ । जस्तो ५ रुपैयाँको नोटको अगाडि भागमा भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको तस्बिर राखिएको छ भने पछाडिको भागमा वन्य याकको तस्बिर छ । त्यसमा राखिएको वन्य याक हुम्लाको लिमी उपत्यकामा पाइएको दुर्लभ वन्यजन्तु हो । त्योभन्दा अगाडि चौंरीगाईको तस्बिर थियो । यस्तै भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप मल्लकालीन लक्ष्मीनरसिंह मल्लको पालामा बनेको हो । क्षति भएपछि नोटमा राखिएको हो । यसले देशको कला संस्कृति जोगाउन मद्दत पुग्छ ।

एक हजार रुपैयाँको नोटमा हात्तीको तस्बिर थियो । तर, हात्ती कुन देशको हो भनेर लामो समय विवादित बन्यो । विभिन्न अध्ययन र संस्कृतविद सत्यमोहन जोशीको सल्लाह सुझावअनुसार हाल २ वटा हात्तीको तस्बिर राखिएको छ । ती हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा हात्ती हुन् । ती हात्तीको नाम राम-लक्ष्मण हो । जुम्ल्याहा हात्ती जन्मिनु विश्वका लागि अनौठो र दुर्लभ घटना हो । विश्व जगतले पनि ती हात्तीलाई चिन्छ । प्राकृतिक सम्पदा, देशको कलाकृति, दुर्लभ वन्यजन्तु, हिमाल आदिका बारेमा चिनाउने माध्यम मुद्रा पनि एक हो ।

गभर्नरको हस्ताक्षर नै किन ?

विश्वका जुनसुकै मुलुकमा पनि त्यस देशको केन्द्रीय बैंकले नोट निष्कासनको काम गर्छ । नोटको आधिकारिकता केन्द्रीय बैंकको प्रमुखलाई नै हुने गरेको छ । कुनै देशमा साना दरका नोटमा अर्थसचिवले हस्ताक्षर गरेको पनि छन् । कुनै देशमा अर्थसचिव वा प्रशासक र गभर्नरले हस्ताक्षर गर्ने गरेका अभ्यास पनि छन् । तर, अधिकांश देशको नोटमा गभर्नरको नै हस्ताक्षर हुने गरेको छ । गभर्नरको दस्तखत भएपछि नोटले कानुनी मान्यता प्राप्त गर्छ ।

१, २, २५, २५० रुपैयाँ दरका नोट बन्द

नोटहरू विदेशबाट छपाइ गरेर ल्याउनुपर्ने हुन्छ । १ रुपैयाँ र २ रुपैयाँका नोटको भ्यालूभन्दा क्रयशक्ति कम भयो । १ रुपैयाँ र २ रुपैयाँका नोट छपाइ गर्दा लाग्ने लागत बढी हुन थाल्यो । बजारमा १ रुपैयाँ र २ रुपैयाँमा सामान पनि पाउन छोड्यो । त्यसैले छपाइ गरेर ल्याउनुभन्दा चलनचल्तीमा नभएकै राम्रो हुने भयो । भारतमा १० रुपैयाँसम्मको सिक्का छापिन्छन् भने १ र २ दरका नोट र सिक्का कम हुँदै गएको छ । राष्ट्र बैंकले १ रुपैयाँ र २ रुपैयाँका नोट छाप्न रोकेको हो भने विगतमा छापिएका नोट बजारमा चलनचल्तीमा छन् । २५ रुपैयाँ र २५० रुपैयाँका नोट भने राजा वीरेन्द्रको गद्दी आरोहणको रजत महोत्सवमा निकालिएको स्मारिका नोट हो । स्मारिका नोट एकपटक चलनचल्तीमा ल्याएपछि दोस्रोपटक निकालिँदैन ।

१० रुपैयाँको पोलिमर नोट

पोलिमर नोट पहिलोपटक सन् १९८८ मा अष्ट्रेलियाले चलनचल्तीमा ल्याएको हो । नेपालमा २०५९ असोज १४ गते १० रुपैयाँको पोलिमर नोट प्रकाशनमा ल्याएको हो । राजा ज्ञानेन्द्रको गद्दी आरोहण वर्ष संस्मरणमा स्मारिकाको रूपमा ल्याएको उक्त नोटलाई जनताले रुचाउँछन् कि रुचाउँदैनन् भनेर राष्ट्र बैंकले प्रचलनमा ल्याएको हो । कागजी नोट छापिरहेको समयमा पोलिमर नोट तुलनात्मक रूपमा लागत बढी लागेपनि लामो समयसम्म बजारमा चलनचल्तीमा रहन्छ । यसमा छिटो मैलो हुने र च्यातिने सम्भावना पनि कम हुन्छ । पोलिमर नोट निष्कासन गर्ने नेपाल १६औं मुलुक हो । अहिले विश्वका ६५ बढी मुलुकले पोलिमर नोट निष्कासन गरिरहेका छन् ।

नेपाल विकाशोन्मुख देश भएको र यहाँ अतिविपन्न वर्गदेखि सम्पन्न व्यक्तिहरू पनि छन् । विपन्न वर्गका व्यक्तिले नोटलाई धुरीमा राख्ने, बेरेर राख्ने भएकाले राम्रोसँग प्रयोग गर्न नजान्दा नोट चाँडै काम नलाग्ने भयो । पछि राष्ट्र बैंकले यस्ता नोट निस्काशन पनि बन्द गर्‍याे तर पछिल्लो समय साक्षरदर बढेको छ । त्यसैले पोलिमर नोटमा उपयुक्त फिचर राख्ने हो भने कागजी नोटको तुलनामा २/३ गुनासम्म बढी समय चल्ने, छिट्टै नमैलिने, नमक्किने, नभिज्ने हुन्छ । सुरक्षाका कारण पनि कागजको तुलनामा फेक नोट निष्कासनमा केही हदसम्म नियन्त्रणमा राख्न सकिन्छ । अब केन्द्रीय बैंकले ५ सय र १ हजार रुपैयाँ पोलिमर नोट, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँका नोट उच्चस्तर कागज र अन्य दरका नोटलाई सिक्कामा प्रतिस्थापन गर्नुपर्ने जस्तो लाग्छ । १० रुपैयाँसम्मको नोटलाई प्रतिस्थापन गरी सिक्कामा निकाल्दा उपयुक्त हुने देखिन्छ ।

(खतिवडा नेपाल राष्ट्र बैंकका प्रधान सहायक तथा  नेपाली मुद्रा संकलक हुन् । उनीसँग विकासन्यूजका लागि सीआर भण्डारीले गरेको कुराकानीमा आधारित ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.