राष्ट्र बैंक भन्छ- सुकिला नोट व्यवस्थापन गर्न दशैंमा नयाँ नोट बजारमा नल्याएका हौं

  २०८१ असोज १५ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ ।

आइतबारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पोखरलले यो वर्षको दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको उल्लेख गरे । उनले राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।

सहायक प्रवक्ता पाेखरेलले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गरे ।

उनले राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताए । उनले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताए ।

सहायक प्रवक्ता पाेखरेलले भने, ‘विगतमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएपनि यो वर्षदेखि सफा नोट मात्रै सटही गर्ने भएको छ । हामीसँग बैंकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य छन् । त्यसलाई प्रयोग गर्नसक्यौं भने सुकिला नोट व्यवस्थापन गर्नसक्छौं । बैंक तथा वित्तीय संस्थामा प्रशस्त सुकिला नोट भएको र व्यवस्थान गर्नु परेकाले नयाँ नोट नआएको हो । अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । ’

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.