२०८१ असोज १५ गते १५:५९ विकासन्युज
काठमाडौं । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । त्यहाँका जनताको सम्पत्ति द्रूत गतिमा बढिरहेको छ तर चिनियाँ टाइकुनहरू अरबपतिहरूको सूचीमा शीर्षमा रहन चाहँदैनन् । यसको कारण हाे- चिनियाँ कम्युनिष्ट पार्टीले अति धनीलाई निशाना बनाउनु ।
गत महिना ई-कमर्स कम्पनी पीडीडीका संस्थापक कोलिन ह्वाङ चीनको सबैभन्दा धनी व्यक्ति बनेपछि चर्चामा आए । तर उनको नाम चर्चामा आएपछि पीडीडीले नाफाको अनुमानलाई कम गरेर लगानीकर्ताहरूलाई छक्क पार्यो । यसको सेयरमा भारी गिरावट आएको छ । ह्वाङले रातारात १४ अर्ब डलर गुमाए र पेय पदार्थ कम्पनी नोङफु स्प्रिङका संस्थापक शान्सन झोङ फेरि चीनको शीर्ष अर्बपति बने ।
२४ घण्टाभित्र नोङफु स्प्रिङले अप्रत्याशित रूपमा आफ्नो निराशाजनक आउटलुक जारी गर्यो र झोङ पनि चाँडै धनी सूचीमा पहिलो स्थानबाट झरे ।
उक्त घटनाबाट सरकारी कारबाहीबाट बच्न कर्पोरेट दिग्गजहरूले कसरी आफ्नो सेयर मूल्यलाई प्रभाव पार्न सक्छन् भनेर चिनियाँ सोशल मिडियामा छलफल सुरु भयो । सी चिनफिङको ‘साझा समृद्धि’ अभियानको मुख्य जोड भनेको उच्च धनीहरूमाथि कारबाही गर्नु हो ।
एक वाल स्ट्रीट ब्रोकरले ‘चीनमा के कोही पनि धनी व्यक्ति बन्न चाहँदैन?’ भन्ने कुराकाे निष्कर्षमा पुग्न असम्भव भएकाे बताए ।
पुरानो मानसिकता
सन् १९७० को दशकको उत्तरार्धमा देङ सियाओपिङ सर्वोच्च नेता बनेपछि पुरानो माओवादी मानसिकता परिवर्तन गर्न काम सुरु गरे । विशेषगरी धन कमाउने प्रति वैचारिक शत्रुता परिवर्तन हुन थाल्यो । बढ्दो पुँजीवादी राष्ट्रमा धनी बन्नु ठूलो कुरा हो भनी उनले सोचे । धनी बन्नु शानदार थियो तर धेरै धनी बन्नु थिएन । चीनले अन्य विकासोन्मुख देशहरूको तुलनामा धेरै सम्पत्ति आर्जन गरिरहेको थियो, तर पनि नाइजेरिया, मेक्सिको र भारतलगायत साना अर्थतन्त्रहरूको तुलनामा यसको सबैभन्दा ठूलो व्यक्तिगत सम्पत्ति मामूली नै रह्यो ।
२००० दशकाे आर्थिक छलाङकाे समयमा पनि त्यहाँ एक अलिखित सीमा थियो । उक्त सीमाले कसैको व्यक्तिगत सम्पत्ति १० बिलियन डलरभन्दा बढी बढ्न दिँदैन थियाे । कम्तीमा दुई अर्बपतिहरूको कुल सम्पत्ति २०१० को प्रारम्भमा १० बिलियन डलरकाे नजिक पुगेकाे थियाे । तर चाँडै नै उनीहरू भ्रष्टाचारको आरोपमा जेल परे । आरोप निराधार थिए भन्न सकिँदैन तर यसले शंका भने उब्जाएकाे छ ।
निशानामा काे छ ?
सत्तारूढ दललाई हरेक व्यवसायको सम्पूर्ण जानकारी भएकाले धेरै उद्यमी डरले बाँचिरहेका थिए । सन् २०१२ मा सी जीनपीङ सत्तामा आएपछि उनले कुलीन वर्गहरूमाथि भ्रष्टाचारविरुद्धको अभियान चलाए । सुरुमा सार्वजनिक पदमा रहेका ठूला व्यक्तिहरू उनको निशानामा थिए । तर चीनको अर्थतन्त्र सुस्त भएपछि ठूला टेक कम्पनीहरू पनि सरकारको निशानामा परेका छन् । पछिल्ला वर्षहमा धेरै चिनियाँले १० बिलियन अमेरिकी डलरभन्दा बढीको नेट वर्थ बनाए । यसमा अलिबाबाका संस्थापक ज्याक मा सबैभन्दा अगाडि थिए ।
यो अवस्था २०२० मा परिवर्तन भयो । चीनले लगभग २४० अरबपतिहरू उत्पादन गर्याे जुन अमेरिकाको दोब्बर संख्या हो । २०२० काे अन्त्यमा ज्याक माले चीनको सरकारको आलोचना गर्दै भाषण दिए । उनीमाथि कडा कारबाही भयो । अलिबाबाको सेयर मूल्य घट्यो । ज्याक मा धनीहरूको सूचीबाट झरे र जनताको नजरबाट गायब भए । अर्को वर्षको सुरुमा सीले आफ्नो ‘साझा समृद्धि’ अभियान सुरु गरे । चिनियाँ नेतृत्वको ‘समानतावादी’ मूल्यमान्यतासँग मेल नखाने सबै कम्पनीहरू विरुद्ध कारबाही गरियो ।
बढ्दै छ समस्या
चीनमा धेरै धनी हुनु खतरनाक छ । दबाबका कारण भेन्चर क्यापिटल वित्त सुक्न थालेपछि युवाहरू इन्भेष्टमेन्ट अनि बैंकिङजस्ता आकर्षक पेशामा करिअर बनाउन डराउँछन् । धनाढ्यहरू द्रूत गतिमा देश छाडिरहेका छन् । कारबाही सुरु भएदेखि चीन छोड्ने करोडपतिहरूको संख्या बढ्दै गएको छ । गत वर्ष यस्ताे संख्या १५ हजारभन्दा बढी पुगेको थियाे । यो कुनै पनि अन्य देशको तुलनामा धेरै हो ।
यसकाे प्रमाण याे पनि हाे कि निजी क्षेत्र अब चीनमा पछि हटिरहेको छ । यसले चीनलाई महाशक्ति बनाउन महत्त्वपूर्ण भूमिका खेल्याे तर चिनियाँ सरकारकाे नीतिले उल्टै असर गरिरहेकाे छ । २०२१ देखि सेयर बजार ओरालो लागेको छ । तर सरकारी कम्पनीहरूले कुल बजार पूँजीकरणमा आफ्नो हिस्सा एक तिहाइभन्दा धेरै बढाएर ५० प्रतिशत पुर्याएका छन् ।
चीन अहिले विश्वको एक मात्र ठूलो सेयर बजार हो जहाँ सरकारी स्वामित्वका कम्पनीहरूको मूल्य निजी क्षेत्रका कम्पनीहरूको बराबर छ । पछिल्लो तीन वर्षमा व्यक्तिगत सम्पत्तिमा नाटकीय रूपमा गिरावट आएको छ । चीनमा अर्बपतिको संख्या ३५ प्रतिशतले घटेको छ भने बाँकी विश्वमा १० प्रतिशतले बढेको छ । – एजेन्सीहरूकाे सहायताबाट
Copyright © 2024 Bikash Media Pvt. Ltd.