२०८१ असोज १५ गते १५:१४ विकासन्युज
लेकाली जंगलमामा उम्रिने निगुरोको बजारमा राम्रो माग हुने गरेको छ । निगुरो उपभोक्ताको रोजाइमा परेपछि शर्मिला पुर्जासहितका महिलाहरुलाई आयआर्जनमा सहयोग पुगेको छ । यस वर्ष मात्रै शर्मिला र मायाकुमारी पुनले १० लाख ५० हजार रुपैयाँको निगुरो बिक्री गरिन् ।
पुर्जाले भनिन्, ‘वन उपभोक्ता समिति, संकलन कर्ता, गाडी भाडा कटाएर बाँकी रकम नाफा हुन्छ, यहाँका महिलालाई घर खर्च पुग्छ, कम्तीमा एकजनाले एक ‘सिजन’मा एक लाख रुपैयाँभन्दा माथिको निगुरो बिक्री गर्छौं ।’ पुर्जाले मात्रै यस वर्ष आठ लाख ५० हजार रुपैयाँ र माया पुनले दूई लाख ५० हजार रुपैयाँको बिक्री गरेको बागलुङ बजारका व्यापारी शंकर रेग्मीले बताए । रेग्मीले विगत चार वर्षदेखि निगुरोको बिक्री गर्दै आएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जंगलमा पाइने निगुरो सदरमुकाम बेनी बजार हुँदै बागलुङबजार ल्याउने गरिएको छ । बागलुङ बजारका व्यापारी रेग्मीले होलसेल मूल्यमा तरकारी व्यापारीलाई निगुरो बिक्री गर्दै आएका छन् । बागलुङमा दोवाको निगुरो होलसेल प्रतिमुठा ८० रुपैयाँ र खुद्रा प्रतिमुठा १०० रुपैयाँमा बिक्री हुने गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.