दशैंको मुखमै छैन व्यापार, व्यापारीहरू भन्छन्- विगतको तुलनामा ७५ प्रतिशतले कमी

  २०८१ असोज १६ गते १२:५७     अनिष मिजार

व्यवसायी गणेशप्रसाद दुवाडी । तस्बिर: न्यूज एजेन्सी नेपाल

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि विगतको तुलनामा किनमेल गर्ने ग्राहक २५ प्रतिशत पनि नआएको व्यवसायीहरूले गुनासो गरेका छन् ।

दशैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटीलगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरूको भीड हुने भएपनि अहिले बजार सुनसान छ ।

विगतका वर्षहरूमा जस्तो यस वर्ष पनि आर्थिक मन्दीको कारण व्यापारमा उत्साह नदेखिएको व्यापारीहरूले बताए । उनीहरूले दशैं नजिक अविरल वर्षाको कारण मुलुकभर आएको बाढी पहिरो जस्ता विपत्तिले व्यापार व्यवसायीमा थप संकट ल्याएको बताएका छन् ।

दशैं लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्ने र व्यापार वृद्धि हुने व्यवसायीहरुको आशा निरासामा परिणत भएको छ । दशैं लागेसँगै बजारमा ग्राहकहरू बढ्ने र व्यापारीहरूलाई केही राहत मिल्ने आशा भएपनि बाढी-पहिरोका कारण बजार थप प्रभावित भएको गुनासो गरे ।

व्यापारीहरूले विगतका वर्षमा सोही समयमा हुने सतप्रतिशत व्यापारको अहिले २५ प्रतिशत पनि व्यापार हुन नसकेको भन्दै व्यापार व्यवसाय दयनीय अवस्थामा पुगेको उल्लेख गरे ।

बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरूको क्रयशक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमी आएको व्यवसायीहरूको भनाइ छ ।

उनीहरूले दशैं लागेसँगै व्यापार बढ्ने केही आश भएपनि बाढी-पहिरोजस्ता विपत्तिको कारण बजारमा ३० प्रतिशतभन्दा बढी व्यापार नहुने आँकलन रहेको बताए । सरकारको नीति, बैंकको ब्याज, घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको बताए ।

नेपाल राष्ट्रिय व्यापार महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले यस वर्षको दशैं व्यवसायी र आमनागरिकको लागि दशाको रूपमा देखापरेको बताए । अहिले मुलुक नै व्यापार व्यवसाय भन्दा पनि बाढी-पहिरो र प्राकृतिक प्रकोपको चपेटामा परेकाले यस वर्षको दशैंमा रौनक नभएको उनकाे भनाइ छ ।

उनले विगतको तुलनामा ७५ प्रतिशत व्यापारमा कमी आएर २५ प्रतिशत पनि व्यापार नभएको अवस्थामा बाढी-पहिरोको कारण झन शिथिल बनाएको बताए ।

उनले मुलुकका सक्रिय युवाहरू विदेश पलायन भएकाले पनि बजारमा व्यापारमा कमी आएको बताए ।

संस्थापक अध्यक्ष कटुवालले बजारमा बैंकिङ समस्या र सरकारको कर नीति लगायतको कारण दशैंमा बजार चलायमान हुने अवस्था नदेखिएको दुखेसाे पाेखे ।

राष्ट्रिय व्यापार संघका पूर्वअध्यक्ष सरोजकुमार श्रेष्ठले दैनिक ७ हजार मानिसहरू विदेश गइरहेकाले नेपालमा कसलाई सामान बिक्री गर्ने? भन्ने अवस्था आएको बताए ।

उनले उपभोग गर्ने युवाहरू श्रम तथा अध्ययनको लागि विदेश जाने क्रमले पनि बजारमा माग बढ्न नसकेको भन्दै बजार २० देखि २५ प्रतिशत मात्रै व्यापार रहेको बताए ।

कोभिडपछि सुरु भएको आर्थिक मन्दी यस वर्षको दशैंमा आएर चरम उत्कर्षमा पुगेको देखिएको उनकाे बुझाइ छ ।

रञ्जना व्यापार संघका अध्यक्ष हरिप्रसाद पाण्डेले पनि बजार व्यापार २० देखि २५ प्रतिशतमा झरेको भन्दै ७० प्रतिशतले गिरावट आएको बताए । उनले ७० प्रतिशत व्यापारमा आएको गिरावटले व्यवसायीहरू ठूलो मारमा परेको भन्दै व्यापार व्यवसायीहरूलाई सुरक्षा दिने सम्बन्धमा सरकारले ध्यान दिन जरुरी रहेको आवश्यकता ‍औंल्याए ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले पनि दशैंको समयमा व्यापारमा रमाउनु पर्ने व्यवसायीहरु बाढी पहिरोको कारण समस्यामा परेको बताए । उनले बाढी पहिरोको कारण तातोपानी र केरुङ नाका जोड्ने सडक बाढीले बगाउँदा धेरै व्यवसायीहरूको सामान नाका र बाटोमा अड्किएर बसेको गुनासाे गरे ।

सिभिल व्यापार संघ अध्यक्ष रत्नबहादुर घिमिरेले पनि बजारमा दशैं अहिलेसम्म नलागेको भन्दै बजार सुनसान रहेको बताए । उनले आजसम्म बजारमा दशैको चहलपहल नदेखिएको बताए ।

एकता व्यापार संघका अध्यक्ष तेज आचार्यले पनि विगतका दशैंको तुलनामा यस वर्षको दशैंमा विभिन्न समस्याको कारण १० प्रतिशत पनि व्यापार नहुने अवस्था देखिएको बताए ।

उनले ९० प्रतिशत बजार प्रभावित हुने अवस्था बाढी पहिरोका कारणले अनुमान गर्नसक्ने अवस्था आएको बताए ।

न्युरोडका कपडा व्यापारी गणेशप्रसाद दुवाडीले पनि दशैंको मुखमा आएर मुलुकमा बाढी-पहिरोको विपद् आएकाले थप बजारमा समस्या आएको बताए । उनले आर्थिक कारोबार पनि कम भइरहेकाले दशैं लागे पनि व्यापार व्यवसाय नाजुक अवस्थामा रहेको उल्लेख गरे ।

उनले कोभिडको समयलाई हेर्दा पनि त्यसको तुलनामा २० देखि २५ प्रतिशत पनि व्यापारमा कमी आएको जिकिर गरे ।

दशैंमा व्यापार होला भनेर ऋण गरेर सामान हाले पनि विगतको तुलनामा ८० प्रतिशत व्यापारमा कमी आएको व्यापारीहरूको गुनासो छ । बजारमा प्रशस्त सामान भएपनि पसलमा आउने ग्राहक नभएको उनीहरू बताउँछन् । व्यापार गरेर बैंकको ब्याज, राज्यलाई कर, काेठाभाडासमेत तिर्न नसकिको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.