सभामुख घिमिरेको आग्रह- सरकारले सहकारी छानविन समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गरोस्

  २०८१ असोज १६ गते १७:१०     विकासन्युज

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

बुधवार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिलाई कदरपत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्व कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले प्रतिनिधिसभाले प्रतिवेदनसभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरूलाई ठीक ढंगले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताए ।

सभामुख घिमिरेले भने, ‘सरकारले सहकारी छानविन समितिको प्रतिवेदन अविलम्व कार्यान्वयन गरोस् । प्रतिनिधिसभाले सरकारलाई कार्यान्वयन गर्न प्रतिवेदन बुझाएकै दिन त्यहींबाट हस्तान्तरण गरिसकेको स्थिति छ । त्यसैले अब यसलाई कार्यान्वयन गर्दै नेपालमा सहकारीलाई ठीक ढंगबाट सञ्चालन गर्ने कामको जिम्मेवारी सरकारले छिट्टै पूरा गर्न सकोस् ।’

उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलीय दृष्टिकोणभन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्नसक्छ भन्ने उदाहरण प्रस्तुत गरेकाे पनि बताए ।

उपसभामुख इन्दिरा रानाले समितिले विवेकपूर्ण र न्यायोचित रुपमा सत्यतथ्यमा आधारित भएर प्रतिवेदन ल्याएको विश्वास व्यक्त गरिन् ।

उनले समितिले कसैप्रति लक्षित नभइ कसैको दबाबमा नपरी प्रतिवेदन ल्याएको भन्दै विश्वास व्यक्त गरिन् ।

उपसभामुख रानाले प्रतिवेदनले सहकारी पीडितहरूको आँशु पुछिनुपर्ने पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.