इक्यानको शैक्षिक मेलामा ५ हजार बढीको सहभागी

  २०८१ असोज १६ गते १८:२४     विकासन्युज

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको शैक्षिक मेलामा विद्यार्थी र अभिभावकले विदेशी शैक्षिक संस्थाबारे जानकारी लिएका छन् । बुधबार काठमाडौंको एभरेस्ट होटलमा आयोजना गरिएको मेलामा ५ हजार बढी विद्यार्थी अभिभावकले भिजिट गरेको इक्यानका सचिव रत्न भट्टराईले बताए ।

उच्च शिक्षाका लागि विदेशी भूमिमा जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी मेलाकाे आयाेजना गरिएकाे हाे । मेलामा पाँच हजारभन्दा बढीले अवलोकन तथा परामर्श लिएको सचिव भट्टराईले बताए । सहभागी विद्यार्थी अभिभावकहरूले विभिन्न देशको शैक्षिक अवस्था जस्तै- त्यहाँ पढ्न जाँदा लाग्ने खर्च, त्यहाँका शिक्षा प्रणालीलगायतका विषयमा जानकारी लिएका छन् ।

कोरोना महामारीपछि भौतिक रूपमा पहिलो पटक आयोजना गरिएको मेला भएकाले पनि विद्यार्थीको उत्साहजनक सहभागिता रहेको उनको भनाइ छ । मेलामा विभिन्न शैक्षिक परामर्श संस्थाका साथै विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको पनि उपस्थिति थियो । विद्यार्थीहरूले कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष साक्षात्कार गरेका थिए ।

मेला संयोजक गीता सिवाकोटीले बाढीपहिरोका कारण निर्धारित समयभन्दा तीन दिन ढिला गरी आयोजना भएको मेला  महत्त्वपूर्ण प्लेटफर्म भएकाे बताइन् ।

उनले भनिन्, ‘अहिले नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम बढ्दो छ, तर धेरैजस्तो विद्यार्थीलाई त्यहाँको शैक्षिक संस्थाबारे जानकारी नै हुँदैन । यो मेला त्यस्ता विद्यार्थीका लागि एक महत्त्वपूर्ण प्लेटफर्म हो ।’

मेलामा विद्यार्थीहरूले विदेशमा अध्ययन गर्न आवश्यक योग्यता, कागजातहरू, भिसा प्रक्रियादेखि छात्रवृत्ति अवसरहरूसम्म प्रत्यक्ष परामर्श लिएका छन्।

‘म कहाँ जाँदै छु ? कुन देश जाँदै छु ? त्यसको बारेमा अध्ययन गर्न जरुरी छ,’ सचिव भट्टराई भन्छन्, ‘हामीले विद्यार्थीलाई यस्तै खालका जानकारी दिन मेलाको आयोजना गरेका हाैं ।’

मेलामा भारत, चीन,बंगलादेश, श्रीलंका लगायत विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.