वालेटले ओगट्छन् अर्बौ बचत, जोखिममा प्रयोगकर्ता

  २०८१ असोज १६ गते १८:५७     सीआर भण्डारी

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी वालेटहरूले ४३ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ करोड ४२ लाख ५७ हजार ६५६ जनाले वालेटबाट ३ करोड ८ लाख ७८ हजार ९४० पटक कारोबार गरेका हुन् ।

गत असारसम्म २ करोड ३४ लाख ६१ हजार १०७ जनाले ३८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए । त्यस समयमा ३ करोड २१ लाख ५ हजार ९१७ पटक कारोबार भएको थियो ।

राष्ट्र बैंकका अनुसार २०७९ असारमा १ करोड ६२ लाख ६ हजार ३५६ पटक १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तीन वर्षअघि वालेट प्रयोगकर्ताको संख्या १ करोड ३६ लाख ७५ हजार ९९३ जना थिए ।

गत वर्ष (२०८० असार) मा २ करोड ८ लाख २२ हजार ८६१ पटक २० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष वालेट प्रयोगकर्ता संख्या बढेर १ करोड ८९ लाख ४१ हजार ७९१ जना थिए ।

भुक्तानी वा कारोबारमा काम गरिरहेका डिजिटल वालेटको प्रयोग निरन्तर उकालो लागेको छ भने कारोबार रकम पनि बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । पाँच वर्षको अवधिमा वालेट प्रयोगकर्तासँगै कारोबार रकम पनि उच्च वृद्धि भएको छ ।

पाँच वर्षअघि २०७७ साउनसम्म वालेट प्रयोगकर्ता ६२ लाख ७४ हजार १२९ जना थिए । तर, ५ वर्षमा प्रयोगकर्ताको संख्या २८६.६२ प्रतिशत बढेर २ करोड ४२ लाख ५७ हजार ६५६ जना पुगेका छन् । यस्तै, कारोबार रकम पनि ४७६.५६ प्रतिशत बढेको छ । ५  वर्षअघि वालेटबाट ७ अर्ब ५७ करोड रुपैयाँ कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

कति छ वालेटमा बचत ?

कुन वालेट कम्पनीमा कति बचत छ भनेर सार्वजनिक तथ्याङ्क छैन । सर्वसाधारणको अर्बाैं रुपैयाँ रहेको वालेट कम्पनीमा राष्ट्र बैंकले पनि सार्वजनिक गर्न मान्दैन । तर, वालेट कम्पनीका सीईओहरूसँगको अनौपचारिक कुराकानीका आधारमा दैनिक अर्बाैं रुपैयाँ वालेटमा बचत रहन्छ ।

वालेट कम्पनीहरूमा सबैभन्दा धेरै प्रयोगकर्ता (युजर) ईसेवामा छन् । ईसेवा १ करोड बढीले डाउनलोड गरेको भएपनि वास्तविक प्रयोगकर्ता भने ६० लाख हाराहारीमा मात्रै रहेको कम्पनी स्रोतको भनाइ छ । स्रोतका अनुसार दैनिक कारोबार गर्दा पनि दैनिक २ देखि ३ अर्ब रुपैयाँ ईसेवामा बचत रहन्छ ।

यस्तै, खल्ती र आइएमई पेका प्रयोगकर्ताको संख्या पनि उच्च छन् । खल्तीका २४ लाख प्रयोगकर्ता छन् भने आइएमई पेको पनि सोही हाराहारीमा प्रयोगकर्ता रहेका छन् । स्रोतका अनुसार यी दुई वालेटमा प्रयोगकर्ताको बचत १ अर्ब बढी नै हुने गरेको छ ।

यस्तै, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभभित्र पर्छन् । जसमध्ये माइ पेका १० लाख, प्रभु पेका ९ लाख र नमस्ते पेका ७ लाख प्रयोगकर्ता छन् । स्रोतका अनुसार यी वालेटको पनि दैनिक बचत ५० करोडभन्दा बढी हुने गरेको छ । अन्य कम्पनीको प्रयोगकर्ता कम भए पनि सर्बसाधारणको बचत रकम करोडौंमा रहेको छ ।

सजिलो पेका प्रयोगकर्ता २ लाख ८० हजार छन् भने पे वेलका ४ लाख बढी प्रयोगकर्ता छन् । स्रोतका अनुसार पेवेलको बचत १७ करोडभन्दा बढी रहेको थियो । त्यसैले २६ वटै वालेट कम्पनीको तथ्याङ्कलाई जोड्दा अर्बाैं रूपैयाँ हुने देखिन्छ ।

अप्ठ्याराेमा वालेट कम्पनी

राष्ट्र बैंकको तथ्याङ्कअनुसार २६ वटा वालेट कम्पनी सञ्चालनमा छन् । कम्पनीका कर्मचारीहरू र नियामक नेपाल राष्ट्र बैंकका अधिकारीहरूसँग कुरा गर्दा अहिले अधिकांश वालेट कम्पनीहरू घाटामा सञ्चालन भइरहेका छन् । सर्वसाधारणको अर्बौं रूपैयाँ होल्ड गरेर व्यवसाय सञ्चालन गरिरहेका वालेट कम्पनीहरू घाटामा जाँदा सर्वसाधारणको वालेटमा रहेको रकम पनि जोखिममा छ ।

लामो समयदेखि वालेट सञ्चालनमा रहेपनि उल्लेख्य नाफा भने गर्न सकेका छैनन् । अहिले सञ्चालनमा रहेको ईसेवा मात्रै नाफामा रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार हालसम्म खल्ती र आइएमई पे वालेटले लागत मात्रै उठाउन सकेका छन् भने अन्य वालेट कम्पनीलाई लागत पनि उठाउन सकस परिरहेको राष्ट्र बैंकको भुक्तानी विभागका एक कर्मचारीले बताए । वालेटमा कमाइ भन्दा धेरै खर्च हुने गरेको ती कर्मचारीको भनाइ छ ।

खल्ती गत वर्षदेखि नाफा आर्जन गर्ने योजनाका साथ काम गरिरहेको थियो । तर, विभिन्न कारणले कम्पनी नाफामा जान नसकेको बताइएको छ । चालु आर्थिक वर्षदेखि भने नाफा गर्ने लक्ष्यमा रहेको खल्तीका एक कर्मचारीको भनाइ छ ।

‘डिजिटल कारोबारको भविष्य राम्राे रहेकाले अहिले लगानीमा जोड दिइरहेका छन्, बैंकहरूले पनि डिजिटलमा लगानी मात्रै गरिरहेका छन्, त्यति धेरै नाफा गर्न सकेका छैनन्,’ एक वालेट कम्पनीका सीईओले भने, ‘वालेटमा दीर्घकालीन लगानी गरेका छौं, अब काम गर्दै जाँदा केही समय लाग्न सक्छ, अहिले नाफाभन्दा पनि एउटा आधार बनाउन लागिरहेका छौं ।’

वालेटले मागे ब्याज

वालेट कम्पनीले निक्षेप जम्माको काम गर्न पाउँदैनन् । त्यसैले सेटलमेन्ट बैंकमा रकम राख्नुपर्ने हुन्छ । दैनिक अर्बाैं रुपैयाँ बचत रहने भएकाले सो बापतको ब्याज पाउनुपर्ने वालेट कम्पनीहरूले माग गर्दै आएका छन् । हाल वालेट कम्पनी घाटामा चलिरहेको र आम्दानीको स्रोत हुने भएकाले दैनिक बचतअनुसारको ब्याज सेटलमेन्ट बैंकले दिनुपर्ने माग गरिरहेका छन् ।

‘वालेटको रकम सेटलमेन्ट बैंकमा जम्मा हुन्छ । त्यो रकम वालेटमा देखिने मात्रै हो, भर्चुअल पैसा जस्तै हो, राष्ट्र बैंकले दैनिक वालेटको छुट्टै र सेटलमेन्ट बैंकको छुट्टै रिपोर्टिङ गरिरहेको हुन्छ,’ एक वालेट कम्पनीका सीईओले भने, ‘जस्तो कुनै वालेटले १७ करोड रुपैयाँ राखेको छ भने त्यो सेटलमेन्ट बैंकको कम देखिएमा राष्ट्र बैंकले तत्काल एक्सन लिन्छ, वालेटको ब्यालेन्स र सेटलमेन्ट बैंकको खातामा बराबर रकम हुनुपर्छ ।’

वालेट कम्पनीलाई कल डिपोजिटमा भएको रकममा ब्याज दिने गरिएको छ । तर, सो ब्याजदर न्यून भएकाले बचत खातामा सरह ब्याज दिनुपर्ने माग वालेट कम्पनीको छ ।

समस्यामा प्रयोगकर्ता

अर्बाैंको कारोबार हुने गरेको वालेट प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयतासँगै रकम पनि जोखिममा रहेको छ । राष्ट्र बैंकले गत जेठदेखि पेवेल नेपाल र सजिलो पेको सबै बैंक खाता रोक्का गरेको छ । यी दुईको बैंक खाता रोक्का भएसँगै प्रयोगकर्ताले कारोबार गर्न पाएका छैनन् ।

यी दुई कम्पनीको कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । तर, ५ महिनासम्म पनि प्रयोगकर्ताको बचत सो वालेटमा रहँदा न ब्याज पाउँछन् न कारोबार नै गर्न पाएका छन् ।

अहिले अर्को एक अग्रणी वालेट कम्पनी पनि ठूलो समस्यामा रहेको बुझिएको छ । सो वालेट कम्पनीको विषयमा नियामक नेपाल राष्ट्र बैंकमा पनि सेवाग्राहीको गुनासो गएको छ । अहिले सहकारीमा झै वालेट कम्पनीहरुमा समस्या देखिएमा त्यसले बैकहरुलाई पनि नराम्ररी असर गर्न सक्ने जोखिम रहेको जानकारहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.