कृषि तथा घरेलु उद्यमी मेला र दशैं महोत्सव सुरु

  २०८१ असोज १६ गते १८:५४     विकासन्युज

काठमाडौं । ‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ बुधबारदेखि राजधानीमा दोस्रो जिल्ला स्तरीय उद्योगी मेला र दशैं महोत्सव २०८१ सुरु भएको छ ।

राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा मेलाको शुभारम्भ गरे ।

काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको बजारीकरण पनि महत्त्वपूर्ण पाटो भएको बताए ।

स्थानीयस्तरमा तालिम गरेर उद्यमशीलतामा लाग्नेहरूले तयार गरेका उत्पादनहरूको बजारीकरणमा चुनौती देखिएको भन्दै उनले उद्यमशीलतामा लाग्नेहरूलाई उत्पादनदेखि बजारीकरणमा पनि सघाउन स्थानीय निकायहरूको ध्यानाकर्षण गराए ।

घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्रकुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरूको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गरिएको बताए ।

काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरूको सहभागितामा आयोजना गरिएको औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरूको सहभागिता रहेको उनले बताए ।

प्रदर्शनीमा लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका अर्गानिक उत्पादन, कस्मेटिक, गार्मेन्ट, हस्तकलाका उत्पादन, अर्गानिक फलफुल, चोयोको सामान, तयारी पोशाक, कृष्टलका गहना तथा सामग्री, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, अर्गानिक अचार र छोप, मखमलका जुत्तालगायतका उत्पादन, काष्ठकलाका सामग्री, प्लाष्टिकबाट पुनःप्रयोगबाट बनाइएका कलात्मक वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायतका ७० वटा स्टल रहेका छन् ।

प्रदर्शनीको शुभारम्भका अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासंघका सल्लाहकार वासु गिरी, घरेलु तथा साना उद्योग संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष डोल्मा शेर्पा, उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, घरेलु तथा साना उद्योग संघ काठमाडौंका कोषाध्यक्ष सन्तोष कार्कीलगायतले मेलाका बारेमा बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.