२०८१ असोज १७ गते १४:२९ विकासन्युज
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सांसदहरुले अर्थ समितिबाट सार्वजनिक खरिद ऐन संशोधन पास गरे लगत्तै स्वदेशी वस्तु उपभोग कार्यविधिलाई मन्त्रिपरिषदबाट पास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बिहीवारबाट काठमाडौंमा शुरु भएको तेस्रो हिमालयन अन्तर्राष्ट्रिय एक्स्पो कार्यक्रममा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय धेरै विधेयक समितिमा अल्झेर बसेकाले सरकारले काम गर्न नसकेको बताए । उनले अर्थ समितिले सार्वजनिक खरिद ऐन तत्काल संशोधन पास गरेर सार्वजनिक निकायमा स्वदेशी वस्तु उपभोग कार्यविधिलाई आफूले अर्को दिन मन्त्रीपरिषद्बाट पास गर्न चाहेको बताए ।
मन्त्री भण्डारीले संघीय सरकार, संघीय संसददेखि स्थानीय तहसम्म सबै तहका सरकार, निजामती क्षेत्र, सेना, प्रहरी, विद्यालयलगायतका क्षेत्रमा स्वदेशी वस्तु उपभोग अभियान सुरु गर्न चाहेकाे बताए ।
उनले सरकारले चाहे पनि यो अभियान सुरु गर्नुभन्दा सार्वजनिक खरिद ऐनलाई संशोधन गर्न आवश्यक रहेकोमा जाेड दिए ।
उनले नेपाली वस्तु विदेशमा निर्यातको लागि स्वीकृत दिन विद्युतीय व्यापार ऐनकाे आवश्यकता रहेको औंल्याए ।
उनले उक्त ऐन पनि उद्योग वाणिज्य समितिमा अड्किएर बसेको बताए ।
मन्त्री भण्डारीले सांसदहरूको संशोधन प्रस्ताव स्वीकार गर्छु भनेर समितिमा पटक–पटकभन्दा पनि समितिले विधेयक अगाडि बढाउन नसकेको पनि बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.