किन घट्दैछ पठन संस्कृति ? व्यापारी भन्छन्- नयाँ पाठक बनेकै छैनन्

  २०८१ असोज २५ गते १०:५५     इन्द्रसरा खड्का

काठमाडौं । रसुवाका रितेश गुरुङ एभिड रिडर (अत्यधिक बुक पढ्ने व्यक्ति ) हुन् ।  दिनभरि जति व्यस्त भए पनि  उनी पढ्नलाई रातको समय छुट्याउँछन् । हरेक वर्ष दशैंमा ट्रेकिङमा जानुका साथै पुस्तक पढ्दै आएका उनी यो वर्ष पढेरै दशैं मनाउने योजनामा छन् । ‘अहिले बाटोघाटो राम्रो छैन, ट्रेकिङ पनि गइँदैन होला,’ विकासन्यूजसँग कुरा गर्दै उनी भन्छन्, ‘म दशैंको बिदामा मात्र पढ्छु भन्ने होइन, पुस्तक जहिले पनि पढ्छु । अझ भन्ने हो भने त दशैंमा रमाइलो गर्ने हो ।’  दशैंमा पढ्न भनी उनले दुईवटा पुस्तक पनि किनिसकेका छन् ।

नेपाली उपन्यासभन्दा विदेशी उपन्यास पढ्न धेरै रुचाउने रितेश एक्सपेरिमेन्टल, म्याजिकल रियालिजम खालका किताब रुचाउँछन् । उनले अमेरिकन- क्यानडियन ‍राइटर रुथ ओजेकीको ‘अ टेल फर द टाइम बिइङ’ र हंगेरियन राइटर लास्ज्लाे क्राश्जनहाेर्काइको ‘अ माउन्टेन टु द नर्थ, अ लेक टु द साउथ’ पढ्ने योजना बनाएका छन् । भन्छन्, ‘मलाई पुस्तक पढ्न आदत जस्तो भइसक्यो । एउटा सकिनेबित्तिकै अर्को पुस्तक चाहिन्छ, बरु समय लगाएर पढ्छु ।’

नेपालमा खासै एक्सपेरिमेन्टल उपन्यास नभएको र भएका किताबको पनि विषयवस्तु पनि लगभग सबै उस्तै भएकाले पढ्न खासै उत्साह नलाग्ने उनको भनाइ छ । ‘मलाई विदेशी भाषामा लेखिएका किताबको अंग्रेजी अनुवाद पढ्न लाग्छ,’ रितेश थप्छन्, ‘विदेशी पुराना लेखकले लेखेका किताब नेपालमा अहिलेका लेखकहरूले पनि लेख्न सकेका छैनन् । कसैले नयाँ गर्न खोजीहाल्यो भने पनि शैली उही परम्परागत हुन्छ ।’

उनी नेपाली लेखक अझै विधवा, द्वन्द्व, बाढीपहिरो लगायतका कथामै अड्किरहेको बताउँछन् ।

फुर्सदिलो समय

दशैंतिहारमा मीठो मसिनो खाई आफन्तहरूसँग भेटघाट गरी मनाइन्छ । यो बेला स्कुल-कलेजको लामो समय बिदा हुन्छ । विद्यार्थी वा कर्मचारीसँग फुर्सदको समय हुन्छ । यही मौकामा धेरैले पुस्तक पनि अध्ययन गर्छन् । पढ्न मन भएका तर सधै व्यस्त रहनेहरू मिलेको यो समयको सदुपयाेग गर्छन् ।

नेपाली र अन्य भाषाका आफूलाई मनपर्ने कथा, जीवनीलगायतका विभिन्न पुस्तकहरू नेपाली युवाहरूको रोजाइमा हुन्छन् । पुस्तक विक्रेताका अनुसार आजभोलि प्रेरणादायी किताबहरू बढी बिक्री भइरहेका हुन्छन् । विशेषगरी अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’, सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ यस्तै उपन्यास बढी बिक्री भइरहेका छन् । पुस्तक व्यवसायीहरू भने पछिल्लो समय पुस्तक किनेर पढ्ने मान्छेमा कमी आएको बताउँछन् । आजभन्दा ९, १० वर्ष पहिले जति व्यापार हुन्थ्यो, अहिले त्यो व्यापार घटेको उनीहरू बताउँछन् ।

छैन व्यापार

काठमाडौंको भोटाहिटीमा रहेको जननी बुक्स एण्ड स्टेशनरीका सञ्चालक पृथ्वीचन्द्र सुवेदी आजभोलि पुस्तक किनेर पढ्नेहरूको जमात घटेको बताउँछन् । १५ वर्ष अगाडि पोखराबाट आएर पुस्तक पसल सञ्चालन गरिरहेका उनी कोभिडपछि यो संख्या ह्वातै घटेकाे बताउँछन् ।

‘शिक्षकहरू कलेजमा विद्यार्थी छैन भन्छन्, शैक्षिक संस्था नै रित्तिन थालेको बेला पुस्तक पढ्ने को आउँछ?,’ उनी भन्छन्, ‘पढ्ने जमात विदेशतिर लाग्यो, रहेकाहरू पनि इन्टरनेटमै सर्च गर्छन् पढ्छन् । अब पुस्तककै लागि भन्दै पसलमा आउनेहरूको संख्या घट्न थाल्यो ।’ उनले पुस्तक बिक्री नहुँदा व्यापार नहुने र व्यापार नहुँदा अब भाडा तिर्नै गाह्रो भएको सुनाउँछन् ।

भोटाहिटीमै रहेको हेरिटेज बुक्स ट्रेडर्सका सञ्चालक बाबुराम गौतम पनि किताब किनेर पढ्नेहरूको संख्या घटेको बताउँछन् । उनी कथा उपन्यास मात्र पढ्नेको संख्या नभइ विद्यालयमै पनि किताब किनेर पढ्नेहरू कम भएको बताउँछन् । भन्छन्, ‘पहिले किताब किन्ने पढ्ने ट्रेन्ड थियो, अहिले बेसिक बुक नकिनेर, टेस्ट बुक नकिनेर गेसपेपर र सोलुसन बुक मात्र किन्छन् ।’

पहिले दशैं आउँदा बजारमा नयाँ पुस्तक के आयो भन्दै खोज्न आउनेहरूको संख्या पनि घटेको उनी बताउँछन् । मोबाइल प्रविधिको विकासले गर्दा पुस्तक पसलमा आएर किताब किन्नेहरू घटेको उनकाे भनाइ छ ।

‘पहिलेदेखि किन्ने बानी लागेकाहरू अहिले पनि किन्नुहुन्छ तर, लकडाउनपछि सबै जना मोबाइलतिर लागे,’ उनी भन्छन्, ‘अहिले सबै मोबाइलमा ब्यस्त भए, अहिले नयाँ पाठक बनेको छैनन् ।’

पाठककाे राेजाइमा कस्ता बुक ?

पाठकहरूको ढाँचा (प्याटर्न) परिर्वतन भएपनि धेरैजसो प्रेरणा प्रदायक कथाहरू रोजाइमा परिरहेका छन् । अहिले बुद्धिसागरको ‘उसले दिएको उमेर’ सुधीर शर्माको ‘भिक्षु व्यापार र विद्रोह’, ‘हिमाल पारीको हुरी’ नयाँ किताब बजारमा आएका छन् ।

पाँच वर्षदेखि हेरिटेज बुक्स ट्रेडर्श स्टेशनरीमा काम गर्दै आएका हेमन्त विष्ट भने अहिलेका नयाँ पुस्तकभन्दा पनि पुरानै किताब पाठकको रोजाइमा परेको बताउँछन् । अहिले पनि ‘सेतो धर्ती’, ‘इजोरिया’ ,‘फिरफिरे’, ‘समरलभ’, ‘पल्पसा क्याफे’ पुस्तकहरूको खोजी बढी हुने गरेको छ । अहिलेको मदन पुरस्कार पाएको मोहन मैनालीको ‘मुकाम रणमैदान’ भने खासै पाठकले खोजी गरेका छैनन् । हेमन्त भन्छन्, ‘पहिले राम्रो जान्थ्यो, अहिले किताब पढ्नेको क्रेज घट्यो ।’

किन घट्न थाले पाठक ?

पुस्तक व्यवसायीहरूले पाठकको संख्या घटेको बताइरहेका बेला रितेश भने पढ्नेहरूको संख्या घटेको नभइ पढ्ने किताबहरू फेरिएको हुनसक्ने बताउँछन् । उनी नेपाली युवाले फरक कुराहरू पढ्न खोजेको तर नेपाली लेखकले त्यो दिन नसकेका कारण पनि संख्या घटेको हुनसक्ने बताउँछन् । उनी प्रविधिको पहुँचसँगै किताब पढ्नेहरू कम भएभन्दा पनि राम्रो बुकहरू नहुँदा पढ्नेको संख्या घटेको दाबी गर्छन् ।

शिक्षाविद् डा. विष्णु कार्कीको मत पनि यही छ । उनी पाठक घटेको नभइ पढ्ने विषयलाई किताबमा मात्र केन्द्रित गर्दा यसको असर देखिएको बताउँछन् । ‘आजभोलि विभिन्न प्रविधिले पढ्ने मापदण्डलाई व्यापक बनाइसक्यो, हामी अझै पुस्तकमा अल्झेका छौं,’ उनी भन्छन्, ‘पुस्तक पसलेहरूले पनि पुस्तक बिक्री नहुँदा पढ्ने बानी हरायो भनिरहेका छन । यसो होइन, सामग्री र पढ्ने माध्यम फरक भएको हो ।’

यो समस्या आउँदा दिनमा अझ थप देखिने विज्ञहरू बताउँछन् । अहिले पहिलेजस्तो छैन, समय फेरिएको छ । मान्छेको पहुँच सजिलै प्रविधिसँग पुगेको छ । विद्यार्थी पनि अहिले प्रविधिबाट प्रभावित भएकाले अब लेखकहरूले पाठकलाई बुझेर लेख्नुदिनुपर्ने उनीहरू बताउँछन् ।

‘पढ्ने बानी घटेको होइन, पढ्ने माध्यम फरक भएको हो, लेखकले यसलाई आत्मसाथ गर्नुपर्‍याे, यो परिवर्तन हो,’ डा. कार्की भन्छन्, ‘विद्यार्थी वा पाठकसामु कुनै कुरा पुर्‍याउनु छ भने कसरी नयाँ माध्यमबाट दिने भन्ने सोच्नुपर्‍याे । अब पुस्तक पल्टाएर कोही बस्दैनन् ।’

उसो त अब पाठकहरू नेपाली लेखकमाथि नै प्रश्न उठाउन थालेका छन् । किन यसो भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘एउटा त अंग्रेजीको प्रभाव पनि हो, अर्को लेखकले प्रस्तुत गर्ने शैली र उनीहरूले उठान गरेका विषयवस्तु पनिले हो ।’

स्वाद नै फरक

पुस्तक पसलमा नेपालीभन्दा अंग्रेजी पुस्तकहरूको खोजी बढी हुन्छ । अंग्रेजी अध्ययन गरिरहेका पाठकहरू पनि विदेशी लेखकहरूको किताबमा फरक स्वाद हुने बताउँछन् । ‘म पनि कहिलेकाहीं अध्ययन गर्छु, मलाई पनि यो महसुस हुन्छ,’ डा. कार्की भन्छन्, ‘गम्भीर रूपमा अध्ययन गर्ने मान्छेले पनि विदेशी पुस्तक खोजी-खोजी पढ्छन्, जसले फरक-फरक धारका कुराहरू दिन्छन् । नेपाली उपन्यास , कथाहरू पढ्दा स्टोरी र विषयवस्तु फरक भए पनि प्रस्तुती र लेखनशैलीमा एकै किसिमको समानता पाइन्छ ।’

विदेशी लेखकले उठान गर्ने तरिका फरक हुन्छ । उनीहरूको लेखाइ र प्रस्तुतिमा पनि फरक स्वाद हुन्छ, जसका कारण आकर्षण बढेको हो । ‘अब लेखकहरूले पनि आफूलाई भर्सटायल बनाउनुपर्‍याे, नयाँ ढंगले नयाँ विषयवस्तुहरू ल्याउनुपर्‍याे,’ उनी भन्छन्, ‘त्यही गरिबी, लोककथामा आधारित रहेर लेख्ने विषयहरू, समसामयिक कुराहरू पुरानो भयो, हाम्रा कथा उपन्यास अहिले भइरहेका टेक्नोलोजीलाई समेट्दै भविष्यमा यस्तो हुन सक्छ भनेर कल्पना गर्दै लेख्नुपर्‍याे ।’

लेखकले परिवारका झगडा विभेदका कुराहरू बोकेर हिँड्ने कुरा पुरानो भएको बताउँदै डा. कार्की लेखकहरूलाई अबको ५०, सय वर्षपछि कस्तो हुन्छ, अबको परिवार, समाज कस्तो हुन्छ भन्ने विषयमा कल्पना गरेर लेख्न सुझाव दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.